
सुक्खा मौसमका कारण यो समय पेट्रोलियमको माग र खपत बढी हुनु स्वाभाविक भए पनि इन्धन भारत फर्किएका कारण पछिल्लो समय पेट्रोलियमको आयात ह्वात्तै बढेको निगमले जनाएको छ । उसका अनुसार सीमाक्षेत्रबाट डिजेलको तस्करी भइरहेको पाइएको हो ।

निगमका अनुसार नेपालमा डिजेलको दैनिक माग ६ लाख लिटर छ तर पछिल्लो समय ८ लाख लिटरभन्दा बढी डिजेल माग भएको छ । त्यस्तै, पेट्रोलको यस्तो माग ४ लाख देखि साढे ४ लाख लिटर छ । डिजेलजति नै नभए पनि पेट्रोल पनि भारततर्पm लगिने गरेको निगमको दाबी छ ।
‘पेट्रोल र डिजेलको माग ह्वात्तै बढेको देख्दा यो फर्किएर भारत नै पुगेको हो कि भन्ने शंका भएको हो,’ निगमका प्रवक्ता भानु खनालले लोकान्तरसँग भने ।
अध्ययन समिति गठन
नेपाल आएको पेट्रोलियम भारत फर्किएको चाल पाएपछि त्यसबारे विस्तृत अध्ययनका लागि आपूर्ति मन्त्रालयको संयोजकत्वमा एक समितिसमेत गठन गरिएको छ । मन्त्रालयका सहसचिव सूर्यप्रसाद श्रेष्ठको संयोजकत्वमा निगम, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, नेपाल प्रहरी, नेपाली सेना सम्मिलित अध्ययन समितिले त्यस विषयमा अध्ययन गरिरहेको प्रवक्ता भानु खनालले बताए ।
किन फर्क्यो तेल ?
निगमका अनुसार हाल पेट्रोलियमको भाउ नेपालमा भन्दा भारतमा बढी छ । भारतमा अहिले डिजेलको मूल्य नेपालको भन्दा प्रतिलिटर २० रुपैयाँ महंगो छ । त्यस्तै, पेट्रोलको मूल्य नेपालमा झण्डै १३ रुपैयाँ सस्तो रहेको निगमको भनाई छ ।
खुल्ला सिमानाका कारण नेपाल आएको तेल फर्किएर उतै गएको निगमको ठहर छ । ‘सीमा वारिपारि प्रतिलिटर २० रुपैयाँको अन्तर भएपछि यताको तेल फर्किएको हुनसक्छ,’ प्रवक्ता खनालले भने । व्यवसायीले भने भारतबाट आएको तेल पुनः उतै फर्किन सम्भव नभएको तर्क गरेका छन् ।
‘नेपाल भित्रिसकेको तेल पुनः भारत लान सम्भव छैन,’ नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले भने । सरकारले समस्या देखाउने भन्दा पनि समाधानतर्फ केन्द्रित हुनुपर्ने उनले बताए ।