
कलाकार दीपकराज गिरीले सहकर्मी दीपाश्री निरौलाको जन्मदिनमा ‘ह्यापी बर्थ डे टु मी’ भन्न मन लाग्छ भन्दे शुभकामना दिएका छन् । मंगलवार फेसबुकमा शुभकामना दिँदै उनले आफूसँग सहयात्राको ३० वर्षको विभिन्न आरोह अवरोह स्मरण गरेका छन् ।
उनले दीपासँग सहकार्यको शुरुआतमा रेडियो नेपालमा सञ्चालन गरेको लोकप्रिय कार्यक्रम रामविलास धनियाँदेखि टेलिभिजन र ठूलो पर्दाको सिनेमासम्मको यात्रा स्मरणीय रहेको बताएका छन् । उनले आफ्नो सफलता र उपलब्धीमा दीपाको नाम कुँदिएको बताएका छन् ।
उनले दीपालाई शुभकामना दिन फेसबुकमा लेखेको सन्देश
हरेक वर्ष झैं आजको दिन मलाई कसैसँग शब्दहरू सापटी माग्न मन लाग्छ
किनकि मेरा स्मरणमा रहेका शब्दहरूले तिम्रो गुणगानको भारी बोक्न सक्दैनन् !
मेरा हातमा रहेका हरेक उपलब्धिहरूमा तिम्रो नाम कुँदिएको छ
हेर्दा हेर्दै ३० वर्ष पनि बितेछ !
तिमि धनियाँ बनेर आएकी थियौ र त
रामबिलास घर–घरमा चर्चित बन्न पुगेको थियो !
टेलिभिजनको सानो पर्दा हुँदै सिनेमासम्मको कठिन यात्रामा तिमी थियौ !
मजस्तो अव्यवहारिक मानिसलाई जीवन सिकाउने तिमी थियौ
आफ्नो उपलब्धिमा भन्दा मेरो प्राप्तिमा खुशी हुने मान्छे पनि तिमि थियौ !!
समाजका तीता प्रश्नहरूको पीडालाई झेलेर लगातार साथ दिने पनि त तिमी नै थियौ !!
यो तिमि भन्ने शब्द नभाको भए म भन्ने शब्दको के अस्तित्व हुन्थ्यो र ?
त्यसैले आजको तिम्रो जन्मदिन तिम्रो होइन, मेरो जस्तो लाग्छ
ह्याप्पी बर्थ डे टू यू होइन टू मी भन्न मन लाग्छ
आफ्नो आँखामा आँसुको भारी बोकेर अरूको आँशु पुछ्ने
यस्तो अनमोल साथीलाई जन्मदिनको लाखौँ शुभकामना !!!