
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।
नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर मूल्य १ रुपैयाँ ८० पैसा र डिजेलको मूल्य ४ रुपैयाँ ८० पैसाले घटेको नेपाल आयल निगमले जनाएको छ । यस्तै हवाई इन्धनको मूल्य लिटरमा ५ रुपैयाँले घटेर आएको छ ।
नेपाली बजारमा भने अहिले पेट्रोलको प्रतिलिटर मूल्य १८१ र डिजेलको १७२ रुपैयाँ तोकिएको छ ।
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा पनि आयल निगमलाई भने घाटा नै हुने निगमका अधिकारीहरू बताउँछन् ।
सत्तारूढ पाँच दलीय गठबन्धनले महँगी नियन्त्रणको प्रयास गर्न सरकारलाई निर्देशन दिने निर्णय भएको छ । त्यसका लागि सबैभन्दा पहिले पेट्रोलियम पदार्थको मूल्य घटाउन आवश्यक छ ।
उपभोक्ताले पनि भारतबाट मूल्य घटेर आएपछि पेट्रोलियम पदार्थको मूल्य आयल निगमले पनि घटाउनुपर्ने माग गर्दै आएका छन् ।