२३ जेठ २०८३, शनिबार

सुरज आर्केडको बेसमेन्टका पसल हटाउन अल्टिमेटम, विशाल बजारलाई नक्सासहित उपस्थित हुन निर्देशन

सुरज आर्केडको बेसमेन्टका पसल हटाउन अल्टिमेटम, विशाल बजारलाई नक्सासहित उपस्थित हुन निर्देशन

अवैध रुपमा निर्माण गरिएका र स्वीकृत प्रयोजनविपरीत प्रयोग गरिएका संरचना खाली गराउने अभियान थालेको काठमाडौं महानगरपालिकाले सोमवार न्युरोड क्षेत्रमा अनुगमन गरेको छ । 

सोमवार महानगरपालिकाको टोलीले न्युरोड क्षेत्रका व्यवसायिक भवनहरूको अनुगमन गरेको हो । महानगरपालिकाको टोलीले  सुरज आर्केड, विशालबजारलगायतका व्यवसायिक भवनको अनुगमन गरेको थियो । 

महानगरपालिकाको टोलीले सुरज आर्केडकाे बेसमेन्टमा राखिएका पसल हटाउन सोमवार अपराह्न ४ बजेसम्मको समय दिइएको छ । नगरप्रहरीको टोली ४ बजेसम्म बेसमेन्टमा रहेका पसल खाली गराउन निर्देशन दिएर फर्किएको थियो । 

पसल सञ्चालकहरूले दिउँसो ४ बजेसम्मको समय माग गरेपछि नगरप्रहरीको टोली फर्किएको हो । 

त्यस्तै, काठमाडौं महानगरपालिकाले विशाल बजार भवनका सञ्चालकलाई भवनको नक्सासहित २४ घण्टाभित्रमा वडा कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । महानगरको टोलीले विशाल बजारको स्थलगत अनुमगन गर्दै बेसमेन्टमा रहेको पसलहरू अनधिकृत रहेको र भवनको नक्सा समेत नरहेको पाइएपछि तत्काल नक्सा लिएर वडा कार्यालयमा आउन निर्देशन दिएको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) अनधिकृत संरचना हटाउन आफैं फिल्डमा खटिएका थिए । उनी शनिवारदेखि नै फिल्डमा खटिएका छैनन् । नगर प्रहरीको नेतृत्वमा अवैध संरचना र प्रयोजनविपरीत प्रयोग गरिएका संरचनाको अनुगमन भने जारी छ ।

यसअघि सुन्धारास्थित काठमाडौं मल, न्युरोडकै आरबी कम्प्लेक्स, नयाँबानेश्वरको अल्फाबिटा कम्प्लेक्सलगायतमा मेयर बालेनले आफैं सहभागी भई अनधिकृत संरचना हटाएका थिए ।  

salt training

कमेन्ट गर्नुहोस्