
नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले आगामी संघ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टीले गठबन्धन गर्ने कुरालाई प्राथमिकतामा नराखेको बताएका छन् ।
मंगलवार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले गठबन्धन बाहिरका एजेण्डा मिल्ने दलहरूसँग केही ठाउँमा सहकार्य हुनसक्ने बताए ।
उनले गठबन्धन बिना अघि बढ्न सकिँदैन भन्ने भ्रम नेकपा एमालेमा नरहेको उल्लेख गर्दै आफ्नो खुट्टामा उभिएर चुनाव लड्ने बताए । उनले कमजोरले अरुको साथ खोज्ने तर बलियोले एक्लै लड्ने सामर्थ्य राख्ने बताए ।
‘गठबन्धन हाम्रो प्राथमिकतामा होइन । गठबन्धन बाहिरका दलहरूसँग छलफल हुनसक्छ । तर, गठबन्धन नै निर्माण गर्ने गरेर हाम्रो छलफल अघि बढेको छैन र गठबन्धन बिना अघि बढ्न सकिँदैन भन्ने भ्रम पनि छैन,’ उनले भने, ‘हामी आफ्नो खुट्टामा उभिएर लड्छौँ । तर हिँड्दै जाँदा एजेण्डाहरू मिल्ने साथीहरू भेटिनुभयो भने कतिपय ठाउँमा सहकार्य हुनसक्छ । कमजोरले साथ खोज्ने हो । बलियोले एक्लै सामना गर्छ ।’
सांसद ज्ञवालीले नेपाली काँग्रेससँग १६५ सिटमा एक ठाउँमा पनि प्रतिपक्षसँग एक्लै लड्ने आँट नरहेको बताए ।