०९ साउन २०८३, शनिबार

भरतपुर महानगरको बेरुजु घटाउन समिति सक्रिय

भरतपुर महानगरको बेरुजु घटाउन समिति सक्रिय

चितवनको भरतपुर महानगरपालिकाले बेरुजु फर्छ्यौटका लागि क्रियाशीलता देखाएको छ ।

महानगरमा गठित लेखा समितिले बेरुजु फछर्यौटका लागि काम अघि बढाएको हो ।

संघसंस्था र व्यक्ति विशेषलाई टेलिफोन र पत्राचार गरी बेरुजु फछर्यौट गर्न ताकेता गरिएको छ । 

महानगरको ११औं नगर सभाले भरतपुर महानगरपालिका–१ का अध्यक्ष केशव महर्जनको संयोजकत्वमा लेखा समिति गठन गरेको थियो । समितिका सदस्य सचिव महानगरका लेखा प्रमुख जगन्नाथ अर्यालका अनुसार पुरानो बेरुजु धेरै छ । नगरपालिका स्थापनादेखि हालसम्म आइपुग्दा बेरुजु १ अर्बभन्दा माथि छ । 

पछिल्लोपटक जनप्रतिनिधि आएपछि ५ वर्षयताको बेरुजु भने १२ करोड रुपैयाँ हाराहारी मात्र छ । सो रकममध्ये धेरै नियमित गर्ने बेरुजु रहेको उनी बताउँछन् । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७७/७८ को राष्ट्रपतिलाई बुझाएको वार्षिक प्रतिवेदनमा भरतपुरको बेरुजु ६ महानगरमध्ये सबैभन्दा कम थियो ।

अर्यालयका अनुसार भरतपुरको ० दशमलव ५६ प्रतिशत बेरुजु थियो भने बढी हुने विराटनगरको १६ दशमलव ५७ प्रतिशत रहेको थियो । महानगरले हाल भएको बेरुजुको अध्ययन गर्ने र नियमित प्रकृतिको बेरुजुलाई फछर्यौट गर्ने गरी तयारी गरेको छ ।  

समितिले तयार पारेको बेरुजुको फछर्याैट गर्न कार्यापालिका बैठकमा पेश गर्ने गरी आफ्ना कामलाई अगाडि बढाएको उनले जानकारी दिए । नगरसभाले निर्णय गरेको बेरुजु महालेखा परीक्षकको कार्यालयबाट खटिएको टोलीले पुनः अवलोकन गरी फछ्र्यौट गर्दछ । लेखा समितिले महानगरभित्र निर्माणधीन सडक पूर्वाधार, तटबन्ध र मोज्याक टायल बिछ्याएको स्थानको अनुगमन गरी महानगरलाई सुझाव बुझाउने काम अघि बढाएको छ ।

लेखा समितिको क्रियाशीलताले बेरुजुमा कमी आउने, पारदर्शिता कायम हुने र आर्थिक सुशासनमा वृद्धि हुने सचिव अर्यालले बताए ।

अर्यालले बेरुजु तत्काल फछर्याैट गर्ने परिपाटीको विकासकै कारण बेरुजु कम भएको बताए । ऐन, नियम र मापदण्डको पूर्णपालना, उपभोक्ता समितिलाई पेश्की दिन कार्यमा कडाइ र बेरुजु फछर्याैटमा विशेष जोड दिएकाले अन्य महानगरपालिकाको तुलनामा भरतपुरको बेरुजु निकै कम भएको उनको भनाइ छ । कम भएको बेरुजुलाई पनि फछर्यौट गर्नुपर्ने भन्दै महानगरपालिकाले क्रियाशीलता बढाएको हो ।

महानगर प्रमुख रेनु दाहालले आर्थिक सुशासन र पारदर्शितामा महानगर अग्रणी रहेको भन्दै बेरुजु फछर्यौट गर्न समितिले काम गरेको बताइन् । उनले भनिन्, ‘जवाफदेहिता, पारदर्शीता र आर्थिक मितव्ययितामा हामी प्रतिबद्ध छौं ।’

सुशासनमा ध्यान दिँदै जनताको मन जितेर विकासमा महानगर जुटेको उनी बताउँछिन् ।

salt training

कमेन्ट गर्नुहोस्