काठमाडौं, १५ श्रावण - जीवन योग प्रयोगशाला कोटेश्वर केन्द्रले एकदिने ध्यानसाधनालाई निरन्तरता दिन थालेको छ ।

केन्द्रका प्रशिक्षकहरु दुर्गा मगर, देवनाथ सिंह, वीरबहादुर कार्की, अमृतेन्दु कर्ण र अनिता राजभण्डारीले विभिन्न आसन, प्राणायाम र ध्यानका विधिहरु प्रयोग गरेर शनिबार दिनभर दोस्रोपटक पनि एकदिने ध्यानसाधनालाई निरन्तरता दिए ।
प्रशिक्षक देवनाथ सिंहले साधक नभएको भए प्रशिक्षकको काम नहुने भन्दै हलभरि उपस्थित सबै साधकहरुलाई बधाई दिएका थिए । ब्रह्माण्ड नै ध्यानको कारणले अडेको दाबी गर्दै सिंहले ध्यानका सयौं फाइदा रहेको उल्लेख गरे । चक्र सञ्चलन क्रिया लगायत विभिन्न ध्यानका विधिहरु प्रयोग गरेर साधकहरुलाई भरपुर आनन्द दिलाएका सिंहले संगीतको महत्वमाथि समेत प्रकाश पारेका थिए । बाह्य र आभ्यान्तर संगीतको चर्चा गरेका सिंहले व्यक्तिको अन्तहृदयको संगीतको महत्वमाथि बढी प्रकाश पारेका थिए । साथै, उनले कोटेश्वर केन्द्रले बालबालिकालाई लक्षित गरी छिट्टै नवप्रतिभा विज्ञान कार्यक्रम सञ्चालन गर्ने पनि जानकारी दिए ।
बालबालिकालाई साधना सिकाएको खण्डमा उनीहरुले घरका अन्य सदस्यलाई पनि प्रभावित पार्ने र अरु व्यक्तिहरु पनि बच्चाकै कारणले साधनामा लाग्न सक्ने उनले विश्वास व्यक्त गरे ।
साधकहरुलाई नियमित ध्यानसाधना गर्न प्रेरणा दिएकी प्रशिक्षक अनिता राजभण्डारीले पूरा–पूरा समर्पित भावले साधना गर्दा मात्रै फल प्राप्ति हुने बताएकी थिइन् । कोमल हृदयमा मात्रै परमात्माको बास हुने भन्दै प्रशिक्षक अनिताले हृदय कोमल बनाउने माध्यम ध्यान मात्रै भएको स्पष्ट पारिन् ।
जसरी कुनै महत्वपूर्ण वस्तु हराएका बेला हाम्रो मन त्यो वस्तुको यादमा दिनरात जान्छ, उसैगरी परमात्मा प्राप्तिका लागि पनि मनलाई परमात्मामा सदा एकचित्त भएर सजगतापूर्वक लगाउँदै जाँदा ईश्वर प्राप्ति हुने उदाहरण उनले प्रस्तुत गरेकी थिइन् ।
स्वार्थी मनले जीवनमा बाधा व्यवधानबाहेक अरु केही खडा नगर्ने बताएकी प्रशिक्षक अनिताले घरायसी व्यवस्थापन मिलाएर ध्यान साधनाका लागि समय निकाल्न साधकहरुलाई उपाय सुझाएकी थिइन् । सूर्य नमस्कार लगायत विभिन्न क्रियाहरुका साथै विभिन्न ध्यानका विधिहरु प्रयोग गरेर उनले पनि साधकहरुलाई भरपुर आनन्द प्रदान गरेकी थिइन् ।
त्यस्तै, प्रशिक्षक अमृतेन्दु कर्णले पतित र पावनको विषयमा चर्चा गर्दै आफूलाई नचिन्नु, नजान्नु, आफ्नो लयमा नहुनु, आफ्नो स्वरुपलाई नचिन्नु अर्थात् ‘म को हुँ’ भन्ने ज्ञान नहुनु पतित भएको स्पष्ट पार्दै हरपल वर्तमानमा, होसमा, एक किसिमको लयबद्धमा हुनुलाई पावन भनिने स्पष्ट पारेका थिए । हरेक मानवभित्र पावन रहेकाले त्यसलाई हरपल हेर्न, चिन्न र बुझ्न उनले आग्रह गरे ।
