२३ जेठ २०८३, शनिबार
प्रतिनिधिसभा निर्वाचन

‘हेभीवेट’को चपेटामा परेका नेताको कसरी हुँदैछ निर्वाचन क्षेत्र व्यवस्थापन ?

भदौ ६, २०७९
‘हेभीवेट’को चपेटामा परेका नेताको कसरी हुँदैछ निर्वाचन क्षेत्र व्यवस्थापन ?

भदौ पहिलो साताभित्र सीट बाँडफाँडको खाका तयार गर्ने जिम्मेवारी पाएको सत्ता गठबन्धनको कार्यदल ‘हेभीवेट’ नेताको निर्वचन क्षेत्रको व्यवस्थापन कसरी गर्ने भनेर अलमलमा परेको छ ।

कांग्रेस नेता प्रदीप गिरीको निधनका कारण आइतवार कार्यदलले छलफल गर्न सकेन । गठबन्धनले सहमतिको प्रस्तावित खाका ल्याउन कार्यदल संयोजक कृष्णप्रसाद सिटौलालाई जिम्मा दिएको छ । 

अहिलेसम्म सिटौलाले सहमतिको प्रस्ताव ल्याउन सकेका छैनन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले २०७४ सालको चुनाव जितेको क्षेत्रलाई दाबीको पहिलो आधार बनाएका छन् ।

‘यसअघि चुनाव जितेको ठाउँमा दलको पहिलो दाबी स्वाभाविक रहने भयो, तर कतिपय विशिष्ट क्षेत्र छन्, ती ठाउँमा मिलाउन प्रयास भइरहेको छ,’ कार्यदलका एक सदस्यले लोकान्तरसँग भने ।

गठबन्धन दलका शीर्ष र प्रभावशाली नेताका निर्वाचन क्षेत्रको व्यवस्थापन गर्न कार्यदललाई कठिन परेको छ । 

केही यस्ता निर्वाचन क्षेत्र छन्, जहाँ ‘हेभीवेट’ नेताका कारण यसअघि चुनाव जितेका नेता अप्ठ्यारोमा परेका छन् । 

विश्वप्रकाश शर्मा र राम कार्की

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको निर्वाचन क्षेत्र झापा क्षेत्र– १ मा कसलाई टिकट दिने भन्ने विषयले गठबन्धनलाई ज्वरो आएको छ ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा शर्मालाई पराजित गरेका माओवादी नेता राम कार्की स्वाभाविक दाबेदार छन् । गठबन्धनको कार्यदलले बनाएको पहिलो मापदण्डमा यसअघि जितेको क्षेत्रमा दाबी गर्ने भन्ने छ । 

काठमाडौं– ५ बाट समेत चुनाव लड्ने भनेर भइरहेका चर्चालाई खण्डन गरेर विश्वप्रकाशले झापा– १ बाटै चुनाव लड्ने बताएका छन् । झापाका सडकलाई ‘अफ्रिकन सुन्दरीको गाला जस्तै चिल्लो’ बनाउने चुनावी नारा बनाएर तत्कालीन वामपन्थी उम्मेदवार कार्कीले शर्मालाई पराजित गरेका थिए । 

२०७४ सालको चुनावमा कार्कीले ३६ हजार १ सय ७३ मत प्राप्त गर्दा शर्माले ३३ हजार ३ सय १० मत पाएका थिए ।

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा वडास्तरको मतमा एमालेको अग्रता छ । एमालेले ३१ हजार २३२ मत पाउँदा  कांग्रेसले २४ हजार ५९ मत प्राप्त गरेको छ । राप्रपाले ५ हजार ९२२ मत ल्याउँदा माओवादीले ३ हजार ९०५ र नेकपा एसले १ हजार २५२ मत पाएका छन् । 

