
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा शृंखलाबद्ध डकैती गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । कहिले प्रहरी, कहिले शसस्त्र प्रहरीको भेषमा विभिन्न व्यक्तिको घरमा पसी धनमाल लुटेको अभियोगमा प्रहरीले उनीहरूलाई सोमवार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची ७ घर भई काठमाडौं नयाँवस्ती बस्ने ३८ वर्षीय रामसिंह तामाङ, मकवानपुर फापरबारी ९ घर भई जोरपाटी बस्ने ३८ वर्षीय दिलबहादुर सिङतान र मकवानपुर बकैया ५ घर भई जोरपाटी बस्ने ३५ वर्षीय शुशिल भन्ने बाबुलाल थिङ रहेका छन् ।
पछिल्लोपटक उनीहरूले साउन २४ गते कीर्तिपुर ६ का नारायण बस्नेतको घरमा डकैती गरेको प्रहरीले जनाएको छ । उनीहरूले उपत्यकाका विभिन्न ३ स्थानमा हात हतियार देखाई नगद, सुन तथा हिराका गरगहनासमेत लुटेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट १ लाख ४२ हजार १०५ रुपैयाँ नगद, खुकुरी, फलामको रड र मोटरसाइकल बरामद गरेको छ ।