
प्रहरीले जबरजस्ती करणी मुद्दामा कैद तोकिएर फरार रहेका १ व्यक्तिलाई प्रहरीले मंगलवार काठमाडौंबाट पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१४ कालीमाटीमा ग्यारेज/वर्कशप सञ्चालन गरी बस्ने भारत मोतीहारी तुरकौलिया थाना रगुनाथपुर गाउँका ४७ वर्षीय सकील खानलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उच्च अदालत पाटनको २०७६ भदौ ८ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौंको कुलेश्वरबाट पक्राउ गरेको हो ।
खानले विक्रम संवत् २०७३ फागुन ८ गते ३२ वर्षीया महिलालाई मादक पदार्थ सेवन गराई व्यापारका लागि सामान किन्न भारत लैजाने बहानामा सुन्धारास्थित एक होटलमा लगेर करणी गरेका थिए । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको जनाइएको छ ।