जब ध्यानसाधनाबाट वर्तमान अवस्थामा रम्न थालिन्छ, तब आफूभित्रको पावन अवस्थालाई नियाल्न सकिने र त्यसघडीमा पुगेको व्यक्ति ‘व्यक्तिमात्र नभएर महाव्यक्ति अर्थात् महामानव’मा परिणत हुने उनले बताए । त्यस्तै, संगीतको विषयमा पनि चर्चा गरेका कर्णले जबसम्म हृदय खुला हुँदैन, तबसम्म संगीत सुन्न नसकिने भन्दै आफूभित्रको संगीत बज्न थालेपछि आनन्दको वर्षा हुने औंल्याएका थिए ।
त्यस्तै, प्रशिक्षक वीरबहादुर कार्कीले ध्यानले मनलाई मिलाउने काम गर्ने बताएका थिए । मानवजीवनमा आइपर्ने विभिन्न समस्याहरुलाई कसरी लिने, सुझबुझपूर्ण तरिकाले कसरी समाधान गर्ने भन्ने कला पनि ध्यानले सिकाउने स्पष्ट पारेका थिए । मानिस भनेकै समस्याको थुप्रो भएको भन्दै प्रशिक्षक कार्कीले सबै समस्याको समाधान ‘ध्यान’मात्र भएको जोड दिएका थिए । उनले भने, ‘हामीले ध्यानलाई ध्यान दियौं भने ध्यानले हामीलाई ध्यान दिन्छ ।’
त्यस्तै, प्रशिक्षक दुर्गा मगरले लामो र गहिरो सास फेर्दा शरीरमा विभिन्न क्रिया सञ्चालन हुने चर्चा गर्दै त्यही क्रियालाई समाउन आग्रह गरेका थिए । बीज प्राणायम गर्दा पनि शरीरमा हजारौं क्रिया चल्ने भन्दै उनले त्यसलाई स्मरण गरेर अघि बढ्न प्रेरणा दिए । त्यस्तै धारणाको बारेमा प्रकाश पार्दै उनले राम्रा–राम्रा चीजहरुको कल्पना गर्दै साक्षीभावले हेर्दै अघि बढ्नु धारणा भएको बताएका थिए ।
ध्यान गर्दा जहिले पनि आफ्ना अनुभूतिलाई समाउनुपर्ने भन्दै मगरले तिनै अनुभूति अर्थात् संवेदनाहरुले कुनै दिन साह्रा दुःखहरुलाई नष्ट गरिदिने बताएका थिए । एक मिनेट मात्रै पनि निर्विषय÷निर्विचारमा रहेको खण्डमा आफूभित्रका ऐश्वर्य, कला, सम्पन्नता लगायतका भण्डार उजागर हुने दाबी गर्दै उनले जुनी–जुनीका दुःखकष्ट नाश हुने बताएका थिए । साक्षी र समाधिमा फरक रहेको चर्चा गर्दै प्रशिक्षक मगरले साक्षीमा कुनै विषय हुने तर समाधि विषयरहित हुने स्पष्ट पार्दै आफ्नो अवचेतनमा प्रवेश गरेपछि ईश्वरीय अनुभूति हुन थाल्ने बताएका थिए ।
उपस्थित साधक र हलसम्म पुग्न उत्प्रेरणा दिने सबैलाई धन्यवाद दिएका मगरले प्रशिक्षक मित्रहरुले धेरै मिहिनेत गरेर सुन्दर ढंगले आ–आफ्ना प्रस्तुति गरेकोमा उनीहरुप्रति पनि धन्यवादभाव प्रकट गरेका थिए ।
साधनाको अन्त्यमा विनिता श्रेष्ठ, विनी श्रेष्ठ, उर्मिला दाहाल, मेनका श्रेष्ठ, भीमप्रसाद निरौला, दीपक न्यौपाने, सिम्रिका कार्की, पवन झालगायत साधकले आ–आफ्ना अनुभव र जिज्ञासा प्रस्तुत गरेका थिए ।
साधनामा सहभागी कक्षा ६ मा अध्ययनरत सिम्रिका कार्कीले आफूलाई ध्यानसाधना असाध्यै मन परेको भन्दै स्कूलमा गएर साथीहरुमाझ पनि अनुभव प्रस्तुत गर्ने र उनीहरुलाई पनि ध्यान गर्न उत्प्रेरणा दिने बताएकी थिइन् ।