विश्वप्रकाश शर्मा

राजेन्द्र लिङ्देनको गृहजिल्ला झापामा राप्रपा माओवादीभन्दा बलियो छ । एमाले र राप्रपाबीच तालमेल भयो भने ३७ हजार १ सय ५४ मत एकातिर छ । कांग्रेस, माओवादी र एस गर्दा २९ हजार २ सय १६ मत छ । राप्रपासँग तालमेल नभएको अवस्थामा पनि गठबन्धनको भन्दा एमालेको भोट धेरै छ । 

स्थानीय तहको मतभन्दा पनि कस्तो उम्मेदवार भन्ने कुराले चुनावमा महत्त्व राख्छ । एमालेबाट रविन कोइराला उम्मेदवार बन्ने सम्भावना छ ।

मेचीनगरका पूर्व मेयर कोइरालाले संविधानसभा निर्वाचनमा पनि शर्मालाई पराजित गरेका थिए । झापा– १ बाटै चुनाव लड्ने तयारी गरेका शर्माले त्यहाँ सर्वेक्षण गरिरहेका छन् । 

‘विगतमा पराजय व्यहोरे पनि विश्वप्रकाशले झापाको  भूगोलमा राजनीति गरिरहनुभएको छ । यसपटक विश्वप्रकाशलाई चुनाव जिताउनु पर्छ भन्ने झापाली जनताको चाहना छ,’ कांग्रेसका एक जिल्लास्तरीय नेताले लोकान्तरसँग भने ।

स्थानीय तह निर्वाचनमा माओवादीले पाएको मत निकै कम रहेकाले यो क्षेत्रमा चुनाव जित्न विश्वप्रकाश शर्मा नै उपयुक्त हुने उनले दाबी गरे । विश्वप्रकाशले झापा– १ मा दाबी कायम राखेपछि राम कार्कीले अर्को निर्वाचन क्षेत्र रोज्नु पर्ने बाध्यता छ ।

रामचन्द्र पौडेल र किसान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको निर्वाचन क्षेत्रमा मिलाउन पनि गठबन्धनलाई धर्मसंकट आइलागेको छ ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा वामपन्थी गठबन्धनका एमाले उम्मेदवार कृष्णकुमार श्रेष्ठ विजयी भएका थिए । श्रेष्ठले ३४ हजार ४ सय ९२ मत पाउँदा रामचन्द्र पौडेलले २७ हजार ६ सय ९० मत प्राप्त गरेका थिए ।

२०७८ साउन ३ गते प्रतिनिधि सभामा ‘फ्लोर क्रस’मार्फत शेरबहादुर देउवालाई विश्वासको मत दिएका श्रेष्ठ मन्त्री पद पाउने भएपछि माधव नेपालको पार्टीमा सामेल भएका थिए । 

२०४८ सालदेखि अविजित रहेका पौडेल एमालेका एक कनिष्ठ कार्यकर्तासँग पराजित हुनुपरेको थियो । 

तनहुँ– १ बाट अन्तिमपटक चुनाव जित्ने आकांक्षा राखेका पौडेलले चुनावको मिति घोषणा हुनुअगावै निर्वाचन क्षेत्रमा गतिविधि र तयारी थालेका छन् । 

रामचन्द्र पौडेल

स्थानीय तह निर्वाचनको मतलाई आधार मान्दा यो क्षेत्रमा नेपाली कांग्रेस बलियो छ भने एकीकृत समाजवादीको मत नगण्य छ । कांग्रेसले ३३ हजार १०६ मत पाउँदा नेकपा एसले ८ सय ९२ मत मात्र पाएको छ ।

‘नेकपा एसको प्रभाव शून्यप्रायः रहेकोले तनहुँ– १ बाट रामचन्द्र पौडेल नै उम्मेदवार हो । चितवनलगायतका क्षेत्रबाट अफर आउँदा पनि रामचन्द्र दाइले छाड्नुभएन,’ पौडेलनिकट एक नेताले भने । 

नेकपा एसले भने यसअघिको चुनावलाई सीट बाँडफाँडको आधार बनाउँदा तनहुँ– १ आफूले पाउनुपर्ने दाबी गरेको छ ।

