
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संघीयताभित्र प्रदेश संरचना निर्माण भइसकेपछि विकासको तानाशाहीकरण भएको आरोप लगाएका छन् । मंगलवार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रदेश १ मा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री राईले संघीय मन्त्रालयका मन्त्रीहरूले एउटा प्रदेशको भन्दा ५÷६ गुणा बढी बजेट राखेर केही काम नगरेको आरोप लगाए । उनले संघीय सरकारभन्दा जिल्लामा प्रदेश सरकारले बढी योजना बनाएको दाबी गरे । उनले संघको नेतृत्वले आफैँ अधिकार र बजेट मुठ्याएर प्रदेश सरकार र स्थानीय सरकारलाई निम्छरो बनाई आलोचना गरिरहेको गुनासो गरे ।
पर्याप्त बजेट र अधिकार नदिँदा पनि प्रदेश सरकारको योजना संघीय सरकारको भन्दा बढी रहेको भन्दै उनले प्रदेशमा नै आएर योजना गणना गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिए । मुख्यमन्त्री राईले संघीय सरकारले अधिकार र बजेट पर्याप्त नदिँदा पनि प्रदेशले राम्रो काम गरेको उल्लेख गर्दै अनावश्यक समीक्षा र आलोचना नगर्न चेतावनी दिए ।
मुख्यमन्त्री राईले संघले पैसा र अधिकार दिए विकासका काम कसरी हुन्छन् भनेर देखाउने योग्यता प्रदेशसँग रहेको दाबी गरे । उनले हरेक रूपमा प्रदेश सरकारको आर्थिक अवस्था निम्छरो रहेको बताउँदै प्रदेश सरकारको बजेटले ५ वर्षमा १४ वटा पिच सडक बनाउन नसक्ने गुनासो गरे । उनले संघीयता नै चाहिएको हो भने राष्ट्रिय गौरवका आयोजना बाहेकका योजनाहरूको रकम प्रदेशलाई दिनुपर्ने बताए ।