हिन्दुहरूको महाग्रन्थ रामायणलाई हजारचोटि पढ्दा र हेर्दा पनि यसमा लुकेका सबै रहस्य हामीले थाहा पाउन सकेका छैनौं । रामायणको हरेक पात्र तथा घटनामा अनेकौं रहस्य लुकेका हुन्छन् । एउटा रहस्य त किन लंकाधिपति रावणले त्यत्तिका वर्षसम्म कैदमा राखेपनि सीतालाई छुन समेत सकेन । अपहरण गरेर लंका ल्याएपछि रावणले सीतालाई केही गर्नै सकेन, शाब्दिक धम्की मात्र दियो ।

रावण हुन त विद्वान् ब्राह्मण थियो र भगवान् शिवको परम भक्त थियो । अद्भुत योद्धा र ज्योतिषशास्त्रको ज्ञाता रावणले रामायणमा हुने घटना पहिल्यै थाहा पाएको थियो भनिन्छ । तर सीतालाई कैद अवस्थामा रावणले किन छोएन त ? सीतामाताको सतीत्वको शक्तिका कारण हो कि भगवान् रामसँग डराएर हो, रावणले सीतालाई नछोएको ? रावणले कुनै वचन धारण गरेको थियो कि कुनै श्रापको बन्धनमा बाँधिएको थियो ?
खासमा रावणका एउटा श्राप परेको कारण सीतामातालाई छुन सक्दैनथियो । यो श्राप धेरैअघि परेको थियो रावणलाई । धेरै पहिले रावण स्वर्गलोक जित्ने अभियानमा तल्लीन थियो । स्वर्गको लडाईंमा थाकेको बेलामा रावणले आराम गर्नका लागि कुबेरको शहर अलकापुरीमा वास बसेको थियो । हिमालयनजिक रहेको अलकापुरीको वातावरण सुन्दर थियो । चारैतिर सुगन्ध फैलिएको थियो । यस्तो वातावरणमा रावणभित्र कामवासना जन्मियो ।
त्यतिखेरै स्वर्गका अप्सराहरूकी रानी रम्भा कुबेरका छोराहरू नलकुबरलाई भेट्न गइरहेकी थिइन् । रावणले उनलाई देखेर रूप र सौन्दर्य देखेर मोहित भयो । उसले रम्भालाई रोकेर आफ्नो परिचय दिँदै आफूसामु नांगिन लगायो ।
रम्भाले आफूलाई छोडिदिन रावणलाई आग्रह गरिन् । ‘म तपाईंको दाइ नलकुबरसँग भेट्न जाँदैछु, म त तपाईंकी बुहारीजस्तै हुँ’ । तर रावणले कामवासनाको नशामा चूर भएर रम्भालाई बलात्कार ग-यो (वाल्मीकीय रामायण, उत्तरकाण्ड, अध्याय २६, श्लोक ३९) ।
रावणले रम्भालाई गरेको दुराचारको खबर नलकुबरलाई प्राप्त भएपछि उनी रावणसँग क्रुद्ध भए । क्रोधवश उनले रावणलाई उनले श्राप दिए कि रावणले कुनै पनि स्त्रीलाई उनको स्वीकृतिले आफ्नो महलमा राखेमा वा उसका साथ दुराचार गर्न चाहेमा ऊ तत्काल भस्म हुनेछ (श्लोक ५५)।
यस श्रापका कारण रावणको होशहवास उड्यो । त्यही कारणले कैदका दौरान रावणले सीतामाताको इच्छाविपरीत सम्बन्ध बनाउन सकेन ।
यही श्रापका कारण रावणले सीतालाई राजमहलमा नराखेर टाढा अशोकवाटिकामा राखेको थियो ।