नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले नयाँ नक्सा जारी गरेकोमा भारतलाई मन नपरे पनि अतिक्रमित भूमी फिर्ता गर्नुपर्ने बताएका छन् । सत्ता गठबन्धनका नेताहरूले दिल्लीमा जाँदा भूमि फिर्ताबारे चुइक्क नबोलेकोमा ओलीले आपत्ति जनाए ।
विभिन्न राजनीतिक दलका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन सोमवार बालकोटमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले नेपालको नक्सा भारतले मन पराएर जमिन फिर्ता गर्नुपर्ने बताएका हुन् । ‘अतिक्रमित भूमि समेटेर नक्सा जारी गरेर हामीले पत्राचार ग¥यौँ, यो हाम्रो भूभाग फिर्ता गर भनेर । म सुन्छु भारतलाई मन परेको छैन, भारतलाई मन पर्नुपर्छ । अरुकोमा दाबी गरेका छैनौँ, हामीले मागेका छौँ । मन पराउनु पर्छ फिर्ता गर्नुपर्छ’, ओलीले भने ।
६० वर्ष अगाडिदेखिको नेपाली भूमि फिर्ता ल्याउन आफूले पहल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड भारतमा जाँदा चुइक्क नबोलेको ओलीले आरोप लगाए ।
ओलीले सत्ता गठबन्धनका नेताहरु विदेशीले थप्पड हान्दा पनि चुइक्क नबोल्ने टिप्पणी गरे । ‘नेताहरू सत्ताको लोभले गर्दा, थप्पड लगाए पनि हेरेर बस्ने गरेका छन् । चीन त्यहाँ थियो, किन बाटो नखोलेको, किन पारवहन सम्झौता नगरेको ? किन नाकाबन्दीबाट सधैंलाई मुक्त नगरेको ?’, ओलीले प्रश्न गरे ।