शुरूमा तपाईंलाई यो लाइगर भनेको के हो भन्ने लाग्याहोला । सिंह (लायन) र बघिनी (टाइगर) को सम्पर्क भएपछि जन्मिने प्राणीलाई लाइगर भनिन्छ । बुझ्नुभयो त ? नबुझिए भैगो ।
खैर फिल्मतिर फर्कौं । दक्षिण भारतीय सुपरस्टार विजय देवरकोन्डाको यो फिल्मको निर्देशन पुरी जगन्नाथले गरेका हुन् ।
एकजना किकबक्सर छन् (विजय) । बक्सर कट्टु लगाएका र मांसल छाती भएका उनका केही कुराहरू विशिष्ट छन् । जस्तो, उनकी आमा (रम्या कृष्णन अझैसम्म पनि बाहुबलीको ह्याङमा चिच्याउँछिन्) । अनि उनमा अड्किएर बोल्ने समस्या छ ।
आमा मदर इन्डिया पाराकी छन्, आगो ओकल्ने । लाइगरलाई बोल्न समस्या भए पनि किकबक्सिङको क्षेत्रमा उनले अनेकौं उपाधि जितिसकेका छन् । उनी मुक्का हान्छन्, लात पनि बजाउँछन्, विपक्षीलाई छल्छन् र आक्रमण गर्छन् । एउटा ठूलै खेलको उनी तयारी गरिरहेका छन् । त्यसले उनी र उनका गुरु (रोनित रोय) लाई विश्व मञ्चमा भारतको शान बढाउन मद्दत गर्नेछ ।
लु, कथा मोटामोटी यत्ति नै हो । यसलाई चिरफार गरी हेर्ने हो भने यसमा जमानादेखि चलिआएको आफ्नो छोरोलाई माया गर्ने कडा आमा अनि छाती पिटेर खेलमार्फत देशभक्तिको गाथा गाउने विषय भेटिन्छ । यिनै बासी विषयहरू समातेर फिल्मले हेर्नै अप्ठ्यारो लाग्नै कैयौं दृश्य बुनेको छ ।
फिल्मका सबै पात्रले अड्किएर बोल्ने प्रमुख पात्रको मजाक उडाउँछन् । अनि ती पात्रकी प्रेमिका (अनन्या पाण्डे) हालैको समयमा हिन्दी सिनेमामा देखिएकीमध्ये सबभन्दा खोक्रो महिला पात्र हुन् । अनि मुख्य पात्रकी आमा छोरोभन्दा बढी चिच्याउँछिन् ।
आजकलका दर्शकले यस्तो कूडाकर्कटलाई मनोरञ्जनका नाममा स्वीकार गर्छन् भन्ने कुरा फिल्म निर्माताहरूको मनमा आउनु नै आश्चर्यजनक छ । हैन, तिनीहरू कुन संसारमा बाँचिरहेका छन् ?
मलाई गलत नठान्नुहोला । मसला फिल्म मिलाएर बनाएको छ भने हेर्न मज्जा आउँछ । तर यस फिल्ममा केही पनि नयाँ वा ताजा मसला नै छैन । मिक्स्ड मार्सल आर्ट्स, गुर्रगुर्र गर्ने बक्सरहरू, कठोर प्रशिक्षकहरू अनि सबौलाई एक मुक्कामा धूलोपीठो बनाउने नायक– यी सबै कुरा त हामीले वर्षौंदेखि हेर्दै आइरहेका छौं त ।
यस फिल्मको बकवास पटकथामा सबैखालका हावादारी घटनाक्रम भेटिन्छन् । घटनाको बुनाइ पनि दयनीय छ । अड्किएर बोल्ने व्यक्तिको मजाक उडाइएको निन्दनीय छ भने नायिकाको चरित्रचित्रण लिंगभेदी मात्र नभई ढुंगेयुगको पालाको छ । सद्दे दिमाग भएको मान्छेले नारी पात्रलाई यस्तो संवाद बोल्न लगाउँछ भन्या– ‘केटाहरू, केटीलाई तलबाट माथितिर हेर्ने गर ।’ अनि यसो भन्दा नायिकाले मुस्कान दिएको ! हरे शिव ! हैन, यिनीहरूलाई स्त्रीद्वेष भनेको के हो थाहा छैन ?
रोनित रोयलाई यस फिल्ममा देखेर रुन मन लाग्छ । राम्रो अवसर पाएर उनी अभिनयकला देखाउन सक्ने व्यक्ति हुन् । अस्ति भर्खर आएको फिल्म शमशेरामा पनि उनको प्रतिभा खेर फालिएको थियो । यस फिल्ममा उनी विद्यार्थीको हित सोच्ने प्रतिबद्ध गुरुको भूमिकामा छन् तर त्यो अत्यन्तै थोत्रो चरित्रचित्रण हो ।
चंकी पाण्डेको त के कुरा गर्नु ? उनी सन् १९९० को दशकका खराब फिल्महरूमै ठीक थिए । यहाँ के गरिरहेका हुन् ? यी भद्र पुरुषहरूलाई आफ्नो प्रतिभाअनुसारको भूमिका देओ न कसैले ।
बक्सिङ रिङमा देखिने द्वन्द्व मात्र ध्यान दिएर खिचिएको छ । तर त्यही द्वन्द्व पनि नयाँ लाग्दैन । अरू द्वन्द्वहरू चाहिँ नायकको क्षमता देखाउनलाई कथामा जबर्जस्ती हालिएको छ । एकचोटि त नायकले इजरायली मार्सल आर्ट क्राभ मागामा पोख्त महिलाहरूसँग लडेको देखाइन्छ (हत्तेरिका) । अर्को दृश्यमा नायक र्यान्चमा पुग्छन् जहाँ उनी आफ्ना आदर्श पात्र मार्क एन्डरसनसँग लड्न पाउँछन् ।
विजय देवरकोन्डा अहिले पनि अर्जुन रेड्डीकै भूमिका वरपर छन् । उनलाई हेर्दा मज्जै आउँछ । तर उनको फाइटलाई एकजना पात्रले पैसा वसूल भनेको चाहिँ अति नै हो । आफैंलाई आफैंलाई प्रशंसा गर्ने ?
फिल्म : लाइगर
कलाकार : विजय देवरकोन्डा, अनन्या पाण्डे, रम्या कृष्णन, रोनित रोय, चंकी पाण्डे
निर्देशक : पुरी जगन्नाथ
विधा : याक्सन
रेटिङ : ५ मा १ तारा
दी इन्डियन एक्सप्रेसमा प्रकाशित शुभ्रा गुप्ताको समीक्षा