
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेकपा एमालेले मंसिर ४ को आम निर्वाचनपछि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बहुमतको सरकार बनाउने संकल्प गरेको छ । शनिबार सम्पन्न केन्द्रीय समिति बैठकले ओलीको नेतृत्वमा बहुमतको सरकार बनाउने संकल्पका साथ सिंगो पार्टी एकताबद्ध भएर चुनावमा होमिने निर्णय गरेको हो । एमालेले राजनीतिक स्थायित्वका लागि पार्टीको पक्षमा जनादेश दिन पनि आम जनसमुदायमा आह्वान गरेको छ ।
‘बैठकले पार्टी अध्यक्षलाई आगामी निर्वाचनमा भावी प्रधानमन्त्रीको रुपमा अघि सार्दै पार्टीले बहुमत ल्याउन आमनिर्वाचन जाने निर्णय गरेको छ’, प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जारी गरेको विज्ञप्तिमा भनिएको छ । बैठकले ओलीको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गर्दै विभिन्न ६ बुँदे निर्णय गरेको छ ।
जसअनुसार बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ र समानुपातिक उम्मेद्वारको सिफारिस प्रक्रिया र उम्मेदवार छनौट मापदण्ड निर्धारण गरेको छ । यस्तै बैठकले यसअघि सचिवालय बैठकबाट गरिएका निर्णयहरू अनुमोदन पनि गरेको छ । सचिवालयले निर्वाचन घोषणा–पत्र मस्यौदा कार्यदल र केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको थियो । त्यस्तै, विभाग सचिवहरूको मनोनयन र तीन विभाग विस्तार, स्थानीय तह विकास विभागको निर्देशिका र नीति अनुसन्धान प्रतिष्ठानको कार्यविधि, पार्टी प्रवेश गरेकाहरूको व्यवस्थापनको कामसम्बन्धी प्रस्ताव, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय कमिटीमा मनोनयन, छ जना केन्द्रीय सदस्यहरूको जिम्मेवारीमा गरिएको सामान्य हेरफेरलगायतका निर्णय बैठकले अनुमोदन गरेको गुरुङले जानकारी दिए ।
बैठकले भारत प्रवासको कामलाई व्यवस्थित गर्न नियमावली निर्माण गर्ने भएको छ । त्यसका लागि खगराज अधिकारी संयोजक रहेका छन् भने प्रतिष्ठानको कामलाई व्यवस्थित गर्न पनि एक कार्यदल गठन गरिएको छ ।
यस्तै मनोनीत केन्द्रीय सदस्यहरूको कार्यविभाजन पनि गरिएको छ । यस्तै प्रचलित निर्वाचन कानुनबमोजिम औपचारिक मनोनयन–पत्र दिन र उम्मेदवारको बन्दसूची पेश गर्न अध्यक्षलाई जिम्मेवारी दिइएको छ ।
बैठकले विभिन्न विषयमा १२ वटा समसामयिक प्रस्ताव पनि पारित गरेको छ।
००००
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शीर्षहरूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नागरिकता विधेयक प्रमाणीकरण गरिदिन आग्रह गरेका छन् ।
शनिवार उक्त पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, उमाशंकर अरगरिया, सर्वेन्द्रनाथ शुक्ललागयतका नेताहरू राष्ट्रपतिलाई भेट्न शीतल निवास गएका थिए ।
००००
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिकता विधेयक पारित गरेर छाड्ने दावी गरेका छन् । जनता समाजवादी पार्टी नेपाल सप्तरीद्वारा राजविराजमा शनिबार आयोजित कार्यक्रममा उनले हरेक नेपाली नागरिकले नागरिकता पाउनुपर्छ भनेर निरन्तर सङ्घर्षमा रहेको बताए । उनले सरकार र सदनबाट नभए सडक सङ्घर्ष गरेर भए पनि नागरिकता विधेयक पारित गरिने जिकीर गरे ।
००००
राष्ट्रियसभाको बैठक आइतवार बस्ने भएको छ । संघीय संसद् सचिवालयले आइतवारका लागि तय भएको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले राष्ट्रपतिबाट पुनः विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउनेछन् ।
००००
पर्यटक भिसामा खाडी मुलुक जान लागेका १९७ नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ । उनीहरुले बोकेका कागजात शंकास्पद देखिएकोले उनीहरुलाई अध्यागमन कार्यालयले रोकेको हो ।
भदौ ८ देखि ११ गतेसम्म विभिन्न एयरलाइन्सको उडानद्वारा पर्यटक प्रवेशाज्ञा लिई उनीहरु खाडी मुलुकतर्फ प्रस्थान गर्न लागेको अवस्थामा कागजात शंकास्पद देखिएकाले फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
००००