स्रोतका अनुसार तनहुँ – १ मा टिकट नपाउने अवस्थामा श्रेष्ठले बाराबाट चुनाव लड्ने योजना बनाएका छन् । उनको व्यापार बारामा छ ।

केपी ओली प्रधानमन्त्री रहेको समयमा सांसद डा. सुरेन्द्र यादव अपहरणमा सहभागी भएको आरोप श्रेष्ठमाथि लाग्दै आएको छ । 

सरकारबाट फिर्ता बोलाइएकोमा असन्तुष्ट श्रेष्ठ पुनः एमालेमा फर्किने टिकाटिप्पणी भएपनि एसका नेताहरूले त्यो सम्भावना नरहेको भन्दै खण्डन गरेका छन् । 

अग्नि सापकोटा र मोहन बस्नेतको टसल 

प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले चुनाव जितेको सिन्धुपाल्चोक– १ पनि सत्ता गठबन्धनका लागि टाउको दुखाइको विषय बनेको छ, जहाँ कांग्रेसका ‘बाहुबली’ उम्मेदवार मोहनबहादुर बस्नेत दाबेदार छन् ।

वाम गठबन्धनका माओवादी उम्मेदवार सापकोटाले ४० हजार ५ सय ५ मत पाउँदा कांग्रेसका बस्नेतले २९ हजार ७ सय ९८ मत पाएका थिए । 

चुनावमा पराजित भएपनि सिन्धुपाल्चोकमा बस्नेतको हैकम कायम छ । बस्नेतले सभामुख सापकोटाविरुद्ध आक्रामक भाषण गर्ने गरेका छन् । उनको घमण्ड तोड्न पनि वामपन्थी दलहरू एक ठाउँमा उभिने अवस्था आउने गरेको छ ।

सिन्धुपाल्चोकका वामपन्थी घटकहरू केन्द्रको हस्तक्षेप नभएमा एक–एक सीट बाँड्ने गरी तालमेलको पक्षमा छन् । विगत चुनावमा जितेको र सभामुख भइसकेका कारण सापकोटाले टिकट पाउने सम्भावना ज्यादा छ ।

अग्नि सापकोटा

सापकोटा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वासिला पात्र हुन् । पार्टी विभाजनको समयमा दह्रो साथदेखि रिफ्रेसमेन्टका लागि प्रचण्डलाई सुकुटे बिचमा लैजाने प्रबन्ध सापकोटाले नै मिलाउँदै आएका छन् । उनलाई टिकट दिलाउन प्रचण्डले हदैसम्मको कोशिश गर्ने बुझ्न सकिन्छ ।

स्थानीय तह निर्वाचनको मतका आधारमा सिन्धुपाल्चोक– १ मा कांग्रेस पहिलो र माओवादी तेस्रो शक्ति छन् । कांग्रेसले ३४ हजार ७६१ मत पाउँदा माओवादीले १९ हजार ३४४ मत प्राप्त गरेको थियो । 

नेकपा एमालेले २७ हजार ५९ मत पाउँदा नेकपा एसले २ हजार ३११ र राप्रपाले १ हजार २३९ मत पाएको छ ।

स्थानीय तह निर्वाचनको मतलाई आधार बनाएर कांग्रेसले यो क्षेत्रमा दाबी गरिरहेका छ । गठबन्धनका लागि सबैभन्दा चुनौतीपूर्ण यही क्षेत्र बनिरहेको छ । भागबण्डा कसरी मिल्छ, अहिलेसम्म टुंगो लाग्न सकेको छैन ।

विरोध खतिवडा कि महालक्ष्मी उपाध्याय डिना ?

