
श्रीलंकाको विश्वविद्यालय अनुदान आयोगले मंगलवार देशका सबै विश्वविद्यालयहरू सेप्टेम्बरदेखि पुनः सञ्चालनमा आउने घोषणा गरेको छ ।
सोमवार राति आयोगका अधिकारीहरू र विश्वविद्यालयका उपकूलपतिहरू बीचको बैठकमा उक्त निर्णय गरिएको आयोगका अध्यक्ष सम्पथ अमरतुङ्गाले बताएका छन् ।
अमरतुङ्गाले कोभिड–१९ महामारीका कारण सन् २०२० मा विश्वविद्यालय बन्द भएको र अनलाइन कक्षा सञ्चालन भइरहेको बताएका हुन् ।
‘भौतिकरूपमा कक्षा र अतिरिक्त क्रियाकलाप शुरू गर्ने समय आएको छ । विद्यार्थीहरूले पनि सोही कुराको माग गर्दै आएका छन्,’ उनले भने ।
अमरतुङ्गाका अनुसार लगभग सबै विद्यार्थीहरूले कोरोना विरुद्धको खोपको २ डोज प्राप्त गरिसकेका छन् ।
विश्वविद्यालयका उपकूलपतिहरूले पनि महामारी अघि शैक्षिक र अतिरिक्त–पाठ्यक्रम गतिविधिहरू आयोजना गर्न सकिने कुरामा सहमत भएका छन् ।
प्रत्यक्ष कक्षामा उपस्थित हुन नसक्ने विद्यार्थीहरूले अनलाइनमार्फत जोडिन सक्ने पनि अमरतुङ्गाले बताएका छन् ।