
नेकपा एकीकृत समाजवादी धनुषाका अध्यक्ष सोमप्रसाद शर्मासहित नेता कार्यकर्ता एमालेमा फर्किएका छन् । यसअघि एमालेमै रहेका उनीहरू एमाले विभाजनका बेला नेकपा एसमा लागेका थिए । उनीहरू शनिवार एमालेमै फर्किएका हुन् ।
एमाले अध्यक्ष केपी ओलीले शर्मासहितका नेता कार्यकर्तालाई शनिवार पार्टी कार्यालयमा स्वागत गरेका छन् ।
त्यस्तै, ओखलढुंगा जिल्लाका नेकपा माओवादी केन्द्र र नेकपा एसका प्रभावशाली ३७ जना प्रभावशाली नेताहरू एमालेका प्रवेश गरेका छन् । माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य सुजन रुम्दालीसहितका नेता कार्यकर्ताहरू शनिवार एमाले पार्टी कार्यालय च्यासल पुगेर पार्टी प्रवेश गरेका हुन् ।
प्रवेश गर्नेमा ओखलढुंगाका माओवादीका प्रभावशाली नेता तथा जिल्ला कमिटी सदस्य सुजन रुम्दालीसहित ३७ जना रहेको एमाले नेता नानीबाबु बुढाथोकीले जानकारी दिए । नवप्रवेशीहरुले ओखलढुंगामा एमालेको विजयी सुनिश्चितताका लागि थप योगदान गर्ने बताए ।
पार्टी प्रवेश कार्यक्रममा पार्टी पोलिटव्युरो सदस्य बालकृष्ण ढुंगेल, केन्द्रीय सदय तथा सांसद यज्ञराज सुनुवार, केन्द्रीय सदस्य किशोर अधिकारी, प्रदेश सांसद तथा पूर्वमन्त्री अम्बिरबाबु गुरुङलगायतका नेताहरू सहभागी थिए ।