
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ–
सरकारले नागरिकता विधेयक अध्ययन गरेर अघि बढाइने बताएको छ । सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।
कार्कीले अब नागरिकता विधेयक अध्ययन गरेर अघि बढाइने बताए । राष्ट्रपति भण्डारीले आईतवार साँझ पुनर्विचारका लागि संघीय संसद्मा फिर्ता पठाउने निर्णय गरेकी थिइन् । ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसद्बाट पुनर्विचार हुन आवश्यक देखिएकाले’ भन्दै राष्ट्रपतिले फिर्ता पठाएकी थिइन् ।
००००
प्रतिनिधि सभाबाट पारित भइसकेको नागरिक सम्बन्धी विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः संसदमै फिर्ता पठाएपछि विरोध भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा कार्यकर्ताहरूले जनकपुरको जनक चोकमा विरोध प्रदर्शन गरेका छन् ।
००००
सिके राउत नेतृत्वको जनमत पार्टीले पनि नागरिकता विधेयक फिर्ता भएको विरोधमा प्रदर्शन गरेको छ । आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएको विरोधमा जनमत पार्टीका कार्यकर्ताले सोमवार सिराहाको गोलबजारमा प्रदर्शन गरेका हुन् । उनीहरूले पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरेको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिए । यस्तै मधेसका केही जिल्ला र रुपन्देहीमा पनि विरोध प्रदर्शन भए ।
००००
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नागरिकता विधेयकमा सबै राजनीतिक दलको साझा धारणा हुनुपर्ने बताएका छन् । इलाममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले संसद्मा बहुमत जुट्दैमा नागरिकता विधेयक पास गर्न नहुने बताए । राष्ट्रिय मुद्दा सबै दलको साझा धारणा हुनुपर्ने उनको भनाइ छ ।
००००
नागरिकता विधेयक फिर्ताको नेकपा माले र राष्ट्रिय जनमोर्चाबाट स्वागत भएको छ । दुबै पार्टीले विज्ञप्तिमार्फत स्वागत गरेका हुन् ।
००००
सत्तारुढ ५ दलीय गठबन्धनले आगामी चुनावमा सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलको बैठक सोमबार बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको बैठकले बाँडफाँट टुंगो लगाएर प्रतिवेदन बनाउने तयारी गरेको छ ।
००००
जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले आगामी चुनावमा सहकार्यका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रस्ताव गरेका छन् ।
सोमवार एमाले अध्यक्ष ओलीलाई भेटेर उनले चुनावी सहकार्यको प्रस्ताव गरेका हुन् । ओलीले भने स्पष्ट जवाफ दिएका छैनन् ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेलबारे निर्णय गर्ने जिम्मा अध्यक्ष राजेन्द्र लिङदेनलाई दिएको छ । सोमवार काठमाडौंमा बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकले उनलाई आगामी निर्वाचनमा अन्य दलहरूसँग तालमेलबारे निर्णय गर्ने जिम्मा दिएको हो । राप्रपा नेपालको केन्द्रीय समिति पनि सोमबारदेखि नै सुरु भएको छ ।
००००
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको आयोजनामा नेपाल पूर्वाधार सम्मेलन आयोजना हुने भएको छ । परिसंघले सोमवार पत्रकार सम्मेलन गर्दै पूर्वाधार सम्मेलन आयोजना गर्न लागिएको जनाएको हो । परिसंघले सरकारसँगको साझेदारीमा आगामी भदौ २३ र २४ गते पूर्वाधार सम्मेलन गर्न लागेको हो ।
००००
सरकारले सार्वजनिक यातायातलाई सुधार्न र व्यवस्थित रूपमा सञ्चालन गर्न ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण’ बनाउने भएको छ । प्रतिनिधि सभामा दर्ता भएको ३ वर्षपछि २ दिन अगाडि मात्रै पारित भएको छ ।
००००
विधि र कानूनको पालनामार्फत जनसेवाको सङ्कल्प बोकेर स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका करिब ७० प्रतिशत उम्मेदवारले नै आफूले बुझाउनुपर्ने खर्च विवरण बुझाएका छैनन् । निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ को उपदफा (१) र स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ को उपदफा (४) मा निर्वाचन खर्चको विवरण सम्बन्धित दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले तोकेको ढाँचामा खर्चको बिल भर्पाईसहित तोकिएको कार्यालयसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।
००००
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदूत खनान गोदेरबीच सोमबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ । उनीहरुबीच विशेष गरी दुई देशबीचको श्रम सम्झौता बारे छलफल भएको बताइएको छ । छलफलमा मन्त्री कुँवरलाई राजदूत गोदेरले इजरायल सरकारले थप १ हजार नेपाली कामदार कृषी कामको लागि लैजाने विषयमा टुंगो लगाएको कुरा जानकारी गराएका थिए । त्यस्तै उनले यसअघि सहायक कामदारको लागि ९ हजार ६९९ जनाले निवेदन दिएकोमा १ हजार १४७ जना कामदार छनौट भएर इजरायल जाने तयारीमा रहेको पनि जानकारी गराएका थिए ।
००००
सर्वोच्च अदालतले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गरिएको सक्कल फाइल झिकाउन आदेश दिएको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलाशले सोमवार सक्कल फाइल झिकाउन आदेश गरेको हो ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास नेपाली मोडलमै गर्नुपर्ने बताएका छन् । विगतमा नेपालको विकास विकसित देशहरूको मोडेलमा गर्न सकिने भनिँदै आए पनि हाल आएर नेपालको विकास नेपाली मोडेलमै गर्नुपर्ने निष्कर्षमा पुगेको बताएका हुन् ।
००००
पछिल्लो २४ घण्टामा मुलुकभर ८८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७३७ नमूना परीक्षण गर्दा ८८८ जना नयाँ संक्रमित पुष्टि भएको हो ।
००००
केन्द्रीय सुरक्षा समितिको बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा छ सदस्यीय ‘केन्द्रीय कमाण्ड पोष्ट’ बनाउने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सोमवार गृह मन्त्रालयमा बसेको समिति बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक सुरक्षा रणनीति र आइपर्नसक्ने चुनौतिबारे छलफल गरेपछि केन्द्रीय कमाण्ड पोष्ट बनाउने निर्णय गरिएको हो ।
००००
नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन–२०७९ मा पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, पालिकाका प्रमुख,उपप्रमुख र अध्यक्ष, उपाध्यक्षका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम सोमबारदेखि सुरु गरेको छ। ललितपुरमा भएको कार्यक्रम सभापति शेरबहादुर देउवाले उद्घटन गरे ।