
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपाली कांग्रेसमा नयाँ नेतृत्वको खाँचो रहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
नेता भण्डारीले हरेक पार्टीमा रहेका युवाहरू नेतृत्वमा जाने की नजाने भन्ने दोधारमा रहेको बताए । उनले नेपाली कांग्रेसमा पनि परिवर्तनको खाँचो रहेको बताउँदै अहिले भएका नेतृत्वबाट मुलुक अघि बढ्न नसक्ने दाबी गरे । उनले नेपालको राजनीतिमा केही न केही विकृतिहरू प्रवेश गरिरहेको दाबी गरे ।
नेता भण्डारीले नेपालको राजनीति वर्तमान नेताहरूबाट चल्न नसक्ने भन्दै देश सञ्चालनको लागि नयाँ नेतृत्वको आवश्यक्ता रहेको बताउए । ‘हरेक पार्टीमा नेतृत्व गर्ने युवाहरू छन् । ती सबै युवाहरू टाउको बन्ने की पुच्छर बन्ने भन्ने कुरामा अल्मलिएका छन् । पुच्छर बन्न चाहन्छन्, नेतृत्व लिन चाहन्नन्, जसकारण एउटै व्यक्ति अनुहार हेरिरहनुपर्ने, यो अवस्थाबाट नेपाल सफर गरिरहेको छ’, उनले भने, ‘के वर्तमान नेतृत्वबाट नै मुलुकले निकास पाउँछ ? के वर्तमान नेतृत्वबाट हामी अघि बढ्न सक्छौँ ? मलाई लाग्छ, वर्तमान नेपालको राजनीति वर्तमान नेताहरुबाट चल्न सक्दैन । उहाँहरु सत्ताको केसीमा सफल हुन सक्नुभएन । भोलिका दिनमा उहाँहरुको नेतृत्वबाट यो मुलुक अघि बढ्छ भन्ने लाग्दैन ।’
नेता भण्डारीले सत्ताको स्वार्थको लागि मात्रै गठबन्धन गर्न खोजिएको हो भने त्यो नटिक्ने दाबी पनि गरेका छन् ।