०२ साउन २०८३, शनिबार
पैसाको अवैध कारोवार

स्रोत नखुलेको पैसा ओसारपसारको सञ्जाल– नाकाका व्यापारीदेखि सुन व्यवसायीसम्म संलग्न

भदौ ६, २०७९
स्रोत नखुलेको पैसा ओसारपसारको सञ्जाल– नाकाका व्यापारीदेखि सुन व्यवसायीसम्म संलग्न

सर्लाहीको बरहथवा नगरपालिका–११ हिरापुर ब्यारेजस्थित सडकबाट स्रोत नखुलेको नगद ३६ लाख रूपैयाँ तथा २३३ ग्राम २८० मिलिग्राम तौल बराबरको सुनको सिक्री १ थान र ब्रास्लेट १ थानसहित २ जनालाई गएको सोमवार साँझ प्रहरीले पक्राउ गरेको थियो । 

डोटीको शिखर नगरपालिका–७ घर भई हाल काठमाडौं कपन बस्ने ३० वर्षीय हर्कबहादुर कठायत र भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३१ वर्षीय विशाल खत्रीलाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।

नयाँरोडबाट हिरापुरतर्फ जाँदै गरेको प्रदेश ०२– ०३३ प ७७५० नम्बरको मोटरसाइकलमा सवार व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट नगद र सुन बरामद भएको प्रहरीको दाबी छ ।

यस्तै, रौतहट जिल्लाको ईशनाथ नगरपालिका– ६ स्थित चमनाका इलाकाबाट असार २२ गते सशस्त्र प्रहरीले १० लाख नेपाली रुपैयाँ र १२ हजार ५ सय भारतीय रुपैयाँसहित भारत घर बताउने २६ वर्षीय मोहम्मद कमरे आलमलाई पक्राउ गरेको थियो ।

बी आर ५ यू ५१६५ नम्बरको मोटरसाइकलमा सवार उनलाई सशस्त्र प्रहरी बल नेपाल बीओपी मपुरखापबाट खटिएको सशस्त्र प्रहरीको टोलीले शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको उल्लेखित रुपैयाँको स्रोत नखुलेपछि पक्राउ गरिएको थियो ।

पक्राउ परेका आलमलाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गौरमा बुझाइएको थियो ।

यसैगरी प्रहरीले २०७८ पुस १७ गते सौर्य एयरलाइन्सकी कर्मचारीलाई स्रोत नखुलेको ५० लाखसहित पक्राउ गरेको थियो । 

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट विराटनगर–४ की ३३ वर्षीया रेशा शाक्यलाई पक्राउ गरेको थियो । उनीसहित ३ जना कर्मचारीलाई आन्तरिक राजस्व अनुसन्धान कार्यालय बुझाइएको थियो । 

यस्तै, प्रहरीले काठमाडौं महानरपालिका–१८ नरदेवी एरियाबाट गैरकानूनी रूपमा हुण्डी कारोबार भएको सूचनाका आधारमा ७४ लाख रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको थियो ।

प्रहरीले भारत राजस्थान शिखर जिल्ला,  देवथला घर भई काठमाडौंको बबरमहल बस्ने ६४ वर्षीय राजु अग्रवाल, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका– ४ का २० वर्षीय रामहरी दुलाल र रौतहटको चन्द्रपुर नगरपालिका– ४ का २४ वर्षीय सुदीप आचार्यलाई पक्राउ गरेको थियो । पक्राउपछि उनीहरूलाई पनि प्रहरीले राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाएको थियो । 

पछिल्लो समय प्रहरीले स्रोत नखुलेको नगदसहित मानिसहरूलाई पक्राउ गरिरहेको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार २०७८/७९ मा ११ करोड ५४ लाख ४४ हजार ६२४ नेपाली रुपैयाँ स्रोत नखुलेको पैसा बरामद गरेको छ भने ६६ जनालाई नियन्त्रणमा लिएको छ ।

काठमाडौं उपत्यकामा ८ करोड १० लाख ६९ हजार ७२० रुपैयाँसहित १६ जना, प्रदेश १ बाट ४४ लाख ७७ हजार ६७० रुपैयाँसहित ११ जना, मधेश प्रदेशबाट १ करोड ६५ लाख ७७ हजार ९ सय रुपैयाँसहित २७ जना, बागमती प्रदेशबाट १६ लाख ३२ हजार ९ सय रुपैयाँसहित २ जना, लुम्बिनी प्रदेशबाट ९५ लाख ३३ हजार १४ रुपैयाँसहित ८ जना र सुदूरपश्चिम प्रदेशबाट २१ लाख ५३ हजार ४२० रुपैयाँसहित २ जनालाई स्रोत नखुलेको पैसासहित नियन्त्रणमा लिएको प्रहरी हेडक्वार्टरको तथ्यांक छ ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले उपत्यकामा सुन व्यापारीहरूले स्रोत नखुलेको पैसा बोकेर हिँड्ने गरेको बताए ।

उनले उपत्यका बाहिर नाकामा व्यापार गर्ने व्यापारीहरूले स्रोत नखुलेको पैसा नेपाल ल्याउने गरेको बताए । 

‘उपत्यकामा सुन व्यापारीहरूले स्रोत नखुलेको पैसा बोक्ने गरेको पाइएको छ । यस्तै उपत्यका बाहिर नाकामा व्यापार गर्ने भारतीय र नेपाली व्यापारीहरूले स्रोत नखुलेको पैसा लिएर नेपाल आउने गरेको देखिएको छ,’ डीआईजी राईले लोकान्तरसँग भने । 

प्रवक्ता राईका अनुसार नाकामा नेपालबाट भारत सामान किन्न जाने व्यक्तिहरूले व्यापारीलाई दिएको पैसा नेपालमा लुकाएर साट्न ल्याउने गरेका छन् ।

उनीहरूले भारतमा त्यो पैसा नचल्ने भएकाले ठूलो परिणाममा नेपाल ल्याउने गरेको पाइएको डीआईजी राईले बताए ।

salt training

कमेन्ट गर्नुहोस्