
भर्खर २५ वर्ष मात्रै पुगेकी स्नेहा स्नातकसम्म आईटी र म्यानेजमेन्टको अध्ययन गरेर थप अध्ययनका लागि अस्ट्रेलिया जाने तयारीमा थिइन् । उनका दाइ अस्ट्रेलियामा नै थप अध्ययन गरिरहेकाले उनले पनि त्यहीँबाट थप अध्ययन गर्ने जमर्काे गरेकी थिइन् ।
छोरीलाई अस्ट्रेलिया पठाउनका लागि बुवाआमाले पनि सम्पूर्ण तयारी गरेका थिए । उतिबेला छोरीले अस्ट्रेलियामा थप अध्ययन गरेर जागिर खाओस् भन्ने इच्छा रहेको बुवा विष्णु श्रेष्ठले बताए ।
छोरीका लागि चाहिने सम्पूर्ण खर्चको जोहो गरेर प्रक्रिया अन्तिम चरणमा पुगेपछि नेपालमा कोरोनाको लहर शुरू भयो । कोरोनासँग कसैको केही चलेन । कोरोना शुरू भएपछि उनी थप अध्ययनका लागि अस्ट्रेलिया जान सकिनन् ।
कोरोनाका कारण नेपालको अर्थतन्त्रमा पनि निकै असर गर्यो । विदेशमा गएर अध्ययन गर्ने सम्भावना तत्काल नभएपछि बुवाआमाले पढाइका लागि भनेर जम्मा गरिदिएको पैसा व्यवसायमा लगाउने सोच उनले बनाइन् । जागिर खाए पनि, व्यवसाय गरे पनि जीवन सहज बनाउने उद्देश्य हो भनेर व्यवसाय गर्ने योजना बनाएको उनले बताइन् ।
उनले जन्मथलोलाई नै कर्मथलो बनाउने योजना अगाडि बढाइन् । धनकुटा जिल्लाको साँघुरीगढी गाउँपालिकामा पर्ने भेडेटार १ नम्बर प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य हो । तराईमा अत्यधिक गर्मी बढेका बेला दैनिक हजारौंको संख्यामा आन्तरिक पर्यटक त्यहाँ पुग्छन् भने बाह्य पर्यटक पनि ५०० जनाको हाराहारीमा पुग्छन् । आफ्नो भविष्य यस्तै ठाउँमा बन्छ भन्ने लागेर जन्मथलोलाई नै कर्मथलो बनाएको उनले बताइन् ।
बुवाआमासँग नेपालमै पढ्दै व्यवसाय सञ्चालन गर्ने योजना उनले सुनाइन् । आफू पनि व्यावसायिक भएका कारण बुवाआमाले सहयोग गर्ने वाचा दिए ।
छोराछोरीलाई जागिरे बनाउने भन्ने बुवाआमाको योजना थियो तर छोरीले व्यवसायी बन्छु भनेपछि खुशी भएर सहयोग गरेको बुवा विष्णुले बताए ।

बुवाआमाले आफ्नै घरमा होटल सञ्चालन गरेका छन् भने स्नेहाले भाडामा घर लिएर संरचना बनाएकी छन् । १ करोड रुपैयाँको लगानीमा होटल सञ्चालन गरेको स्नेहाले बताइन् । होटलको नाम हो – नेपालय बुटिक ।
बुवाआमाको होटलमा १२ जनाले रोजगारी पाएका छन् भने उनको होटलमा १५ जनाले रोजगारी पाएका छन् । १२ हजारदेखि ३५ हजार रुपैयाँसम्म कर्मचारीलाई तलब दिने गरेको उनले बताइन् । कर्मचारीसँग उनी पनि काममा खट्छिन् ।

‘आन्तरिक र बाह्य पर्यटकका लागि लक्षित गरेर होटल सञ्चालनमा ल्याएकी छु । मेरो लक्ष्य भनेको यहाँ आउनेलाई बास बसाउने र खुवाउने मात्रै छैन, भेडेटारमा पुगेपछि पर्यटनको प्याकेज पाइन्छ भनेर बनाउने छ । बाह्य पर्यटक भारतीय धेरै आउँछन् । उनीहरू एक रातभन्दा बस्दैनन् तर उनीहरूलाई प्याकेज बनाइदियो भने उनीहरू २–४ दिन यतै रमाउन सक्छन्,’ उनले भनिन् ।
भेडेटारमा विशेषगरी भारतीय पर्यटक बढी आउने गरेका छन् । पहिलोपटक होटल सम्हालिरहेकी स्नेहाको परिवार भने पहिलादेखि नै यो व्यवसायमा थियो । उनका बुवाआमा दुवै जना होटल व्यवसायी हुन् । भेडेटारकै पहिलो होटल सञ्चालक समेत हुन् विष्णु र आमा शान्तिला ।
आजभन्दा २९ वर्षअघि २०५० सालमा भेडेटारमा आउने पर्यटकलाई बास बस्ने गरी श्रेष्ठ दम्पतीले होटल सञ्चालन गरेका थिए ।
स्नेहाको बाल्यकाल कहिले भारत त कहिले नेपालका विभिन्न भूभागमा बित्यो । उनको बाल्यकाल मावलमै बित्यो । स्नेहाको मावली भारतको सिक्किम हो । नेपालभन्दा भारतमा पढाइ राम्रो हुने भन्दै बुवाआमाले स्नेहालाई मावलमै राखेर पढाएका थिए । उच्च शिक्षा भने उनले काठमाडौंबाट हासिल गरेकी थिइन् । घरमा आएको समयमा बुवाको होटलमा जाने र त्यही काम सिक्ने गर्थिन् उनी । बुवाआमाले पाहुनाको सम्मान र सत्कार गरेको देखेपछि आनन्द आउने गरेको उनले बताइन् ।
बुवाआमाको संस्कार र सीपका कारण केही वर्षपछि आफैं होटल सञ्चालन गर्न सक्छु भन्ने आत्मविश्वास पलाएको उनले बताइन् । ‘अस्ट्रेलिया गएको भए आएर म जागिर खान्थे होला । अरुको अन्डरमा बसेर जागिर खानुपथ्र्याे तर अहिले मैले अरूलाई रोजगारी दिएकी छु,’ उनले भनिन्, ‘मलाई विदेश जान रहर छ तर पढ्न र कमाउन होइन, पर्यटक भएर घुम्न ।’
१ नम्बर प्रदेशका अधिकांश सरकारी कार्यालयका कार्यक्रम उनकै होटलमा हुन्छन्, त्यसले उनलाई अझ होटलमा हौस्याएको छ । सफा र ताजा खानेकुरा भए होटलमा पर्यटक संख्या आफैं बढ्ने उनको भनाइ छ । भेडेटारमै धेरै होटल छन् तर धेरैको रोजाइमा उनकै होटलमा गर्छ ।