०७ साउन २०८३, बिहीबार

टान निर्वाचनमा कांग्रेस र एमालेका सहकार्य, माओवादी केन्द्रसँग प्रतिष्पर्धा हुँदै

टान निर्वाचनमा कांग्रेस र एमालेका सहकार्य, माओवादी केन्द्रसँग प्रतिष्पर्धा हुँदै

पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ ।

मालीगाउँस्थित टान सचिवालयमा बिहीवार अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो । टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन् । टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन् । अध्यक्षका अर्का प्रत्यासी कमल सापकोटाको प्यानलसहित उम्मेवारी मनोनयन हुने छ भने बोधराज भण्डारीले अध्यक्ष स्वतन्त्र उम्मेदवारी मनोनयन गर्ने जनाइएको छ ।

बाँस्तोला प्यानलबाट वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्ष प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा (बाबु), सचिव होमनाथ भट्टराई र कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना, सहकोषाध्यक्षमा छिङदोर्शी शेर्पा रहेका छन् । 

यस्तै सदस्यहरूमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा, हेमबहादुर कार्की तथा महिला सदस्यमा सजना त्रिपाठीले उम्मेदवारी मनोनयन गराएका छन् । 

टानको ४४औँ साधारणसभा एवं नयाँ कार्यसमिति चयनका लागि हुने मतदानका लागि एक हजार दुई सय ५० मतदाता पुुगेका हुुन् । निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारको मनोनयन बिहीवार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म तय गरिएको छ । 

उम्मेदवारको प्रथम चरणको नामावली साँझ ५ बजेसम्म प्रकाशन गरिनेछ । साउन २८ गते बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । उम्मेदवारको नामउपर दाबी–विरोधमा उजुरी दिन साउन २७ गते दिउँसो १२ बजेसम्म समयावधि तोकिएको छ ।

अध्यक्षका प्रत्यासी बाँस्तोलालाई नेपाली कांग्रेसनिकट लोकतान्त्रिक पर्यटन व्यवसायी संघ, नेकपा (एमाले)निकट पर्यटन व्यवसायी संगठन र नेकपा (एकीकृत समाजवादी) निकट पर्यटन व्यवसायी संगठनले चुनावी सहकार्य गर्ने भएका छन् । 

नेकपा (माओवादी केन्द्र) निकट व्यवसायी सापकोटा र स्वतन्त्र उम्मेदवारका रूपमा भण्डारीको प्रतिस्पर्धा हुनेछ । टानको केन्द्रीय कार्यसमितिको निर्वाचनमा अध्यक्षसहित १७ पदाधिकारी तथा सदस्य निर्वाचित हुनेछन् । रासस
 

कमेन्ट गर्नुहोस्