जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका विराटनगरका कराँते प्रशिक्षकहरू विनोद राउत र सुरज सुवेदी पुर्पक्षको लागि जेल चलान भएका छन् । मोरङ जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजालसले सोमवार उनीहरूलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो ।
अदालतको आदेशपछि दुवै जना पुर्पक्षको लागि मोरङ कारागार चलान भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । बिहीवार सरकारी वकिल कार्यालय मोरङले उनीहरूविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरेको थियो ।
मुलुकी फौजदारी अपराधसंहिताको दफा २१९ अन्तर्गत दुवैलाई जबरजस्ती करणीतर्फ सातदेखि १० वर्षसम्म सजाय माग गरी अभियोग दायर गरिएको थियो । दफा २१९ कै सामूहिक जबरजस्ती करणीतर्फ थप पाँच वर्ष सजाय माग गर्दै मुद्दा दायर गरिएको थियो ।
शुक्रवार र शनिवार सार्वजनिक बिदा भएकोले आइतवार बयान र थुनछेक बहस भएको थियो । आइतवार वादी र प्रतिवादीका कानून व्यवसायीहरूको बहस नसकेपछि सोमवार मात्र आदेश आएको हो ।
विराटनगर महानगरपालिका–४ का ५० वर्षीय राउत नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव हुन् भने अर्का आरोपित सोही स्थानका ५० वर्षीय सुवेदी विराट हेल्थ कलेजका अनुशासन इन्चार्ज हुन् । पीडित युवती सोही कलेजमा अध्ययनरत इटहरी उपमहानगरपालिका–८ की १९ वर्षीय छात्रा हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङले पीडित युवतीमाथि सामूहिक र पटक–पटक करणी हुँदै आएको जनाएको छ । अन्तिम पटक भने असार २८ गते सुवेदीले करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख गरिएको छ ।
पीडितमाथि गत जेठमा विराटनगरको मुनालपथस्थित विराट होटेलमा सुवेदी र राउतले सामूहिक करणी गरेका थिए । युवतीको अश्लील भिडिओ बनाई उनीमाथि पटक–पटक करणी हुँदै आएको पीडितले दिएको जाहेरीमा उल्लेख छ । तर, अनुसन्धान प्रतिवेदनमा भिडिओ नभेटिएको भन्दै प्रहरीले सरकारी वकिल कार्यालयमा फाइल बुझाएको थियो ।