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपाली कांग्रेसमा नयाँ नेतृत्वको खाँचो रहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेता भण्डारीले हरेक पार्टीमा रहेका युवाहरू नेतृत्वमा जाने की नजाने भन्ने दोधारमा रहेको बताए । उनले नेपाली कांग्रेसमा पनि परिवर्तनको खाँचो रहेको बताउँदै अहिले भएका नेतृत्वबाट मुलुक अघि बढ्न नसक्ने दाबी गरे । उनले नेपालको राजनीतिमा केही न केही विकृतिहरू प्रवेश गरिरहेको दाबी गरे ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी संघ र प्रदेशको निर्वाचनमा गठबन्धन दलबीच स्थानीय तह निर्वाचनको भन्दा बलियो तालमेल हुने बताएका छन् । दाहालले अबको चुनावी तालमेलले पहिलेको भन्दा राम्रो परिणाम दिने दाबी समेत गरे । शनिवार बुटवलमा पार्टी प्रशिक्षण कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले भने, ‘स्थानीय तहको निर्वाचनमा आपसी तालमेल राम्रो नभएपनि प्रदेश र संघको निर्वाचन राम्रो गर्दैछौँ ।’ स्थानीय तहको निर्वाचनबाट शिक्षा लिएर गठबन्धन थप मजबुद बनाइने प्रचण्डले बताए ।
००००
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले आगामी निर्वाचनमा उम्मेदवार छनोट मापदण्ड पारित गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रवार र शनिवार बसेको केन्द्रीय कमिटीको चौथो बैठकले निर्वाचनमा उम्मेदवार बनाउने मापदण्ड तय गरेको हो । आगामी मंसिर ४ गते हुने निर्वाचनमा समानुपातिकतर्फ यसअघि उम्मेदवार भइसकेका व्यक्तिलाई फेरि नहोर्दोयाउने निर्णय पनि एमालेले गरेको छ ।
००००
काठमाडौं उपत्यकामा यसअघि सडकमा थुपारिएको सबै फोहर व्यवस्थापन गरिएको छ । दुई महिनादेखि उपत्यकाको सडकमा थुप्रिएका सबै फोहर व्यवस्थापन भए पनि टेकु ट्रान्फरस्टेशनमा राखिएको फोहर व्यवस्थापन भने आगामी सातासम्ममा सक्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।
००००
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले आइतवारदेखि मतदाता नामावली अद्यावधिक गर्ने भएको छ । शनिवार आयोगले सूचना प्रकाशन गर्दै आइतवारदेखि मतदाता नामावली अद्यावधिक गर्ने जानकारी गराएको हो ।
००००
नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौंका मेयरहरुले नक्सा पास नभएका संरचनाहरुमा डोजर आतंक मच्चाए उपत्यका बस्न लायकको नरहने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन् । उनले डोजर आतंक मच्चाइरहने हो भने काठमाडौंबाट भागेर अन्यत्र जानुपर्ने स्थिति बन्नसक्ने र ध्वंसको क्षेत्र बन्ने निश्चित रहेको बताए ।
००००
काठमाडौं महानगरपालिकाले वनस्थली चोकबाट ढुंगेधारातर्फ जानेतर्फ रहेको अनधिकृत घर टहरा हटाएको छ । शनिवार बिहान उक्त क्षेत्रमा अनधिकृत रूपमा निर्माण गरिएका घर टहरा हटाएको हो ।
उक्त क्षेत्रको सार्वजनिक जग्गामा स्वीकृति नलिई घर टहरा निर्माण गरिएका थिए । सार्वजनिक जग्गामा स्वीकृति नलिई निर्माण गरिएका संरचना हटाउन थालिएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । उनका अनुसार वनस्थलीबाट ढुंगेधारा जाने बाटोमा रहेको अनधिकृत ७ वटा टहरा भत्काइएको छ । यस्तै सडकबाट नै घरमा राखेको ३ वटा र्भयाङ, एउटा घरको बलेसी भत्काएको महानगर प्रहरीले जानकारी दिएको छ ।
००००
प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गरेका छन् । १ अर्ब ११ करोड रुपैयाँको लागतमा बनेको सम्मेलन केन्द्रको शनिवार देउवाले उद्घाटन गरेका हुन् । पूर्वपश्चिम राजमार्गसँग जोडिएको बुटवल उपमहानगरपालिका–१० रामनगरस्थित बुटवल मण्डपमा सम्मेलन केन्द्र बनेको छ ।
००००
तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्वीर खिचेमा नगद जरिवाना गरिने भएको छ । पशुपतिनाथको मूल मन्दिरभित्र तस्वीर खिच्न मनाही गरिँदै आएको छ ।
पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले तस्वीर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवानासहित कारबाही गर्न लागिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए ।