
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नागरिकतासम्बन्धी विधेयक जस्ताको त्यस्तै पारित गर्नु राष्ट्रपति पदप्रतिको अपमान हुने बताएका छन् । शुक्रवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले राष्ट्रपतिले पुनर्विचारका लागि पठाएकाले नागरिकतासम्बन्धी विधेयक जस्ताको त्यस्तै पारित गरी पठाउनु राष्ट्रपति पदप्रति अपमान हुने बताएका हुन् ।
गौतमले राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सन्देश बेठीक नभएको पनि बताएका छन् । उनले राष्ट्रपतिले उठाएका मुद्दाहरू मनन्योग्य भएको बताए ।
‘मैले त यसलाई पास गर्नुपर्छ । फर्काउनुपर्छ । जस्ताको त्यस्तै पठाउनुपर्छ । भन्ने विषयलाई मैले मेरो विचार यो छ भनेर भन्दिनँ । तर म भन्न चाहन्छु कि जस्ताको त्यस्तै पठाउने काम अहिलेको राष्ट्रपतिको अपमान हो । त्यो राष्ट्रपति पदको अपमान हो’, उनले भने, ‘राष्ट्रिय सभाले कम्तिमा ति हरेक बुँदाहरूमा आज तपाई जे गर्दै हुनुहुन्छ त्यही निस्कर्ष निकाल्नुहुन्थ्यो हामी थियौँ नि बहस गर्ने विधेयक सम्बन्धमा । किन बोलाइएन हामीलाई ? ती अत्यन्त ग्रहणीय छन् कतिपय विषयहरु । शिक्षा लिने किसिमका छन् । जस्ताको त्यस्तै पठायौँ भनेर गौरव गर्ने विषय होइन, यसमा ख्याल गर्नुपर्छ । पुनर्विचार गर्नुपर्छ ।’
गौतमले नागरिकता विधेयकका विषयमा विधायन समितिमा छलफल नहुनु बौद्धिकतामाथिको हमला भएको टिप्पणी गरे ।