
सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतले चोलेन्द्रशमशेर जबराले न्यायपालिकाको नेतृत्व गरेको बेला न्यायपालिकामा भ्रष्टाचार बढेको बताएका छन् । २०७८ सालको साउन महिनासम्म न्यायपालिकामा भ्रष्टाचार बढेको उनले बताए ।
शुक्रवार काठमाडौं जिल्ला अदालत बार एसोसिएसनका नवनिर्वाचित कार्यसमितिको पदभार कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । ‘न्यायपालिकामा गोला–प्रथा लागू नभएको भए न्यायपालिका डुङ्डुङ् गन्हाएर सिद्धिन्थ्यो’, राउतले भने, ‘न्यायपालिकाको गरीमा बचाउन हामीलाई हम्मे–हम्मे परेको थियो । अत्यन्त असहज परिस्थिति उत्पन्न भएको थियो ।’
निलम्बित प्रधानन्यायाधीश जबराले संसदको महाभियोग सिफारिस समिति समक्ष बयान दिनेक्रममा बुधवार न्यायाधीश राउतको चरित्रमाथि आक्षेप लगाएका थिए । मुद्दालाई हेर्दा–हेर्दैमा राखेर पक्षसँग सौदाबाजी गर्ने, भट्टीमा गएर दिनहुँ रक्सी सेवन गर्दा ड्राइभर तथा पीएसओले बोकेर ल्याउनु परेको जबराले राउतलाई आक्षेप लगाएका थिए ।
आफ्नो चरित्रमाथि आरोप लगाइएको विषयप्रति लक्षित गर्दै न्यायाधीश राउतले आफू निष्ठावान व्यक्ति भएको तथा अलिकति पनि विचलित नभएको बताएका छन् । ‘म फिटिक्कै विचलित छैन, न्याय सम्पादन गर्ने मुद्दाको विषयमा मात्र होइन, व्यक्तिगत जीवनमा पनि निष्ठा कायम राख्ने व्यक्ति हो’, राउतले भने । आफ्नो निष्ठामा कसैले प्रश्न गर्न नसक्ने उनको कथन थियो ।
न्यायापलिकामा भएको विसंगति, विकृति सम्बन्धमा अध्ययन गर्न न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिमा प्रधानन्यायाधीश जबराले बोलाएर चार पटक भनेपछि आफू बसेको राउतले बताएका थिए । सार्वजनिक गर्नुपर्ने शर्तमा आफू उक्त समितिमा बसेर जिल्ला–जिल्ला पुगेर प्रतिवेदन बनाएको उनले बताए ।
उक्त प्रतिवेदनमा भ्रष्टाचार र बिचौलिया भन्ने शब्द बीचबाट घुसाइएको उनले बताएका थिए । रञ्जन कोइरालाको मुद्दापछि भ्रष्टाचारको विषय बाहिरिएको न्यायाधीश राउतले बताए । न्यायपालिकामा भ्रष्टाचार बढेको विषय आफूले ५०औँ पटकको फूलकोर्ट बैठकमा समेत भन्दै आएको उनको दाबी छ । भ्रष्टाचारविरुद्ध नेपाल बार एसोसिएसनले गरेको आन्दोलनको सराहना गर्दै उनले करप्सनविरुद्ध जहिल्यै उभिन आग्रहसमेत गरे ।