२१ जेठ २०८३, बिहीबार

हिमालयन भीगन महोत्सव आयोजना गरिँदै, नेपालको पर्यटन क्षेत्रमा टेवा पुर्‍याउने दाबी

हिमालयन भीगन महोत्सव आयोजना गरिँदै, नेपालको पर्यटन क्षेत्रमा टेवा पुर्‍याउने दाबी

भदौ महिनाको अन्तिम सातादेखि असोजको पहिलो सातासम्म शुद्ध शाकाहारीहरूको महोत्सव आयोजना गरिने भएको छ । 

हिमालयन भीगन महोत्सव २०७९ नाम दिइएको उक्त कार्यक्रम लुम्बिनी, काठमाडौं र पोखरामा आयोजना गर्न लागिएको हो । 

महोत्सवका विषयमा जानकारी दिन राजधानीमा सोमवार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको उद्देश्य तथा विस्तृत कार्यक्रम तालिकाको जानकारी दिइएको छ । 

वर्ल्ड भीगन अर्गनाइजेसन नेपालले आयोजना गर्न लागेको कार्यक्रममा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वक्ताहरूका ज्ञान र अनुभव साझा गर्ने, भीगन खानेकुरा बनाउने तरिका सिकाइने, भीगन चलचित्र प्रदर्शनी गरिने र पशु अधिकार सम्बन्धी शिक्षा दिइने आयोजकले जानकारी दिएका छन् । 

लुम्बिनीमा भदौ २८ देखि २९ सम्म पूर्व महोत्सव कार्यक्रम, काठमाडौंमा भदौ ३० देखि असोज १ सम्म मुख्य कार्यक्रम र पोखरामा असोज २ देखि ४ सम्म कार्यक्रम गरिन लागिएको हो । 

पत्रकार सम्मेलनमा वर्ल्ड भीगन अर्गनाइजेसन नेपालका महासचिव अजित थापाले महोत्सवका विषयमा स्पष्ट पारेका थिए । भीगन पर्यटकहरूको संख्या बढ्न थालेकाले नेपाललाई हिमालको देशका रूपमा चिनारीका साथै भीगन केन्द्रका रूपमा पनि विकसित गर्ने लक्ष्य महोत्सवले लिएको उनले बताए । 

पत्रकार सम्मेलनमा पर्यटन व्यवसायीहरूको पनि सहभागिता थियो । उनीहरूले यस्तो किसिमको महोत्सव पर्यटन क्षेत्रका लागि महत्त्वपूर्ण रहेको किनकि आजकल भीगन खाना खोज्ने पर्यटकहरू आउन थालेको बताए । नेपाल आउने पर्यटकहरूलाई ब्रीफिङ दिने क्रममा नेपालको भीगनिजमका बारेमा पनि बताउन सकिने उनीहरूको भनाइ छ । 

वर्ल्ड भीगन अर्गनाइजेसन नेपालका उपाध्यक्ष विष्णु प्रसाद न्यौपाने र सदस्य प्रकाश अजातले पनि भीगन महोत्सवको उद्देश्यका विषयमा स्पष्ट पारेका थिए । 

भीगन भनेको जनावरबाट उत्पादित कुनै पनि खानेकुरा नखाने जीवनशैली हो । वनस्पतिजन्य खानेकुरा खाने र सबै प्राणीहरूप्रति दया माया करुणामय व्यवहार अवलम्बन गर्ने जीवनशैली नै भीगनवाद हो । 

हिमालयन भीगन महोत्सव २०७९ को कार्यक्रम तालिका तलको लिंकमा उपलब्ध छ :

Himalayan Vegan Festival - The biggest plant-based event ever in the Himalaya

salt training

कमेन्ट गर्नुहोस्