
नेकपा (माओवादी केन्द्र)का नेता शक्तिबहादुर बस्नेतले गठबन्धन दलबीच सबैलाई स्वीकार्य हुने ढंगबाट सिट बाँडफाँट हुने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि सिट बाँडफाँटको बारेमा छलफल चलिरहेको जानकारी दिए ।
उनले सबै गठबन्धनका पार्टीहरूलाई स्वीकार्य हुने गरेर सिट बाँडफाँट हुने दाबी गरेका छन् । नेता बस्नेतले स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने कुरामा पनि समस्या रहेपनि सहमति भएको स्मरण गर्दै बाँडफाँट बारेको आधा समस्या सकिसकेको बताए । उनले सिट बाँडफाँटको समस्या ठूलो नभएको बताएका छन् ।
‘गठबन्धन सिटको बाँडफाँट सबैलाई स्वीकार्य हुने गरेर मिल्छ । स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने कुरामा पनि समस्या थिए, तर छलफलपछि यसको निस्कर्ष निस्किन्छ । आधा समस्या सकिसकेको छ, यो त्यति ठूलो समस्या होइन । जिल्लाका घोषणापत्र पूरा गरेका छौँ’, उनले भने ।