
यसै हप्ताको आरम्भमा उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन तथा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच पत्राचार भएको खबर दियो ।
समाचारमा उल्लेख गरिएअनुसार, दुवै देशले ‘बृहत् तथा सिर्जनात्मक द्विपक्षीय सम्बन्धलाई समान प्रयासका साथ विस्तार गर्ने’ सहमति गरेका छन् ।
अगस्ट १५ मा कोरियाली स्वतन्त्रता दिवसको वार्षिकोत्सवमा पुटिनले उत्तर कोरियासँगको सम्बन्ध विस्तारमा जोड दिएका हुन् । पश्चिमबाट विमुख भएको रुस अहिले नयाँ सहयोगीहरूको खोजीमा छ ।
यसैबीच उत्तर कोरियाली कामदारहरूले स्वघोषित डोनेत्स्क र लुगान्स्क जनगणतन्त्रको पुनर्निर्माणमा सहयोग गर्ने खबर आएको छ । ती जनगणतन्त्रलाई उत्तर कोरियाले हालै कूटनीतिक मान्यता दिएको छ ।
विश्व परिवर्तन भइसकेको संकेत यसबाट पाइन्छ । केही वर्षअघि मात्र रुस र चीनले उत्तर कोरियाविरुद्ध प्रतिबन्ध लगाउन अमेरिकाले लिएको निर्णयमा सहयोग गर्ने गरेका थिए । उत्तरले आणविक हतियार र क्षेप्यास्त्र नबनाओस् भनी त्यस्तो प्रतिबन्ध लगाइएको थियो ।
तर त्यो परिस्थिति अहिले विद्यमान छैन । युक्रेनमा भइरहेको द्वन्द्वका साथै अमेरिकाले चीनको उदयलाई रोक्नका लागि गरेको प्रयासका कारण अब हामी बहुध्रुवीय अन्तर्राष्ट्रिय वातावरणमा बाँचिरहेका छौं । यसमा विभिन्न ठूलो शक्तिहरू प्रभावका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
यसले साझा विषयहरूमा सहकार्यको अवसरलाई भत्काएको छ । साथै प्रतिस्पर्धीहरूबीच रणनीतिक सोचको आवश्यकतालाई पनि यसले बढाएको छ । मस्कोको आँखामा यस स्थितिले उत्तर कोरियासम्बन्धी गणितलाई पहिलेको भन्दा बढी महत्त्वपूर्ण बनाएको छ । शीतयुद्धकालकै जस्तो स्थिति आइलागेको छ ।
उत्तर कोरियाको जन्म सोभियत संघको सहयोगमा भएको हो भन्ने कुरा हामीले बिर्सन मिल्दैन । दोस्रो विश्वयुद्धको अन्त्यतिर साम्राज्यवादी जापानले ओगटेर छोडेका भूभागमा प्रभाव कायम गर्नका लागि अमेरिका र सोभियत संघबीच रणनीतिक प्रतिस्पर्धा चलेको थियो । लाल सेना दक्षिणतर्फ अघि बढ्दा कोरियाली प्रायद्वीपलाई ३८औं समानान्तरमा विभाजित गर्ने सहमति बनेको थियो ।
यस विभाजनलाई अस्थायी बनाउने मूल सहमतिको मर्म थियो तर भूराजनीतिक टकरावका कारण विभाजन स्थायी बन्न पुग्यो अनि दुई प्रतिस्पर्धी कोरियाली राज्यहरूको जन्म भयो । अमेरिकाको समर्थनप्राप्त कोरियाली गणतन्त्र दक्षिणमा जन्मियो भने चीनको समर्थनसहित उत्तरमा लोकतान्त्रिक कोरियाली जनगणतन्त्र बन्यो । उत्तर कोरियामा लाल सेनाका पूर्व क्याप्टेन तथा छापामार लडाकू किम इल सुङ सर्वोच्च नेता बने ।
यी दुई शिशु राज्यहरू सन् १९५० मा युद्धमा होमिए । उनीहरूलाई भरथेग गर्ने महाशक्तिहरूले युद्धमा आआफ्नो पक्षलाई सहयोग गरे । तीन वर्षसम्म युद्ध चल्यो तर अहिलेसम्म पनि दुई देशबीच औपचारिक शान्ति सम्झौता भएको छैन । दुवैतर्फका कोरियालीहरू पुनरेकीकरणको कामना गर्छन् ।
