२२ असार २०८३, सोमबार

मैले देखेको खुम्बु क्षेत्रको हिउँ र जीवन [फोटो कथा]

भदौ ६, २०७९
मैले देखेको खुम्बु क्षेत्रको हिउँ र जीवन [फोटो कथा]

गोक्यो यात्रामा मज्जाले दुई दिनसम्म हिउँ पर्‍यो । हिउँसँग रमाउँदै र कति ठाउँमा लड्दै गोक्यो पुगियो । गोक्योको सुन्दरताको व्याख्या यसअघिको फोटो कथामा गरी सकें । गोक्यो तालसम्म यात्रामा हिउँ परेको कुरालाई फेरि पनि जोडेर केही फरक तस्वीरसहित यात्रालाई स्मरण गर्न मन लाग्यो । घुम्न जाने पर्यटकहरू आफ्नो गन्तव्यलाई नै अन्तिम लक्ष्य बनाएर निरन्तर यात्रा गरिरहन्छन् । बाटोमा देखिएका र भेटिएका कुराहरू उनीहरूलाई नौलो लाग्छ, त्यसबाट नयाँ अनुभूति संगाल्दै रमाउने पर्यटकहरूको विशेषता नै हो । वास्तवमा उनीहरूको उद्धेश्य नै नयाँ र नौलोपनको अनुभव गर्दै त्यसैमा रमाउनकै लागी पैसा र समय खर्चेर त्यस्ता फरक–फरक गन्तव्यमा पुग्ने गर्दछन् । 

प्रकृतिक सौन्दर्यताको मनोरम दृष्यमा रमाउँदै गोक्याे ताल पुग्ने क्रममा बाटोमा देखेको र भेटेका दृष्यले मलाई निकै छोयो । हिउँमा जीवन जिउने त्यहाँका स्थानीय मानिस, रैथाने चौपाया, पक्षीले हिमालको हिउँसँग जीवन बाँच्ने कला पनि सिकेका रहेछन् । प्रकृतिले उनीहरूलाई त्यो गुण प्रदान गरेको छ । भारी हिमपातले सेताम्मे बनेको खुम्बु क्षेत्रमा सबैको दैनिकी एकनासको थियो । सधैझै मानिसहरू आफ्नो काममा व्यस्त थिए । चौरीहरू हिउँको थुप्रोमा चर्न तयार थिए, हिमाली पक्षीहरू हिउँ बीच–बीचबाट निस्किएका बुट्यानहरूमा चरेर भोक मेटाइरहेका थिए । हिउँको चट्टान तैरिने गोक्यो तालमा जलहाँसहरू रमाइरहेका थिए । 

नेपाल भौगोलिक विविधताको अनुपम उहारले सुसज्जित भूमि हो । त्यसैले हामी हिमाल हेर्न, हिउँ खेल्न, हिमताल देख्न फरक भूगोलबाट खुम्बु क्षेत्रको पदयात्रामा निस्किएका थियौँ । केही घण्टाको यात्रामा नै हामी फरक भूगोल र फरक हावा–पानी पाउनसक्ने विशेषतायुक्त देशका नागरिक । यसमा हामीलाई गर्व छ ।  त्यसैले कहिले नदेखका यस्ता दृष्य र कुराहरूले आम मानिसलाई नौलो अनुभूति दिलाउँछ नै र मलाई पनि । भौगोलिक विविधताको फरकपनसँगै जोडिएर आउने अर्को विशेषता भनेको सुगमता र विकटता हो । हिमाली क्षेत्रहरू भनेको भौगोलिक विकटताको पर्याय हो, भन्न धक लाग्दैन । 

खुम्बु क्षेत्रको यात्रा गर्दा परेको हिउँले सबैलाई सोचेभन्दा धेरै रमाइलो अनुभव गराइरहेको थियो । मौसमले साथ दिएकैले होला, बेमौसममा हिउँ परेर हिउँसँग धित मरुन्जेल खेल्ने मौका पाइयो । हिउँसँग हामी रमाइरहँदा त्यस क्षेत्रको दैनिकीलाई भने असहज बनाएको थियो । हिउँले ढाकेर सेताम्मे बनेको विकट हिमाली बाटोमा ज्यानले थामेसम्मको भारीबोकेर हिँड्ने भरीयाको जीवनलाई पक्कै असहज बनाएको थियो । चरनमा चरेर बाँच्नु पर्ने चौरीहरू भोकै थिए त्यसैले तस्वीरमा देखिएजस्तै हिउँमा चर्न निस्किएका छन चौरीहरू । पक्षीहरू हिउँको थुप्रोमा आहार खोज्दै छन् । 

घर वरपर मात्र होइन घरको छानाले नै थाम्न नसक्ने गरी हिउँ परेको छ । डोकोले उघाएर आँगनमा परेको हिउँ पन्छाउँदै छन् स्थानीय महिला । माटो र चट्टान पूरै ढाकिने गरी परेको हिउँमा नांगो आँखाले हेर्न मिल्दैन । यात्रामा जतिसुकै कठिनाइ भए पनि सबैले हिमाली क्षेत्रमा जाँदा लगाइने एक विशेष प्रकारको चस्मा लगाउनै पर्ने । राति नसुत्दासम्म र बिहान उठ्नेवित्तिकै ओछ्यानबाटै चस्मा लगाएर मात्र बाहिर हेर्न मिल्ने । हामी कहिले हिउँ नदेखेका र हिउँ नखेलेकाहरू जाडोमा काठमाडौं वरपरका क्षेत्रमा हिउँ पर्दा भिडाम–भीड र ठेलम–ठेल गरेर हिउँ खेल्न जान्छौँ, तर यहाँ हिउँसँग खेलेर होइन संघर्ष गरेर जीवन बाँच्नु पर्दोरहेछ । यसरी नै बाँचेका छन् यहाँका सम्पूर्ण जीव–जीवात्मा ।