कांग्रेस पदाधिकारीमा एकमात्र महिला रहेकी महालक्ष्मी उपाध्याय डिनाको निर्वाचन क्षेत्र मकवानपुर– २ को टुंगो लगाउन पनि गठबन्धनलाई सकस परेको छ । 

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धनका एमाले उम्मेदवार विरोध खतिवडाले डिनालाई पराजित गरेका थिए । 

त्यो बेला खतिवडाले ४४ हजार ७ सय ४४ मत ल्याउँदा डिनाले ३२ हजार ६ सय ५८ मत पाएकी थिइन् ।

विरोध खतिवडा

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा मकवानपुर– २ मा एमालेको मत धेरै छ । तर, गठबन्धनको भोट जोड्दा एमालेको भन्दा धेरै हुन्छ ।

एमालेले ३६ हजार ८ सय ६६ मत पाउँदा कांग्रेसले ३४ हजार २ सय ४० र माओवादी केन्द्रले २२ हजार ६ सय ७ मत प्राप्त गरेका छन् ।

नेकपा एसले मकवानपुर २ लाई बागमती प्रदेशमा आफूले पाउनु पर्ने सीटको अग्रपंक्तिमा राखेको छ । तर स्थानीय निर्वाचनमा उसले पाएको पार्टीगत मत भने २ हजार ७ सय १९ मात्र छ ।

नारायणकाजी र बाबुराम

गोरखा जिल्लाका दुई ‘हेभीवेट’ नेता नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको निर्वाचन क्षेत्र गोरखा २ मा पनि कसरी भागबण्डा मिल्छ भन्ने चर्चा शुरू भएको छ ।

राष्ट्रिय सभा सदस्य रहेका नारायणकाजीले अहिलेसम्म प्रतिनिधि सभा चुनावमा लड्ने/नलड्ने बताएका छैनन्, तर गोरखाका माओवादी नेताहरू भने नारायणकाजी चुनाव लड्न आउने विश्वासमा छन् । यो क्षेत्रको विवाद मिलाउने झञ्झट भने कार्यदलभन्दा पनि प्रचण्डको काँधमा छ । 

हँसिया हथौडा चिह्नबाट चुनाव लड्ने सहमति गरेका बाबुराम प्रत्यक्षमा चुनाव लडे गोरखा २ बाटै लड्ने बताउँदै आएका छन् । आफू नलडे सो क्षेत्रबाट छोरी मानुषी यमी भट्टराईलाई चुनाव लडाउन खोजिरहेका छन् भन्ने चर्चा पनि चलेको छ । नारायणकाजीले पनि दाबी गरे भने यो क्षेत्र मिलाउन कठिन पर्ने देखिन्छ ।

बाबुराम भट्टराई

अघिल्लोपटक यही क्षेत्रको विवादका कारण बाबुराम वाम गठबन्धनबाट अलग भएका थिए । गोरखा– २ मा बाबुरामलाई सघाएर उनकै सहयोगमा कांग्रेसले रसुवामा जीत हात पारेको थियो । 

त्यतिबेला बाबुरामले ३१ हजार ८ सय ७ भोट पाउँदा वाम उम्मेदवार नारायणकाजी श्रेष्ठले २४ हजार ९ सय ३३ मत पाएका थिए ।

‘गोरखामा बाबुराम ब्रान्ड’सँग चुनाव लड्न नसकिने रहेछ भनेर हिँडेका नारायणकाजी अहिले राष्ट्रिय सभा सदस्य छन् । बाबुरामको क्षेत्रमा माओवादी बलियो छ भने हाराहारीमा कांग्रेस छ । 

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा माओवादीले २२ हजार २५० मत पाउँदा कांग्रेसले २१ हजार १३६ मत पाएको थियो । एमालेको ७ हजार ९२६, बाबुरामको पार्टीको ७ हजार ५०४ र राप्रपाको ८७८ मत छ । गोरखा– २ मा गठबन्धनको भोट ५० हजार छ भने एमाले र राप्रपाको भोट जोड्दा झण्डै साढे ८ हजार मात्र पुग्छ । 

वामदेव कि दुर्गा पौडेल ?

