रुसविरुद्ध पश्चिमले लगाएको प्रतिबन्ध कमजोर रहेको भन्दै युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले कम्तीमा एक वर्षका लागि सबै रुसीलाई पश्चिमले यात्रा प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् ।
द वाशिङटन पोस्टलाई सोमवार दिएको अन्तर्वार्तामा जेलेन्स्कीले सीमा बन्द गर्नु सबभन्दा महत्त्वपूर्ण प्रतिबन्ध भएको बताए । रुसीहरूलाई उनीहरूकै सीमामा बन्द गरेमा मात्र उनीहरूले आफ्नो दर्शनमा परिवर्तन ल्याउने जेलेन्स्कीको भनाइ छ ।
किएभमा राष्ट्रपति कार्यालयभित्र लिइएको अन्तर्वार्तामा जेलेन्स्कीले सबै रुसीहरूलाई सजाय दिनु नै उत्तम उपाय हुने बताएका हुन् ।
‘अनि बल्ल उनीहरूले कुरा बुझ्छन् । त्यसपछि उनीहरूले भन्नेछन्– यो युद्धसँग हाम्रो लिनुदिनु छैन । सबै रुसीलाई युद्धका लागि जिम्मेवार बनाउन मिल्छ र? मिल्छ नि । उनीहरूले नै यो सरकार छानेका हुन् र त्यसको विरोध उनीहरूले गरिरहेका छैनन्,’ जेलेन्स्कीले बताए ।
सबै रुसीमाथिहरूमाथि प्रतिबन्ध लगाए मात्र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रभावित गर्न सकिने जेलेन्स्कीले बताए ।
जेलेन्स्कीले पुटिनविरुद्ध आम विद्रोह उठेर सत्तापरिवर्तन गर्न सकिएमा युद्ध अन्त्य हुने आकांक्षा व्यक्त गरेका हुन् ।