
योगगुरु बाबा रामदेवको पतञ्जलि आयुर्वेद लिमिटेड तीव्र प्रगति गरिरहेको कम्पनी हो । एक वर्षमै यसले अन्तर्राष्ट्रिय कम्पनीहरू आईटीसी, नेस्ले र टाटालाई कडा टक्कर दिएको छ ।

पतञ्जलिले हालै गरेको घोषणाअनुसार कम्पनीको राजस्व दुईगुणा बढेर लगभग १० हजार करोड भारु पुगेको छ । भारतमा हिन्दूस्तान युनिलिभरपछिको दोस्रो ठूलो कम्पनी पतञ्जलि नै हो ।
पतञ्जलिकोे वर्क कल्चर अरू कम्पनीको भन्दा फरक किसिमको छ ।
कम्पनीमा गोडा छुने परम्परा छ । रामदेव पतञ्जलिको क्याम्पसमा आउँदा कर्मचारीहरू काम छोडेर एक पंक्तिमा उभिन्छन् र उनको गोडा छुन्छन् । रामदेवपछिका दोस्रा नम्बरमा रहेका आचार्य बालकृष्णको गोडा पनि छुन्छन् उनीहरू । कम्पनीको ९६ प्रतिशत शेयर बालकृष्णसँग नै छ ।
कम्पनीमा बैठक हुँदा रामदेव अग्लो आसनमा बस्छन् । सीईओदेखि लिएर तल्लो कर्मचारीसम्म जमीनमा बस्छन् । पतञ्जलिको क्याम्पसलाई गुरु–शिष्य परम्परामा हेरिन्छ ।
पतञ्जलिले कुन उत्पादनमा काम गर्नुपर्छ र कम्पनीको इमेज र ब्रान्डिङ कसरी गर्ने फैसला रामदेवले नै गर्छन् ।
त्यसका लागि उनी आँकडा विश्लेषण गर्दैनन्, बरू आफ्नै आँकलन अनुसार फैसला गर्छन् । कम्पनीबाट उत्पादित प्रडक्टमा अन्तिम मोहर लाग्नुअघि उनी आफैं प्रयोग गर्छन् ।
नवभारत टाइम्सबाट