सत्ता गठबन्धनका लागि सीट बाँडफाँडमा नयाँ टाउको दुखाइको विषय बनेको छ– प्युठान । 

पाँचदलीय गठबन्धनको एउटा घटक राष्ट्रिय जनमोर्चाका लागि जीवनमरणको सवाल भएको प्युठानबाट चुनाव लड्नका लागि वामदेव गौतमले रुचि देखाएपछि गठबन्धनलाई सकस परेको हो ।

पाँचदलीय गठबन्धनका शीर्ष नेताको बैठकमा उपस्थित हुने जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल यहीँबाट दोहोर्‍याएर चुनाव लड्न खोज्दैछिन् । चुनावमा तालमेल गर्ने सहमति पत्रमा उनैले हस्ताक्षर गरेकी छिन् । 

यता, राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर गौतम हँसिया हथौडा चिह्नमार्फत प्रतिनिधि सभा चुनाव लड्ने तयारीमा छन् ।

राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न नपाउने भएपछि गौतम प्रतिनिधि सभामा चुनाव लड्न खोजेका हुन् । 

वामदेव गौतम

‘भावी प्रधानमन्त्री’का आकांक्षी मध्येका एक ‘हेभीवेट’ उम्मेदवार गौतम र पौडेललाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय गठबन्धनमा पेचिलो बनेको छ । 

२०७४ सालको चुनावमा जनमोर्चाकी दुर्गा पौडेल ४७ हजार ५ सय १४ मतसहित विजयी हुँदा कांग्रेसका डा. गोविन्द पोखरेलले ३१ हजार २ सय ८६ मत पाएका थिए । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा प्युठानमा कांग्रेस र माओवादीले समान ३ पालिका जित्दा एमाले दुई स्थानमा खुम्चिएको छ । 

तर, भोटका आधारमा नेकपा एमाले अग्रस्थानमा छ । नेकपा एमालेले ३९ हजार ८७७ मत पाउँदा कांग्रेसले २१ हजार ५६४ मत पाएको छ । माओवादीले १७ हजार १ सय ६३ र जनमोर्चाले १३ हजार ६ सय १२, एकीकृत समाजवादीले १ हजार ४ सय १७ र राप्रपाले ४ सय ३३ मत पाएका छन् । गठबन्धनको मत एक ठाउँमा जोड्दा ५३ हजार ७ सय ५६ हुन्छ । 

नुवाकोट– १ को विकल्प खोज्नुपर्ने बाध्यतामा रामशरण महत

पूर्व अर्थमन्त्री रामशरण महत र पूर्व युवा तथा खेलकुद मन्त्री हितबहादुर तामाङको क्षेत्र नुवाकोट– १ पनि यसपटक गठबन्धनका लागि टाउको दुखाइ बनेको छ ।

पार्टीगत मत हेर्दा नुवाकोटमा २ मध्ये एउटा क्षेत्र माओवादीलाई दिनै पर्ने बाध्यता छ । यसअघि आफूले जितेको क्षेत्र भएका हिसाबले माओवादीले नुवाकोट– १ दाबी गरेको छ ।

२०७४ मा वाम गठबन्धन हुँदा माओवादीका हितबहादुर तामाङ ३६ हजार ४७३ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका प्रभावशाली नेता रामशरण महतले २७ हजार ९२० मत मात्र पाए । यो क्षेत्रमा २०६४ मा माओवादी र २०७० मा कांग्रेसले जितेका थिए ।

रामशरण महत

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसले २८ हजार ९६२, माओवादीले २३ हजार २००, एमालेले १८ हजार २६७, राप्रपाले ४ हजार ७८ र एकीकृत समाजवादीले २ हजार २४५ मत ल्याएका छन् ।

