०६ साउन २०८३, बुधबार
सरसर्ती २४ घण्टा

पूर्वराजाका आफन्तमाथि भ्रष्टाचार मुद्दादेखि कोरियामा नेपालीलाई थप रोजगारीसम्म

पूर्वराजाका आफन्तमाथि भ्रष्टाचार मुद्दादेखि कोरियामा नेपालीलाई थप रोजगारीसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
पूर्वराजा ज्ञानेन्द्र शाहका भिनाजु कुमार खड्ग विक्रम शाह तथा भान्जा दिवश विक्रम शाहसहित ३१ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । अख्तियारले २९ करोड ८८ लाख ८१ हजार ४३७ रुपैयाँ बिगो कायम गरी मुद्दा दर्ता गरेको हो । जनकपुरको पिडारी चोकस्थित र रत्नसागर मन्दिरको सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गरी सार्वजनिक भोगचलन गरेको भन्दै अख्तियारले विशेष अदालतमा बिहीवार मुद्दा दर्ता गरेको हो । सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता कायम, नाप नक्सा, हालसाविक गर्ने गराउने गरी पत्राचार गर्ने, निर्णय गर्ने मालपोत तथा नापी कार्यालयका तत्कालीन प्रमुखहरू सहित ३१ जना विरुद्ध मुद्दा दर्ता गरिएको हो ।
००००
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा ८७ वटा राजनीतिक दल सहभागी हुने भएका छन् । निर्वाचन आयोगले निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि तोकिएको समयावधिभित्र ति दल दल दर्ता हुन आएको जानकारी दिएको छ । 

बिहीवार आयोगले जारी गरेको विज्ञप्तिमा प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ८० वटा दल दर्ताको निवेदन परेको र एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि ४ वटा निवेदन गरी जम्मा ८४ वटा  निवेदन प्राप्त गरेको थियो । 

जसमध्ये आयोगले निवेदनलगायत अन्य कागजातहरूको अध्ययन र जाँचबुझ गर्दा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा ७९ वटा दलका निर्वाचन चिह्नहरूमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ८७ कायम गरेको छ ।
००००
सत्ता गठबन्धनबीच मंसिर ४ गतेको आम निर्वाचनमा प्रतिनिधिसभातर्फ सिट बाँडफाँटका लागि सहमति जुटाउन कार्यदलमा प्रयास जारी छ । यही क्रममा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जसपा र जनमोर्चाले सिटबारे आ–आफ्नो दाबी प्रस्तुत गरेका छन् । 
 कार्यदलका सदस्य हिमलाल पुरीले दलहरूबाट प्रतिनिधिसभातर्फ आ–आफ्नो दाबी प्रस्तुत भएको र यसबारे थप छलफल गरेर निर्णयमा पुगिने बताए । उनका अनुसार बैठकमा काँग्रेसले प्रतिनिधिसभाका १६५ सिटमध्ये १०० सिटमा दाबी प्रस्तुत गरेको छ । यस्तै माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चा २ सिटमा दाबी गरेको छ ।
००००
नेकपा एमालेले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मापदण्ड तय गरेको छ । 

ललितपुरको च्यासलस्थित दोस्रो पोलिटब्युरो बैठकले भोलि भदौ १० र भदौ ११ बस्ने केन्द्रीय कमिटीको बैठकको ११ वटा एजेण्डा तय गर्दै निर्वाचनका लागि उम्मेदवारको छनोट गर्ने प्रक्रिया र मापदण्ड तय गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
००००
विराटनगर महानगरपालिकाले अघिल्ला पदाधिकारीलाई दोष देखाउँदै श्वेतपत्र जारी गरेको छ । मेयर नागेश कोइरालाले अघिल्ला जनप्रतिनिधिहरूलाई ‘दोषी करार’ गर्दै श्वेतपत्र जारी गरेका हुन् । 
श्वेतपत्रमा अघिल्लो नेतृत्वले नियमविपरीत कर्मचारी भर्ना गरेर महानगरपालिकालाई आर्थिक भारमा पारेको जनाइएको छ । ‘कार्यालयको अधिकार क्षेत्र, कार्यबोझ, राजस्व क्षमता र खर्चको आकारलाई ध्यानमा राखी संगठन तथा व्यवस्थापन सर्भेक्षणका आधारमा नगरसभाबाट स्वीकृत दरबन्दीमा कर्मचारी भर्ना गर्नुपर्नेमा सोको अवलम्बन नगरी कर्मचारी भर्ना गरेको’ श्वेतपत्रमा उल्लेख छ ।
००००
रोजगार अनुमति प्रणाली मार्फत दक्षिण कोरियामा उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा बढी नेपालीले रोजगारी पाउने भएका छन् । 
एचआरडी कोरियाले उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा आठ हजार बढी नेपालीलाई भाषा परीक्षामा उत्तीर्ण गराउने जनाएको छ । उत्पादनतर्फको पहिलो र दोस्रो चरणको भाषा परीक्षाबाट उत्तीर्ण हुनेको सङ्ख्यामा आठ हजार थप गरी रोस्टरमा सूचीकृत गर्न एचआरडी कोरियाबाट पत्र प्राप्त भएको वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले जनाएको छ ।

