०७ असार २०८३, आइतबार

आज बुवाको मुख हेर्ने दिन, घरघरमा कुश भित्र्याइँदै

आज बुवाको मुख हेर्ने दिन, घरघरमा कुश भित्र्याइँदै

बुवाप्रति सम्मान र भक्ति प्रकट गर्दै शनिवार बुवाको मुख हेर्ने दिन मनाइँदैछ ।

अन्धकार रूपी संसारमा ज्ञान एवं कर्मको दिव्य ज्योति प्रदान गरेर संसारमा अघि बढ्न सिकाउने गुरूका रूपमा रहेका पीतालाई छोराछोरीले मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडा लगायतका विभिन्न वस्तुहरू दिँदै बुवाको सम्मान गर्ने गर्दछन् ।

भाद्र कृष्ण औशी कुशे औशीका दिन आफ्ना बुवाको सम्मान गरिने परम्परा छ । यो दिन बुवा हुनेहरूले आफ्ना बुवाको योगदानको कदर गर्दै सम्मान गर्ने गर्छन् । बुवालाई पिता, बाबा, तात ड्याडी, पापा आदि शब्दले पनि चिनिन्छ । यो दिनलाई अर्को शब्दमा पितृऔंशी, पितृ दिवस, गोर्कण औंशी, कुशे औंशी आदि पनि भनिन्छ । 

आमापछिको द्वितीय गुरुका रूपमा शास्त्रले बुवालाई वर्णन गरेको छ । महत्त्वपूर्ण धार्मिक कार्य गर्नुअघि पनि पितृकै स्मरण गर्ने चलन छ । पितालाई संरक्षण गर्ने, रक्षा गर्ने र पालनपोषण गर्ने चरित्रका रूपमा शास्त्रमा उल्लेख छ ।

औंशीका दिन आफूलाई कर्म दिने बुवाको मुख हेर्न छोराछोरीहरू बुवा भएको ठाउँमा पुग्ने गरेका छन् । यसरी बुवालाई भेट्दा आफ्नो क्षमता अनुसार मिठाई, लड्डु तथा विभिन्न खाद्यपदार्थ खुवाउने चलन छ । पीता जीवित हुनेहरूले पितालाई मीठामीठा परिकार बनाएर खुवाउँछन्, लुगाफाटो तथा अन्य विविध उपहार दिएर पीतालाई खुशी बनाउँछन् ।

विवाह भएका महिलाहरूले आफ्ना माइतमा गएर बुवाको मुख हेरी आर्शिवाद लिने गरेका छन् । घरमा रहेकाले बुवालाई भेटेरै आशिर्वाद लिँदैछन् ।

पछिल्लो समय आफ्ना पितालाई तिरस्कार गर्ने, पिताको मूल्यलाई महत्त्व नदिने, घरबाट निस्कन बाध्य पार्ने लगायतका क्रियाकलाप पनि भइरहेका छन् । यसैगरी औंशीका दिन बुवा नहुनेले ब्राह्मणलाई सिदा दान पनि गर्दैछन् । हिन्दू धर्म परम्परामा जल दान र अन्न दानको विशेष महत्त्व रहेको हुन्छ ।

देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश औंशीकै दिन घरघरमा भित्र्याइँदैछ । हरेक वर्षको भाद्र कृष्णऔंशीका दिन मनाइने कुशे औंशीका दिन ब्राह्मणद्वारा विधिपूर्वक कुश काट्ने गरिन्छ । यस दिन ब्राह्मणद्वारा काटिएको कुशलाई घरमै राख्ने र आफ्ना जजमान कहाँ लगिदिने चलन छ । त्यही कुश वर्षभरि गरिने देव तथा पितृ कार्यमा प्रयोग गरिने प्रचलन छ ।

कुश घरमा राख्नाले परिवारको कल्याण हुने, सुख शान्ति मिल्ने धार्मिक विश्वास छ । नुहाँउदा, जप स्नान गर्दा, दानगर्दा, पाठपूजा, पितृकार्यमा समेत प्रयोग हुने बहुपयोगी कुशलाई हिन्दू धर्मावलम्बीले महत्त्वका साथ हेर्दछन् । 

कमेन्ट गर्नुहोस्