पार्टीगत भोटमा कांग्रेस केही अगाडि देखिए पनि यो क्षेत्र माओवादीले नै पाउने सम्भावना छ । हितबहादुर तामाङको जातीय र माओवादीको संगठनात्मक भोट हिसाब गर्दा माओवादी एक्लै नै प्रतिस्पर्धामा आउने हैसियतमा छ ।

तामाङले टिकट पाउँदा महतलाई समानुपातिक वा अन्य कुनै क्षेत्रमा व्यवस्थापन गर्नुपर्ने बाध्यता आइपरेको नुवाकोटका एक नेता बताउँछन् । त्यसो त रामशरण महत पछिल्लो समय राजनीतिक रूपमा खासै सक्रिय पनि देखिएका छैनन् ।

डोटीमा आले कि बलायर ?

सत्ता गठबन्धनका लागि सीट बाँडफाँडमा समस्या रहेको अर्को क्षेत्र हो, डोटी । एउटै मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा पूर्वमन्त्रीद्वय वीरबहादुर बलायर र प्रेमबहादुर आलेमध्ये एक जनाले मात्र टिकट पाउने अवस्था छ । बलायर नेपाली कांग्रेसका सूदुरपश्चिम प्रदेश सभापति हुन् भने आले सत्ता साझेदार दल एकीकृत समाजवादीका नेता हुन् ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग निकट सम्बन्ध रहेका बलायर देउवा पहिले प्रधानमन्त्री हुँदा भौतिक पूर्वाधार मन्त्री बनेका थिए । आले केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारमा वन मन्त्री र देउवा नेतृत्वको वर्तमान सरकारमा पर्यटन मन्त्री भइसकेका नेता हुन् । एमाले विभाजन र देउवा नेतृत्वको सरकार गठनमा आलेको पनि भूमिका छ ।

प्रेम आले

अघिल्लोपटक यी दुई नेता आमनेसामने हुँदा आलेले बाजी मारेका थिए । तत्कालीन वाम गठबन्धनका एमाले उम्मेदवार आलेले ३२ हजार ५१० मत ल्याउँदा कांग्रेस उम्मेदवार बलायरले ३० हजार ८७५ मत ल्याएका थिए ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणम हेर्दा डोटीमा कांग्रेसको अवस्था निकै सुदृढ छ ।

वडाध्यक्षहरूले ल्याएको मतलाई आधार मान्दा कांग्रेसले ३४ हजार ४७, एमालेले २४ हजार ९१६, माओवादीले ७ हजार ७८९ र नेकपा एकीकृत समाजवादीले ३ हजार २०५ मत ल्याएका छन् । कांग्रेसको तुलनामा एकीकृत समाजवादीको मत निकै कम रहेकाले पनि पहिले जितेको क्षेत्र भएकै आधारमा छाड्न नसकिने कांग्रेस नेताहरू बताउँछन् ।

देउवा र माधव नेपालबीच सहमति भएर केन्द्रबाट हस्तक्षेप गर्दाको अवस्थामा मात्र डोटीको भागबण्डा मिल्न सक्छ । त्यस्तो अवस्थामा आले वा बलायरलाई अन्यत्र कतै व्यवस्थापन गर्नुपर्ने हुनसक्छ । डोटीमा कसले टिकट पाउँछ, अहिल्यै यकिन भइसकेको छैन ।

धादिङ– १ मा राजेन्द्र पाण्डे कि शालिकराम जमरकट्टेल ?

अघिल्लोपटक वाम गठबन्धनबाट एमाले उम्मेदवार भूमि त्रिपाठीले जितेको धादिङ क्षेत्र नम्बर १ मा पनि गठबन्धन दलबीच भागबण्डा मिलाउन मुस्किल छ ।

वामपन्थीहरूको निकै बलियो प्रभाव रहेको यस क्षेत्रमा माओवादी र एकीकृत समाजवादी दुवैले दाबी गरेका छन् । बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र उनैको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री रहेका माओवादीका प्रभावशाली युवा नेता शालिकराम जमरकट्टेल टिकटका आकांक्षी हुन् ।

