१९ असार २०८३, शुक्रबार
स्वरोजगार

कोरोनाले अस्ट्रेलिया जान रोकेपछि होटल व्यवसायमा जमेकी २५ वर्षीया स्नेहा

भदौ ११, २०७९
कोरोनाले अस्ट्रेलिया जान रोकेपछि होटल व्यवसायमा जमेकी २५ वर्षीया स्नेहा

भर्खर २५ वर्ष मात्रै पुगेकी स्नेहा स्नातकसम्म आईटी र म्यानेजमेन्टको अध्ययन गरेर थप अध्ययनका लागि अस्ट्रेलिया जाने तयारीमा थिइन् । उनका दाइ अस्ट्रेलियामा नै थप अध्ययन गरिरहेकाले उनले पनि त्यहीँबाट थप अध्ययन गर्ने जमर्काे गरेकी थिइन् ।

छोरीलाई  अस्ट्रेलिया पठाउनका लागि बुवाआमाले पनि सम्पूर्ण तयारी गरेका थिए । उतिबेला छोरीले अस्ट्रेलियामा थप अध्ययन गरेर जागिर खाओस् भन्ने इच्छा रहेको बुवा विष्णु श्रेष्ठले बताए ।

छोरीका लागि चाहिने सम्पूर्ण खर्चको जोहो गरेर प्रक्रिया अन्तिम चरणमा पुगेपछि नेपालमा कोरोनाको लहर शुरू भयो । कोरोनासँग कसैको केही चलेन । कोरोना शुरू भएपछि उनी थप अध्ययनका लागि अस्ट्रेलिया जान सकिनन् ।

कोरोनाका कारण नेपालको अर्थतन्त्रमा पनि निकै असर गर्‍यो । विदेशमा गएर अध्ययन गर्ने सम्भावना तत्काल नभएपछि बुवाआमाले पढाइका लागि भनेर जम्मा गरिदिएको पैसा व्यवसायमा लगाउने सोच उनले बनाइन् । जागिर खाए पनि, व्यवसाय गरे पनि जीवन सहज बनाउने उद्देश्य हो भनेर व्यवसाय गर्ने योजना बनाएको उनले बताइन् । 

उनले जन्मथलोलाई नै कर्मथलो बनाउने योजना अगाडि बढाइन् । धनकुटा जिल्लाको साँघुरीगढी गाउँपालिकामा पर्ने भेडेटार १ नम्बर प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य हो । तराईमा अत्यधिक गर्मी बढेका बेला दैनिक हजारौंको संख्यामा आन्तरिक पर्यटक त्यहाँ पुग्छन् भने बाह्य पर्यटक पनि ५०० जनाको हाराहारीमा पुग्छन् । आफ्नो भविष्य यस्तै ठाउँमा बन्छ भन्ने लागेर जन्मथलोलाई नै कर्मथलो बनाएको उनले बताइन् ।  

बुवाआमासँग नेपालमै पढ्दै व्यवसाय सञ्चालन गर्ने योजना उनले सुनाइन् । आफू पनि व्यावसायिक भएका कारण बुवाआमाले सहयोग गर्ने वाचा दिए ।

छोराछोरीलाई जागिरे बनाउने भन्ने बुवाआमाको योजना थियो तर छोरीले व्यवसायी बन्छु भनेपछि खुशी भएर सहयोग गरेको बुवा विष्णुले बताए ।

बुवाआमाले आफ्नै घरमा होटल सञ्चालन गरेका छन् भने स्नेहाले भाडामा घर लिएर संरचना बनाएकी छन् । १ करोड रुपैयाँको लगानीमा होटल सञ्चालन गरेको स्नेहाले बताइन् । होटलको नाम हो – नेपालय बुटिक ।

बुवाआमाको होटलमा १२ जनाले रोजगारी पाएका छन् भने उनको होटलमा १५ जनाले रोजगारी पाएका छन् । १२ हजारदेखि ३५ हजार रुपैयाँसम्म कर्मचारीलाई तलब दिने गरेको उनले बताइन् । कर्मचारीसँग उनी पनि काममा खट्छिन् ।

‘आन्तरिक र बाह्य पर्यटकका लागि लक्षित गरेर होटल सञ्चालनमा ल्याएकी छु । मेरो लक्ष्य भनेको यहाँ आउनेलाई बास बसाउने र खुवाउने मात्रै छैन, भेडेटारमा पुगेपछि पर्यटनको प्याकेज पाइन्छ भनेर बनाउने छ । बाह्य पर्यटक भारतीय धेरै आउँछन् । उनीहरू एक रातभन्दा बस्दैनन् तर उनीहरूलाई प्याकेज बनाइदियो भने उनीहरू २–४ दिन यतै रमाउन सक्छन्,’ उनले भनिन् ।

भेडेटारमा विशेषगरी भारतीय पर्यटक बढी आउने गरेका छन् । पहिलोपटक होटल सम्हालिरहेकी स्नेहाको परिवार भने पहिलादेखि नै यो व्यवसायमा थियो । उनका बुवाआमा दुवै जना होटल व्यवसायी  हुन् । भेडेटारकै पहिलो होटल सञ्चालक समेत हुन् विष्णु र आमा शान्तिला । 

आजभन्दा २९ वर्षअघि २०५० सालमा भेडेटारमा आउने पर्यटकलाई बास बस्ने गरी श्रेष्ठ दम्पतीले होटल सञ्चालन गरेका थिए ।

स्नेहाको बाल्यकाल कहिले भारत त कहिले नेपालका विभिन्न भूभागमा बित्यो । उनको बाल्यकाल मावलमै बित्यो । स्नेहाको मावली भारतको सिक्किम हो । नेपालभन्दा भारतमा पढाइ राम्रो हुने भन्दै बुवाआमाले स्नेहालाई मावलमै राखेर पढाएका थिए । उच्च शिक्षा भने उनले काठमाडौंबाट हासिल गरेकी थिइन् । घरमा आएको समयमा बुवाको होटलमा जाने र त्यही काम सिक्ने गर्थिन् उनी । बुवाआमाले पाहुनाको सम्मान र सत्कार गरेको देखेपछि आनन्द आउने गरेको उनले बताइन् ।

बुवाआमाको संस्कार र सीपका कारण केही वर्षपछि आफैं होटल सञ्चालन गर्न सक्छु भन्ने आत्मविश्वास पलाएको उनले बताइन् । ‘अस्ट्रेलिया गएको भए आएर म जागिर खान्थे होला । अरुको अन्डरमा बसेर जागिर खानुपथ्र्याे तर अहिले मैले अरूलाई रोजगारी दिएकी छु,’ उनले भनिन्, ‘मलाई विदेश जान रहर छ तर पढ्न र कमाउन होइन, पर्यटक भएर घुम्न ।’

१ नम्बर प्रदेशका अधिकांश सरकारी कार्यालयका कार्यक्रम उनकै होटलमा हुन्छन्, त्यसले उनलाई अझ होटलमा हौस्याएको छ । सफा र ताजा खानेकुरा भए होटलमा पर्यटक संख्या आफैं बढ्ने उनको भनाइ छ । भेडेटारमै धेरै होटल छन् तर धेरैको रोजाइमा उनकै होटलमा गर्छ । 

salt training

कमेन्ट गर्नुहोस्