प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका राष्ट्रियसभा संसदीय दलका नेता खिमलाल भट्टराईले सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापान भ्रमणको क्रममा दिएको अभिव्यक्तिले नेपाल राष्ट्र र नेपाली जनताको शीर निहुरिएको टिप्पणी गरेका छन् ।
नेपालमा एकपटक पनि नआउनु भएका तत्कालीन प्रधानमन्त्री सिन्जु आबे नेपालमा आएको बेला २–३ पटक २ मुलुकको हितको विषयमा कुरा भएको भनेर अध्यक्ष दाहालले जापानमा अभिव्यक्ति दिएको भन्दै नेता भट्टराईले त्यसले सिंगो मुलुकको शीर निहुरिएको बताए ।
बुधवार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै नेता भट्टराईले पूर्व प्रधानमन्त्री र सत्तारुढ दलको जिम्मेवार नेता दाहालले नेपाल भ्रमणमै नआउनू भएका आबेबारे अति हलुका टिप्पणी गरेको भन्दै आपत्ति जनाए । उनले भारत भ्रमणको बेला पनि दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न नसकेकोमा पनि असन्तुष्टि व्यक्त गरे ।
नेता भट्टराईले भने, ‘गठबन्धन भित्रका एक जना सिनियर नेता उहाँले भारतको भ्रमण गर्नुभयो, उहाँले जापानको भ्रमण गर्नुभएको छ तर कसरी भ्रमण गर्दै हुनुहुन्छ ? उहाँ के बोल्दै हुनुहुन्छ र यसले हाम्रो देशको उचाइलाई, हाम्रो देशको राजनीतिलाई, परिवर्तनलाई कस्तो एउटा प्रभाव पारिराखेको छ ? पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समय अगाडि भारत भ्रमण गर्नुभयो । एउटा सिनियर नेताले विदेश भ्रमण गर्दाखेरी देशको उचाइ भन्नुपर्ने हो, जनताको उचाइ माथि हुनुपर्ने हो तर भारत भ्रमण गर्नुभयो, कुन–कुन बैठक गर्नुभयो ? के गर्नुभयो ? एकछिनलाई त्यो छोडिदिऊ । उहाँको तयारीको विषयलाई मात्रै हेर्ने हो भने यहाँ सिनियर नेताहरूले सामाजिक सञ्जालमा लेख्नुभयो, भारतीय प्रधानमन्त्रीसँग भेटेर राष्ट्रियताबारे कुरा हुन्छ, कालपानीको बारेमा, लिम्पियाधुराको बारेमा, लिपुलेकको बारेमा कुरा हुन्छ । एकदम देशको स्वार्थको, देशको हितको कुरा हुन्छ भनियो, लेखियो तर पछि भेटघाटै भएन । त्यत्रो सिनियर नेता पूर्व प्रधानमन्त्री यत्तिकै लुत्रुक्क फर्केको देखियो । यसले हाम्रो देशको यो परिवर्तनलाई देशको राजनीतिलाई कस्तो बनाउँछ ? के हो यो ? अनि जापान भ्रमण जानुभयो । जापान भ्रमणमा जाँदाखेरी उहाँले शासनका साथ भन्नुभयो – पूर्व प्रधानमन्त्री जसले अस्ति भर्खरै हत्या गरिएको छ, सिन्जु आबे नेपाल आएको बेलामा २–२ पटक उहाँसँग कुरा भएको छ नेपालका आपसी हितको बारेमा २–३ पटक कुरा भएको छ विकास निर्माणको बारेमा, गौरवको साथ उहाँले भन्नु भयो । जबकि सिन्जु आबे नेपाल आउनुभएकै थिएन । यस्तो खालको यो हलुका प्रस्तुतिले, हल्का टिप्पणीले के हुन्छ यो ? एउटा सिनियर नेता, देशको जिम्मा लिएको भनौं यत्रो सत्ता गठबन्धन छ हामी चलाएको छौं भनिएको छ तर यस्तो हलुका प्रस्तुति, यस्तो हल्का टिप्पणी, यस्तो हल्का तयारी यो के हो यो ? देश चल्छ ? लोकतन्त्र बलियो हुन्छ, गणतन्त्र चलाउने, संघीयता चलाउने, बलियो बनाउने यस्तै तरिकाले हो ? देशको जिम्मा लिनु भनेको भने यसप्रति मेरो टिप्पणी छ । आलोचना छ । यस्तो नगरौं । यसले देशलाई हल्का बनाउँछ । जनताको शीर निहुर्याउँछ । मेरो आग्रह छ ।’