यसअघि उत्पादन क्षेत्रतर्फ पहिलो चरणको परीक्षाबाट तीन हजार एक सय ३० र दोस्रो चरणको परीक्षाबाट तीन हजार सात सय ८३ गरी कूल छ हजार नौ सय १३ जनालाई उत्तीर्ण गराउने जनाएको थियो । उत्पादनतर्फको परीक्षामा उत्तीर्ण गराउनेको सङ्ख्या थपिएसँगै पहिलो चरणको परीक्षाबाट छ हजार सात सय ५२ र दोस्रो चरणबाट आठ हजार एक सय ६१ गरी कूल १४ हजार नौ सय १३ जना उत्तीर्ण हुनेछन् । यसपटक उत्पादनतर्फ ३३ हजार नौ सय र कृषितर्फ नौ हजारले फाराम भरेका थिए ।
००००
नेपालको बिजुली बङ्गलादेश लैजानका लागि भारतीय संरचना र पूर्वाधार प्रयोग गर्नुपर्ने भएकाले सम्बन्धित पक्षबीच त्रिपक्षीय छलफल गर्ने निर्णय भएको छ । 
बिहीबार राजधानीमा सम्पन्न नेपाल र बङ्गलादेशका ऊर्जा सचिवस्तरीय बैठकले भारतीय भूमि र संरचना प्रयोगका सम्बन्धमा आवश्यक सहमति जुटाउनका लागि त्रिपक्षीय छलफल गर्ने सहमति भएको हो । त्यसका लागि पनि दुवै पक्षले पहल गर्ने सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रसाद मधुप्रसाद भेटुवालले जानकारी दिए ।
००००
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सम्पूर्ण पार्टी पङ्क्तिलाई साथमा लिएर निर्वाचनमा होमिन निर्देशन दिएका छन्।

गण्डकी प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरु र प्रदेश समितिका पदाधिकारीहरुको पोखरामा बसेको संयुुक्त बैठकमा उनले माओवादीले गरेका राम्रा कामको  जनतामा प्रचार नभएको र विरोधीहरुले भ्रम सिर्जना गरेकाले त्यसलाई चिर्ने गरी चुनावको तयारीमा लाग्न निर्देशन दिए ।
००००
काठमाडौं महानगरपालिकाले बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनाधिकृत संरचनामा बिहीवार डोजर चलाएको छ । बिहीवार बिहानै मेयर बालेन्द्र साह  अल्फाबिटामा अनुमतिबेगर बनाइएको संरचना हटाउन पुगेका थिए ।
 अल्फाबिटाले नक्सामा पार्किङ भनेर उल्लेख गरेको बेसमेन्टमा अनाधिकृत संरचना बनाएर फार्मेसी सञ्चालन गरिरहेको थियो ।
००००
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सैनिक अधिकारीहरूसँग किन भेट गरेको भनी प्रश्न गरेका छन् । बिहीवार पार्टी पुनर्गठनको एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा उनले राष्ट्रपतिले सैनिक अधिकारीहरूसँग भेट गर्नुले शंका जन्माएको बताए ।
००००
पछिल्लो २४ घण्टामा मुलुकभर ४४४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४ हजार ९५४ नमूना परीक्षण गर्दा ४४४ जनामा संक्रमण पुष्टि भएको हो । 
मन्त्रालयका अनुसार १ हजार ९९६ नमूना पीसीआर विधिबाट परीक्षण गर्दा २११ जना र २ हजार ९५८ नमूना एण्टीजेन विधिबाट परीक्षण गर्दा २३३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ४ हजार १९९ पुगेको छ ।
००००
पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले गोविन्दप्रसाद चौधरीलाई सहअध्यक्ष मनोनित गरेको छ । उक्त पार्टीको हालै सम्पन्न केन्द्रीय कार्यकारीणी समितिको बैठकले चौधरीलाई सहअध्यक्ष पदमा मनोनित गरेको हो । बैठकले केन्द्रीय कार्यकारिणी समितिमा ९८ जनालाई मनोनयन गरेको छ ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीवार नेप्से परिसूचक १८ दशमलब ३० अंकले ओरालो लागेर दुई हजार ३९ दशमलव ५४ मा सीमित भएको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक तीन दशमलव ७८ अंकले ओरालो लागेर तीन सय ९४ दशमलव ५१ मा सीमित भएको छ । कुल दुई सय १९ कम्पनीको ४२ लाख ३४ हजार एक सय १७ कित्ता शेयर रु एक अर्ब ७१ करोड ७४ लाख ३६ हजार सात सय ४१ मूल्यमा खरिद बिक्री भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्