तर सन् १९५० को दशकमा जसरी विदेशी शक्तिहरू सक्रिय भए त्यसले कोरियाली प्रायद्वीप रणनीतिक रूपमा महत्त्वपूर्ण भूमि हो भनी स्थापित गरेको छ । यस भूमिले युरेसियाली मुख्यभूमिलाई पूर्वी सागरहरूसँग जोड्छ ।
ठूला शक्तिहरूले उत्तरपूर्वी एसियामाथि प्रभुत्वका लागि कोरियाली प्रायद्वीपलाई चेसको गोटीका रूपमा हेर्ने गरेका छन् । यसले गर्दा प्रभावको लडाइँ शताब्दियौंदेखि चलिरहेको छ । यस लडाइँमा विभिन्न कालखण्डमा चीनका मिङ र छिङ राजवंश, रुसी साम्राज्य, जापानी साम्राज्य, अमेरिका, जनगणतन्त्र चीन र सोभियत संघ संलग्न रहे ।
तर शीतयुद्धको अन्त्यपछि विगत तीन दशकमा उत्तर कोरियाले आफूलाई नितान्त एक्ल्याइएको अनुभव गरेको थियो । चीन र रुस दुवैले केही समय पश्चिम तथा उत्तरभन्दा धनी र सफल दक्षिण कोरियासँग सम्बन्ध बढाउन खोज्दा उत्तर कोरिया एक्लिएको हो ।
अमेरिकाको एकध्रुवीयताका कारण प्योङयाङको आणविक हतियार निर्माणलाई रोक्ने अमेरिकी इच्छाको विरोध गर्न मस्को वा बेइजिङ दुवैलाई खासै चासो लाग्ने गरेको थिएन । किम परिवारलाई आफ्नो शासनको सुरक्षाका लागि आणविक हतियार आशाको अन्तिम केन्द्र साबित भएको छ ।
तर अहिले नयाँ प्रतिमान उदाएको छ । पहिलेको समयमा जस्तै उत्तर कोरियालाई रुसले आफ्नो सीमाक्षेत्रमा अमेरिकी शक्ति तथा सैन्य प्रभुत्वविरुद्धको अपरिहार्य रणनीतिक सुरक्षाकवचका रूपमा लिन थालेको छ । अमेरिकाको समर्थनप्राप्त जापान जस्ता छिमेकीविरुद्ध रुसको कवच पनि उत्तर कोरिया हो ।
यस्तो वातावरणमा रुसलाई उत्तर कोरियाको सवालमा अमेरिकासँग सहकार्य गर्दा कुनै लाभ प्राप्त हुँदैन । उत्तर कोरियालाई आणविक निःशस्त्रीकरण गर्ने कुरा हावा खाइसकेको छ ।
बरू अन्तमर्हादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र सहितको आणविक हतियार भएको उत्तर कोरिया वाशिङटनको छालामा गढेको अर्को काँडो बनेको छ । यसलाई हटाए मात्र अमेरिकाको शक्ति विस्तार हुन्छ ।
त्यसैले अमेरिकाले सन् २०२२ को आरम्भतिर संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा उत्तर कोरियाविरुद्ध थप प्रतिबन्धको प्रस्तावको माग गरेको भए पनि रुस र चीन दुवैले १५ वर्षमा पहिलोपटक भिटो लगाएर रोकिदिएका छन् । हामी बाँचिरहेको विश्वको यो एक संकेत हो ।
यहाँबाट अघि बढ्दै रुसले उत्तर कोरियासँग सैन्य र आर्थिक सम्बन्ध गहिरो बनाउने सम्भावना छ किनकि त्यसको रणनीतिक र राजनीतिक महत्त्व छ ।
यसरी हेर्दा इतिहास वृत्ताकार रूपमा घुमेर पुनः उही ठाउँमा आइपुगेको छ । अमेरिकाले मस्को र बेइजिङको सामना गर्नका लागि साझेदारहरू जुटाइरहँदा ‘खेमाबन्द राजनीति’ को विषय पुनः उठ्न थालेको छ ।
आरटीमा प्रकाशित टिमुर फोमेन्कोको विश्लेषणलाई लोकान्तरका लागि विन्देशदहालले अनुवाद गरेका हुन् ।