
राष्ट्रिय भूमि आयोगले पर्साका १४ वटै पालिकामा आफ्नो काम अघि बढाएको छ ।
यसअघिका आयोगले छाडेका अधुरो काम अघि बढाउन सबै पालिकामा लगत संकलनको काम जारी रहेको भूमि आयोग पर्साका अध्यक्ष तवरेज अहमदले जानकारी दिए ।
पर्सामा भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गर्न विभिन्न ३ चरणमा १४ वटै पालिका र राष्ट्रिय भूमि आयोगसँग यसअघि सम्झौता गरिसकिएको थियो ।
सोहीअनुसार पर्साको ठोरी गाउँपालिकामा लगत संकलनको काम पूरा भइसकेको र बाँकी १३ वटै पालिकामा लगत संकलनको काम जारी रहेको भूमि आयोगका सदस्य सचिव एवं प्रमुख नापी अधिकृत नारायणकुमार श्रेष्ठले जानकारी दिए । त्यसअनुसार अन्य सबै पालिकामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले लगत फाराम भर्ने गरेका छन् ।
सरकारले दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीमध्ये दलित समुदायलाई निःशुल्क र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई मालपोत निर्धारण मूल्यको ८ देखि २०० प्रतिशत राजस्व बापतको रकम लिएर जग्गाधनी पुर्जा उपलब्ध गराउने योजना अघि बढाइएको श्रेष्ठले जानकारी दिए ।