२३ जेठ २०८३, शनिबार

पाहुनाको आरोप लागेपछि सुन्दरहरैचामा घर बनाउँदै भानुभक्त ढकाल, मतदाता नामावली पनि सारे

पाहुनाको आरोप लागेपछि सुन्दरहरैचामा घर बनाउँदै भानुभक्त ढकाल, मतदाता नामावली पनि सारे

२०७४ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसभन्दा बाम गठबन्धन झन्डै दोब्बर मतले अगाडि थियो । दोब्बर मत बढी भए पनि वाम गठबन्धन तर्फका उम्मेदवार भानुभक्त ढकालले भने जितका लागि निकै मेहनत गर्नु परेको थियो । 

भानुभक्त ढकालले ४२ हजार ४१३ मत ल्याएर विजयी बनेका थिए भने उनलाई कांग्रेसका उम्मेदवार सुनिलकुमार शर्माले ४० हजार ५०६ मतका साथ टक्कर दिएका थिए । यो क्षेत्रमा ढकाल नयाँ उम्मेदवार थिए । उनी प्रत्यक्षतर्फ पहिलोपटक चुनाव लडेका थिए । त्यसभन्दा अगाडि उनी समानुपातिक सांसद बनेका थिए । 

ढकालको गृह जिल्ला तेह्रथुम हो । २०७० मा एमाले तेह्रथुम जिल्ला कमिटीले समानुपातिकतर्फ दुई जनाको नाम सिफारिस गरेको थियो । जिल्लाबाट पूर्वसांसद तेजमान कन्दङ्वा र पूर्व जिल्ला विकास समिति सभापति किशोरचन्द्र दुलालको नाम सिफारिस गरेको थियो । तर, केन्द्रीय कमिटीमा आफै भएका ढकालले अध्यक्ष ओलीसँग राम्रो सम्बन्ध भएको फाइदा उठाउँदै उनी नाम थप्न सफल भए । र संविधानसभा सदस्यसमेत बने । 

२०७४ को निर्वाचनमा भने प्रत्यक्षतर्फ चुनाव लड्न ढकाल मोरङ आएका थिए । मोरङमा आएका उनलाई पाहुना उम्मेदवार भनेर प्रचार गरिएको थियो । प्रतिस्पर्धी कांग्रेसले मात्रै होइन आफ्नै पार्टी एमालेका नेता कार्यकर्ताले पनि ढकाललाई पाहुना उम्मेदवार भन्ने गरेका थिए ।

अघिल्लो पटकको चुनावजस्तै पाहुनाको आरोप नलागोस् भनेर ढकालले सुन्दरहरैचा घर बनाउन थालेका छन् । सुन्दरहरैचा १२ स्थित सुकुना क्याम्पस नजिकै उनले घर बनाइरहेका छन् । अघिल्लो पटक आउँदा उनले दाजुको घरमा बसेर चुनाव प्रचार–प्रसार गरेका थिए । 

२०७४ को मतदानमा आफूले आफैँलाई मतदान नगरी निर्वाचित हुने सांसदसमेत हुन् ढकाल । त्यसबेला उनको मतदाता नामावली तेह्रथुमको थियो । यसपटक भने उनले तेह्रथुमबाट सुन्दरहरैचा १२ मा मतदाता नामावलीसमेत सारेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्