
आफूलाई वैकल्पिक शक्तिको रुपमा उभ्याउने प्रयास गरिरहेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत चुनावी तालमेल गर्ने नीति लिएको छ। यसरी तालमेल गर्दा गैरदलीय रुपमा उम्मेदवारी घोषणा गरेका सक्षम स्वतन्त्र नेपाली नागरिकहरु प्राथमिकतामा पर्ने सो वपार्टीले जनाएको छ ।
तर हाल संसदमा रहेका राजनीतिक दलहरूसँग भने चुनावी तालमेल नहुने राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ । तालमेल प्रयोजनका लागि सोमबार बसेको केन्द्रीय समिति बैठकबाट सो पार्टीले केन्द्रीय सदस्य गणेश पराजुलीको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
‘ हाल संसदमा रहेका राजनीतिक दलहरु बाहेकका दलहरु तथा गैरदलीय रुपमा उम्मेदवारी घोषणा गरेका सक्षम स्वतन्त्र नेपाली नागरिकहरूसँग सहकार्य गर्ने प्रयोजनका लागि केन्द्रीय सदस्य गणेश पराजुलीको संयोजकत्वमा वार्ता समिति गठन गर्ने’, सो पार्टीको विज्ञप्तिमा भनिएको छ ।