
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तोकिएकै समयमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न हुने बताएका छन् ।
मन्त्री पौडेलले बुधवार हेटौंडामा प्रेस सेन्टर मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा चुनावमा हारजीत जसको भए पनि लोकतान्त्रिक प्रणाली स्थापित गर्न तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु प्रमुख लक्ष्य भएको बताए ।
नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य समेत रहेका उनले निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा निर्वाचन आयोगमार्फत आवश्यक तयारी भइरहेको जानकारी दिए । निर्वाचन निष्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा सम्पन्न हुने उनको भनाइ थियो ।
मन्त्री पौडेलले स्थानीय तहको निर्वाचनको नतिजालाई समीक्षा गर्दै संगठनात्मक र वैचारिक रूपमा नयाँपन ल्याएर निर्वाचनमा सहभागी हुने उल्लेख गरे । पौडेलले वामपन्थी पार्टीसँग एकता गरिने र समाजवादी केन्द्र बनाउने विषयमा समेत छलफल भइरहेको बताए ।
मन्त्री पौडेलले तीनै तहको सरकार स्थापित नहुञ्जेल गठबन्धन कायमै रहने प्रस्ट पारेका छन् ।