राजेन्द्र पाण्डेको पुरातन क्षेत्र तत्कालीन धादिङ– ३ को सिंगै भूभाग अहिले धादिङ क्षेत्र नम्बर १ मा पर्छ । निर्वाचन क्षेत्र पुनरसंरचनाका क्रममा जिल्लालाई २ वटा क्षेत्रमा सीमित गर्दा तत्कालीन ३ नम्बर क्षेत्र पूरै र २ को आंशिक भूभाग समेटेर क्षेत्र नम्बर १ बनाइएको थियो ।

राजेन्द्र पाण्डे

पहिलेदेखि नै पाण्डेले जित्दै आएको क्षेत्रमा २०६४ सालमा जमरकट्टेले प्रभावशाली जीत दर्ता गरेका थिए । २०७० मा पाण्डेले विरासत फर्काए ।

२०७४ मा एमाले र माओवादी मिलेर वाम गठबन्धन हुँदा दुवै नेता प्रदेशमा खुम्चिनुपर्‍यो । धादिङका दुवै क्षेत्र एमालेको भागमा परेपछि जमरकट्टेल प्रदेशमा बस्नुको विकल्प थिएन भने टिकट बाँडफाँडमा अध्यक्ष ओलीले आफूपक्षीय नेताहरूलाई मात्र प्राथमिकता दिँदा पाण्डे पनि प्रदेशमा खुम्चिन बाध्य भए । एमालेमा छँदै मुख्यमन्त्रीका दाबेदार रहेका पाण्डे पार्टी विभाजनपछि मात्र मुख्यमन्त्री बनेका हुन् ।

धादिङ– २ कांग्रेसले पाउने पक्कापक्की जस्तै रहेकाले धादिङ– १ मा कांग्रेसले दाबी गरेको छैन । त्यसो त २०६४ यता नै यो क्षेत्रमा कांग्रेसको हैसियत तेस्रो हो । एमाले र माओवादी मिलेर नेकपा बन्दा मात्र कांग्रेस दोस्रो हैसियतमा आएको थियो ।

शालिकराम जमरकट्टेल

हालै सम्पन्न स्थानीय तह निर्वाचनको वडागत मत नियाल्दा यस क्षेत्रबाट एमालेले ३७ हजार ७७८ मत ल्याएको छ । दोस्रो स्थानमा रहेको माओवादी केन्द्रले २४ हजार ९२५, तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १९ हजार ४२३ र चौथो स्थानमा रहेको नेकपा एकीकृत समाजवादीले ८ हजार ८३६ मत ल्याएका छन् ।

पार्टीका उपाध्यक्ष पाण्डेको पुरानो निर्वाचन क्षेत्र र उनको व्यक्तिगत प्रभाव समेत रहेको भन्दै एकीकृत समाजवादीले धादिङ– १ लाई बटमलाइन बनाउने सम्भावना छ भने यस क्षेत्रमा गठबन्धन सहयात्री दलमध्ये आफू सबैभन्दा बलियो रहेको दाबी माओवादीले गर्दै आएको छ ।

यस क्षेत्रमा पनि प्रचण्ड र माधव नेपाल बसेर मात्र भागबण्डा टुंग्याउन सक्छन् । कुनै एक नेतालाई मुख्यमन्त्री बनाउने गरी प्रदेशमा राखेर एक जनालाई संघको टिकट दिने सम्भावना छ ।

अघिल्लोपटक यस क्षेत्रमा वाम गठबन्धनका तत्कालीन एमाले उम्मेदवार भूमि त्रिपाठीले ४९ हजार १२१ मत ल्याउँदा कांग्रेसका विश्वप्रसाद अर्यालले २१ हजार ९६८ मत पाएका थिए ।

दुई उम्मेदवारबीचको मतान्तर नै २७ हजार १ सय ५३ थियो ।

पढ्नुहोस् यो पनि :

salt training

कमेन्ट गर्नुहोस्