
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रूपन्देहीका उपाध्यक्ष अजयकुमार गुप्ताले राजीनामा दिएका छन् । उनी राप्रपा वरिष्ठ नेता दीपक बोहोराका दाहिने हातजस्तै थिए । निर्वाचनको मिति घोषणासँगै गुप्ताले राजीनामा दिएपछि आउने निर्वाचनमा नेता बोहोरालाई अप्ठ्यारो पर्ने देखिन्छ ।
बोहोरा रूपन्देही क्षेत्र नम्बर १ वा ३ बाट चुनाव लड्ने तयारीमा छन् । उनले कार्यव्यस्तताका कारण उपाध्यक्ष पदबाट राजीनामा दिएको बताएका छन् । गुप्ताले बिहीवार राप्रपा रूपन्देहीका अध्यक्ष सागरप्रताप राणासमक्ष राजीनामा पत्र बुझाएका छन् ।
‘विगत ५६ महिनादेखि निरन्तर जिल्ला उपाध्यक्ष पदमा रही इमान्दारीपूर्वक कार्यसञ्चालन गरेको सर्वविदितै छ, यस दौरान धेरैपटक कार्यवाहक जिल्ला अध्यक्षसमेत रही पार्टीको नेतृत्व गर्दै संगठनलाई चुस्तदुरुस्त बनाई पार्टीलाई अघि बढाउनसमेत मैले गरेको प्रयासहरू सर्वविदितै छ’ उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
भैरहवा निवासी गुप्ता व्यावसायी पनि हुन् ।
