
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद जीपछिरिङ लामाले श्रीमान् र श्रीमती नै उम्मेदवार हुने व्यवस्था हटाउन माग गरेका छन् ।
श्रीमान्–श्रीमतीले उम्मेदवारी दिए एउटाको खारेज गर्ने गरी नियमावली संशोधन गर्न उनले निर्वाचन आयोगको ध्यानाकर्षण गराए ।
शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर सांसद लामाले श्रीमान र श्रीमती उम्मेदवार बन्दा कार्यकर्ताले अवसर नपाएको बताए ।
‘श्रीमान्ले प्रत्यक्ष टिकट पाउँदा श्रीमतीलाई समानुपातिकमा राख्ने गरिएको छ । यसो गर्दा हरेक पार्टीको कार्यकर्ताले टिकट पाएका छैनन् । निर्वाचन आयागले नियमावली संशोधन गरेर श्रीमान श्रीमती उम्मेदवार भए एउटाको खारेज गर्ने नियमावली बनाउनुपर्छ ।’
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा दम्पत्ती नै उम्मेदवार बन्न खोजिरहेका छन् । सांसद लामाले संसदको कार्यकाल सकिन लागेको भन्दै भारतसँग वार्ता गरेर लिपुलेकको जमिन फिर्ता गराउन पनि माग गरे ।
प्रतिनिधि सभा बैठकको शून्य समयमा कांग्रेस सांसद रंगमती शाहीले उम्मेदवारले शुरूमै सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।