२९ जेठ २०८३, शुक्रबार

‘प्रेमगञ्ज’को प्रिमियरमा उपस्थितको प्रतिक्रियाले कलाकारहरू उत्साहित [तस्वीरहरू]

‘प्रेमगञ्ज’को प्रिमियरमा उपस्थितको प्रतिक्रियाले कलाकारहरू उत्साहित [तस्वीरहरू]

आगामी शुक्रवारदेखि प्रदर्शन आरम्भ गर्न लागेको प्रेम कथानक चलचित्र ‘प्रेमगञ्ज’को मंगलवार साँझ राजधानीमा प्रिमियर गरिएको छ ।

बानेश्वरस्थित वान सिनेमाजमा आयोजना गरिएको प्रिमियरमा चलचित्रका कलाकार, निर्माता, निर्देशकका साथमा चलचित्रकर्मीदेखि सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति थियो । 

चलचित्रका लेखक एवं निर्देशक परिच्छेद सेन, डेब्यू अभिनेता तेज गिरी, अभिनेत्रीद्वय बेनिशा हमाल, सम्पदा बानियाँ, डेब्यू कलाकारहरू राइडर प्रशान्त, सुप्रिया खनाल र सिम्रन खड्का प्रिमियरमा उपस्थित रहे । 

प्रिमियरमा अभिनेता सीमान्त उदास, निर्देशक दीपेन्द्र के खनाल, कलाकार लय संग्रौला, अभिनेता नरेश पौड्याल, निर्मात्री सर्मिला पाण्डे लगायतले समेत प्रिमियरमा ‘प्रेमगञ्ज’ हेरे । उपस्थितले चलचित्रले दर्शकलाई कथामा बाँधेर राख्ने प्रतिक्रिया दिए ।
 
बैंकर रहेका डेब्यू अभिनेता तेजले प्रिमियरमा उपस्थितले दिएको प्रतिक्रियाले उत्साहित बनाएको बताए । चलचित्र हेरिसकेपछि सञ्चारकर्मीसँगै प्रतिक्रिया दिँदै तेजले भने, ‘यो मेरो परीक्षा हो । सबैले राम्रो प्रतिक्रिया दिनुभएको छ । यसले मलाई एकदमै गर्व महसूस भएको छ । आगामी दिनमा अझ राम्रो काम गर्नुपर्छ भन्ने भएको छ ।’

अभिनेत्री सम्पदा र बेनिशाले पनि प्रिमियरमा पाएको प्रतिक्रियाले एकदमै उत्साहित रहेको बताए । 

डेब्यू कलाकारहरू राइडर प्रशान्त, सुप्रिया खनाल र सिम्रन खड्काले आफूहरूले एकदमै मेहनत गरेको बताउँदै चलचित्र हेरिदिनुहुन दर्शकलाई आग्रह गरे । पहिलो चलचित्र भएपनि उनीहरूको कामलाई उपस्थितले खुलेरै प्रशंसा गरे । धेरैपछि राम्रो प्रेम कथानक चलचित्र हेर्न पाएको उपस्थितले प्रतिक्रिया दिएका थिए ।

चलचित्रमा स्पटब्वाईका रूपमा लामो समय काम गरेका राजु फुयाँलको प्रस्तुति रहेको चलचित्रको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । चलचित्रमा नरेश पौड्याल, रश्मी भट्ट, गीता अधिकारी, संजोग रसाईली, पवन भट्टराई, बाल कलाकार आयुषी ढकाल लगायतको अभिनय छ । अभिनेत्री सुरक्षा पन्त चलचित्रमा विशेष भूमिकामा प्रस्तुत छिन् । 

२ कालखण्डको प्रेमकथालाई चलचित्रमा रोचक ढंगले प्रस्तुत गरिएको छ । सञ्जय लामाले खिचेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । शुक्रवार ‘प्रेमगञ्ज’सँगै ‘माइकल अधिकारी’ र ‘कृष्ण लीला’ पनि एकसाथ प्रदर्शनमा आउँदैछन् ।

salt training

कमेन्ट गर्नुहोस्