
वन तथा वातावरणमन्त्री प्रदीप यावदले नेपालको सबै वन क्षेत्रको दिगो व्यवस्थापन गर्दै काठको उत्पादनमा वृद्धि गरी नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाइने बताएका छन् ।
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले ‘सुशासन र समृद्धि, सामुदायिक वनमा उद्यम र उद्यमी’ भन्ने मूल नाराका साथ आज आयोजना गरेको सामुदायिक वन दिवस, २०७९ को कार्यक्रममा मन्त्री यादवले नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाई नेपालमा वैदेशिक काठको आयातमा निरुत्साहित गर्ने बताए ।
यसैगरी मन्त्री यादवले सामुदायिक वनले अघि सारेका कार्यक्रमले नेपालमा हरियाली वृद्धि हुन सहयोग पुग्नुका साथै वनले ओगटेको क्षेत्रफलमा उल्लेखनीय वृद्धि भई वनको हैसियतमा सुधार आएको तथा भूक्षय नियन्त्रण एवं जलाधार संरक्षण हुँदा वन्यजन्तुको बासस्थान संरक्षणलगायत जैविक विविधतामा अतुलनीय योगदान पुगेको जिकिर गरे ।