०५ साउन २०८३, मंगलबार

महँगा ब्राण्डका नक्कली मदिरा उत्पादन गर्ने कारखानामा प्रहरीको छापा, ५ जना पक्राउ

महँगा ब्राण्डका नक्कली मदिरा उत्पादन गर्ने कारखानामा प्रहरीको छापा,  ५ जना पक्राउ

प्रहरीले काठमाडौं उपत्यकाका बार तथा रेस्टुरेन्टमा महँगा ब्राण्डका नक्कली मदिरा उत्पादन गरी बेच्ने कारखानामा छापा मारेको छ । विभिन्न ब्राण्डका नाममा नक्कली मदिरा उत्पादन गरेर बिक्री गर्ने गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले दुईवटा कारखानमा छापा मारेको हो । 

प्रहरीले नक्कली मदिरा बनाउने काममा संलग्न पाँचजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा दोलखाको कालिञ्चोक गाउँपालिका–१ घर भई काठमाडौंको कोटेश्वरमा बस्दै आएका २४ वर्षीय हरि वली, भिमेश्वर नगरपालिका–८ घर भई भक्तपुरको चाँगुनारायण बस्ने ३९ वर्षीय भगवान बस्नेत, कालिञ्चोक गाउँपालिका–४ घर भई महाबौद्ध बस्ने २० वर्षीय विशाल वली, रामेछापको खाँडादेवी गाउँपालिका–२ घर भई हाल काठमाडौंको मूलपानी बस्ने २७ वर्षीय मनोझ खत्री र रामेछापकै खाँडादेवी गाउँपालिका–९ घर भई हाल ठमेल बस्ने २७ वर्षीय गोपी श्रेष्ठ छन् ।

प्रहरीका अनुसार सुरुमा कोटेश्वरस्थित डेराबाट वलीलाई पक्राउ गरेर सोधपुछ गर्ने क्रममा अन्य व्यक्तिको पनि संलग्नता देखिएको थियो । 

उनीहरू उत्पादन गरेको नक्कली मदिरा उपत्यकाका विभिन्न नाइट क्लब, लाउन्ज, डिस्को, डिलर, दोहोरी, डान्सबार लगायतमा पठाइने गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । 

काठमाडौंको कोटेश्वरसहितका स्थानमा विभिन्न ब्राण्डका नक्कली रक्सीको बिक्री वितरण हुने गरेको सूचनाका आधारमा छापा मारिएको थियो । त्यसक्रममा कोटेश्वरस्थित हरि वलीको डेरा र चाँगुनारायण–२, दुवाकोटमा सञ्चालित दुईवटा कारखानामा नक्कली मदिरा उत्पादन गर्ने गरिएको प्रहरीले फेला पारेका छन् । ति स्थानबाट नक्कली मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थसहित महँगा ब्राण्डका मदिराका खाली बोतहरू ठूलो परिमाणमा फेला परेको छ । 

ति स्थानबाट डबल ब्ल्याक, ब्ल्याक लेबल, रेड लेबल, ज्याक डेनिस, ८८४८ भोड्का, सिग्नेचर, ओल्ड दरबार, गोल्डेन ओक, हाईल्याण्डर भोड्का, ब्लू डाइमेन्ड लगायतका ब्राण्डका नक्कली रक्सी बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले रक्सी बनाउन प्रयोग हुने कच्चा पदार्थसहितको बाल्टिन, जार, सोली लगायतका सामग्री पनि बरामद गरेको छ । 

हेर्नुहोस् प्रहरीको विज्ञप्ति

salt training

कमेन्ट गर्नुहोस्