यातायातको सञ्जालले यस क्षेत्रलाई जोडेको छैन । सामान ओसार–पसार गर्ने प्रमुख साधन चौरी र स्वयं मानिसहरू नै हुन् । चौरीलाई भारी बोकाएर हिँडेका लस्करहरू देखिन्छन् । यही भारी बोकेर चौरीहरू आफू बाचेको छ र मानिसलाई पनि बचाएको छ । त्यसैले यस क्षेत्रमा हिउँ पर्दा सामान ओसर–पसारमा पनि असर पर्छ । 

हिमाली क्षेत्रको भीरमा नाउर चर्दैछ , त्यसैगरी साँझमा बास बस्ने तयारी गर्दै गरेको राष्ट्रिय पक्षी डाँफेले आफ्नो बहुरंगी शरीर देखाउँदै जो कोहीलाई मोहित बनाउँछ । गोक्यो तालको डिलमा बसेको एक जोडी कोङ्मा हिउँकुखुरा (टिबटेन स्नोकक)को प्रेमिल जोडी । हिउँमा चर्दै गरेको यी हिउँ कुखुरा । सेताम्मे हिउँसँग जीवन बाँचिरहेको छ । त्यहीको झार र घाँस खाएर बाँच्न सक्ने शाक्ति छ यिनीहरूमा । 

उच्च हिमाली क्षेत्रमा हिउँ र हिमालसँग त्यहाँका सबै प्राणी जगतले आफूलाई पूरै समायोजन गरेको छ । त्यस्तै वातावरणमा बाँच्न सक्ने शारीरिक स्वरुपको विकास गरेको छ । भौगोलिक उचाइसँगै यस क्षेत्रको वायुमण्डलमा अक्सिजनको मात्रा पनि कम हुन्छ । कम अक्सिजनमा पनि जीवन चलेकै छ, उनीहरूको । 

हामी केही दिनको पाहुना भएर घुम्न जाँदा जति रमाइलो अनुभूति प्राप्त हुन्छ, तर त्यही बसेर वास्तविक जीवन जिउनेहरूलाई मात्र थाहा होला भौगोलिक विकटताको पीडा र हिउँ पर्दा दैनिकीमा आइपर्ने कठिनाइ । 

हिउँ र हिमालसँग जोडिएको मात्रै पनि छैन हिमाली जीवनको दैनिकी । त्यस क्षेत्रका मानिसहरूको संस्कार, संस्कृति, भेषभुषा, भाषा र खानपान छुट्टै खालको छ । यस क्षेत्रको यात्रामा भेटिने मानिसहरू मिलनसार र आतिथ्य सत्कारमा मन, वचन र कर्मले समर्पित भएर लागेको देख्दा अतिथि देवो भवः भन्ने भनाइलाई व्यवहारमा उतारेको भान हुन्छ । यस क्षेत्रका पुरुषहरू घर बाहिरको काममा बढी व्यस्त हुन्छन् भने महिलाहरू घरधन्दा सँगै होटल व्यावसाय गर्ने गर्दछन् ।

आफ्नो मौलिक परम्परालाई जगेर्ना गर्ने कार्यमा महिलाहरू सक्रिय ढंगले लागेका छन् । उनीहरूले आमा समूह बनाएर विभिन्न सामाजिक सांस्कृतिक कार्यमा आफूहरूलाई सहभागी गराएका छन् । यस क्षेत्रमा आएका पर्यटकहरूलाई मौलिक भेषभुषामा स्थानीय खानाको परिकार बनाएर खुवाउन महिलाहरू सक्रिय छन् । आलुको विभिन्न परिकारहरू यस ठाउँको विशेषता  हो । आलुको रोटी यस क्षेत्रमा आउने पर्यटकलाई खुवाउन छुटाउँदैनन् यहाँका स्थानीहरूले । 

नेपालको सबैभन्दा धेरै हिमाल भएको जिल्ला सोलुखम्बु हो । यसलाई हिमाली हब भनेर पनि चिन्ने गरिन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुराहरूले यस क्षेत्रको गौरव र पर्यटक आकर्षणलाई अझ बढाएका छन् । यहाँ स्थानीय बासिन्दा र पर्वतारोहीहरूले प्रयोग गर्दै आएका गोक्यो, खुम्बु, छुकुम र नाङ्गपा मुख्य चारवटा उपत्यकाहरू रहेका छन् ।

खुम्बु क्षेत्रको हिमाल र तालसँग मात्र जोडिएको छैन सांस्कृतिक महत्वको क्षेत्र पनि हो । यहाँका तेङ्बोचे, पाङ्बोचे तथा थामे गुम्बाहरूमा बौद्ध धर्मको शिक्षा–दीक्षा प्रदान गरिन्छ । मुख्यतः हिमालहरू र यस क्षेत्रको मनोरम दृश्य हेर्न, पर्वतारोहण गर्न, शेर्पा संस्कृति तथा वन्यजन्तु अवलोकन गर्न बर्सेनि हजारौँ पर्यटकहरू यहाँ आउने गर्दछन् । पर्यटनको विकासबाट यहाँका बासिन्दाहरूको आर्थिक विकासमा ठूलो टेवा पुगेको छ । 

 

salt training

कमेन्ट गर्नुहोस्