०९ साउन २०८३, शनिबार

विद्युत प्राधिकरण र सशस्त्र प्रहरीबीच चार्जिङ स्टेशन निर्माणबारे सम्झौता, सशस्त्र क्याम्पमा इन्डक्सन चुल्हो

विद्युत प्राधिकरण र सशस्त्र प्रहरीबीच चार्जिङ स्टेशन निर्माणबारे सम्झौता, सशस्त्र क्याम्पमा इन्डक्सन चुल्हो

नेपाल विद्युत् प्राधिकरण र सशस्त्र प्रहरी बल नेपालबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा सञ्चालन एवं सशस्त्र प्रहरी बल नेपालका विभिन्न इकाईहरूमा इन्डक्सन चुलोको प्रयोगमा सघाउ पु¥याउने सम्बन्धी सम्झौता भएको छ । 

गैर नवीकरणीय ऊर्जा घटाई नवीकरणीय ऊर्जा खपत बढाउने उद्देश्यले सो सम्झौता गरिएको हो । 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा शुक्रवार आयोजित कार्यक्रममा सो सम्झौतामा हस्ताक्षर गरे । 

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले स्मार्ट चार्जिङको अवधारणाअनुसार सशस्त्र प्रहरी बल नेपालसँग सम्झौता भएको उल्लेख गर्दै ग्यासको खपत घटाउँदै विद्युत् उपयोगलाई बढाउँदै लैजाने लक्ष्यअनुरुप प्राधिकरणले काम गरिरहेको बताए । 

सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले यस प्रकारको सम्झौता प्राधिकरणसँग मिलेर काम गर्ने उपयुक्त अवसर भएको बताउँदै आगामी दिनमा समेत समन्वय र सहकार्य निरन्तर रहिरहने विश्वास व्यक्त गरे । सम्झौताअनुसार सशस्त्र प्रहरी बलका हाल सञ्चालित २ वटा पेट्रोल पम्प तथा अन्य उपयुक्त स्थानहरुमा गरी कूल १७ स्थानमा चार्जिङ स्टेशन निर्माण गरिनेछ ।

सो विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माणमा लाग्ने सम्पूर्ण खर्च नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने छ भने त्यसको सुरक्षा तथा संचालन सशस्त्र प्रहरी बल नेपालले गर्ने सम्झौतामा उल्लेख छ । 

इन्डक्सन चुलो प्रयोगमा ल्याउन पहिलो चरणमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सबै बाहिनी मुख्यालय, तालिम शिक्षालय, गण र दोस्रो चरणमा सबै गुल्महरूको लागि प्राधिकरणबाट ट्रान्सफर्मर जडानको काम समेत हुनेछ ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभाग प्रमुख श्रीराम पोख्रेल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायदत्त पौडेल र चन्द्रप्रकाश गौतमलगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरू तथा नेपाल विद्युत् प्राधिकरणका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्