
काठमाडौं, १५ साउन — अस्ट्रेलियाको प्रतिआतंकवाद प्रहरीले एउटा विमानमा विस्फोटको प्रयासलाई रोकेको प्रधानमन्त्री माल्कम टर्नबुलले बताएका छन् ।

सिड्नीमा छापा मारेर चारजनालाई पक्राउ गरिएपछि उनको यो भनाइ आएको हो ।
अनुसन्धानकर्ताहरूका अनुसार छापाका क्रममा बरामद गरिएका सामग्रीहरूले विस्फोट पदार्थ बनाउन मिल्थ्यो ।
टर्नबुलका अनुसार यो छापा ‘प्रमुख प्रतिआतंकवाद कारवाही’ हो ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय विमानस्थलहरूमा अतिरिक्त सुरक्षा बढाइएको उनले बताए ।
सिड्नीबाहिरका सर्री हिल्स, लकेम्बा, वाइली पार्क र पन्चबाउलमा छापा मारिएको अस्ट्रेलियाली टीभी एबीसीले जानकारी दियो ।
एबीसीको खबरअनुसार सर्री हिल्स एरियामा एकजना महिलाले आफ्ना श्रीमान् र छोरा पक्राउ परेको तर उनीहरूको आतंकवादसँग कुनै सम्बन्ध नरहेको बताएकी छन् ।
बीबीसीबाट