
कर्णाली प्रदेश सभाले हालसम्म ४८ वटा कानून निर्माण गरेको छ ।
प्रदेश सभाको ५ वर्षे कार्यकालको अन्तिममा ४८ वटा विधेयक प्रमाणीकरण भएको प्रदेश सभाले जनाएको छ ।
हालसम्म प्रदेश सभामा ७८ विधेयक दर्ता भएका छन् भने ६ वटा अध्यादेश सभाबाट स्वीकृत भएका छन् ।
८ विधेयकहरू विषयगत समितिमा छलफलका क्रममा छन् । प्रदेश सभाको शुरूआतमा कानून निर्माणलाई प्राथमिकता दिइएको भए पनि पछिल्लो समय राजनीतिक खिचातानीको मारमा परेको छ ।
शुरूका ३ वर्षमा ३८ कानून बनाएको प्रदेश सभाले त्यसयताको डेढ वर्षमा १० वटा कानून बनाएको छ । सत्ता फेरबदलको खेलमा केन्द्रित हुँदा गत वर्ष संसद्मा एउटा पनि विधेयक पारित हुन सकेन ।
सत्ता प्रतिपक्षको बेमेलका कारण संसद् अवरोध हुँदा कतिपय अवस्थामा अत्यावश्यक कानून निर्माणको साटो सरकारले अध्यादेशको सहारा समेत लिएको थियो ।
प्रदेश सभाको मुख्य काम सरकार निर्माण गर्ने, प्रादेशिक कानून बनाउने, प्रदेश सरकारको काम कारबाहीको निगरानी गर्ने तथा जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने हो । प्रदेश सभाको हालसम्मका कामलाई हेर्दा उत्साहपूूर्ण नै रहेको कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले बताए ।
उनले कर्णालीको प्रदेशसभामा केही समय अलमलको स्थिति देखिए पनि कामहरू निरन्तर अगाडि बढेको औंल्याए ।
प्रदेश सभाले अन्य प्रदेशको तुलनामा केही राम्रा अभ्यासको शुरूआत समेत गरेको सभामुख शाहीले बताए । ‘प्रदेशसभाले खुुला संसद्को अवधारणा ल्यायो । जसअनुसार हरेक महिनाको २ दिन सर्वसाधारणका लागि पनि संसद् खुला गरिन्छ,’ उनले भने, ‘सर्वसाधारण नागरिक पनि संसद्मा भएका गतिविधिका विषयमा जानकार हुने अवसर पाएका छन् ।’