
ग्रामीण भेगमा ठूलो क्षमताको शीतभण्डार बनेपछि व्यावसायिक उत्पादनमा कृषक उत्साहित बने । सदरमुकामदेखि टाढा रहेको रामपुर नगरपालिकामा ३०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणले कृषकमा औधी खुशी छायो ।
परीक्षणका लागि गत वर्ष करीब २ हजार ९०० बोरा आलु भण्डारण गरियो । भण्डारण गृहमा राखिएको आलु कुहिने र उम्रने भएपछि यस वर्ष भने कृषकले यहाँ भण्डारण गर्न आलु राख्न चाहेनन् ।
पहिलो वर्षमा नै आलु बिग्रिएपछि भण्डारण गृह व्यवस्थापन गर्न अहिले मर्मत तथा सम्भारको काम गरेर व्यवस्थित बनाउन थालिएको छ । भण्डारण गृहमा केही प्राविधिक समस्या भएपछि त्यसलाई पुनः मर्मत सम्भारको काम गरेर सञ्चालनको तयारी गरिएको नगर प्रमुख रमणबहादुर थापा बताउँछन् ।
नगर प्रमुख थापाका अनुसार मर्मत गर्न यस वर्ष नगरपालिकाले १० लाख रुपैयाँ रकम विनियोजन गरेर काम भइरहेको छ । गत वर्ष राखिएको आलु निकालेपछि गएको वैशाखदेखि नै यहाँको भण्डारण कक्ष प्रयोगविहीन रहेको कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताउँछन् ।
‘यहाँ बनाइएको भण्डारण गृहको संरचना आलुबालीलाई लक्षित गरेर तयार पारिएको छ, रामपुरमा धेरै उत्पादन हुने भनेको आलु (खाद्यान्न बालीबाहेक) हो, अन्य तरकारी, फलफूल भण्डारण गृहमा नै राख्नुपर्ने गरेर उत्पादन अहिले छैन, पहिलो वर्ष राखेको केही आलु टुसाएपछि यस वर्ष भण्डारण गृहमा केही सामग्री राखिएको छैन,’ उनले भने ।
विक्रम संवत् २०७८ वैशाखमा निर्माणको काम सम्पन्न गरी शीतभण्डार प्रयोगमा ल्याइएको हो । यहाँ पहिलोपटक रामपुरमा उत्पादन भएको आलु भण्डारण गरिएको थियो । पाल्पा जिल्लाकै सबैभन्दा ठूलो क्षमताको शीतभण्डार निर्माण भएपछि शुरूका समय कृषक उत्साहित भए पनि सुरक्षित भनेर राखिएको ठाउँमा आलु बिग्रन थालेपछि हौसिएका कृषक अहिले निराश बनेका छन् ।
बुटवल, भैरहवा लगायतका बाहिरी बजारबाट रामपुरमा भित्रिएका तरकारी निरुत्साहित गर्न र स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै कृषकको लागि बनाइएको संरचना भए पनि राम्रोसँग प्रयोग गर्न नपाएको कृषक धर्मराज ढकालले बताए ।
‘नेतालाई भाषण गर्ने काम मात्रै भयो, कृषकले उपयोग गर्न पाएनन्, स्थानीय सरकारले यसको रेखदेख र सञ्चालनलाई व्यवस्थित बनाउनुपर्ने हो, संरचना तयार पारेपछि गुणस्तरको छ कि छैन, त्यसको परीक्षण नगरिकन प्रयोगमा ल्याउँदा हामीले नराम्रोसँग धोका व्यहोर्नुपर्यो, कषकले राम्रोसँग प्रयोग गर्न नपाउने भएपछि देखावटीकै लागि मात्रै रामपुरमा राख्नभन्दा अन्यत्र स्थानान्तरण गरेमा प्रयोगमा त आउँला,’ उनले गुनासो पोखे ।
भण्डार गृहभित्रै बिग्रिएको आलुको क्षतिपूर्ति दिने क्रममा पनि सम्बन्धित पक्षले न्यायोचित काम नगरेको उनी बताउँछन् । गत वर्ष भण्डारण गरिएको आलु बिग्रिएपछि आफूले पाउनुपर्ने क्षतिपूर्ति रकमबाट ठगिनुपरेको बताए । साढे १५ क्विन्टल आलु राखेका ढकालले १ क्विन्टल बिग्रिएकै भएपछि आलु झिके । अन्य आलु सबै बिग्रिएपछि प्रतिबोरा २ हजार रुपैयाँका दरले क्षतिपूर्ति दिने भने पनि आफूले साढे १४ क्विन्टलको ५६ हजार रुपैयाँ मात्रै रकम बुझेको ढकाल बताउँछन् ।
उनले ठेकेदार पक्ष र नगरपालिकाबीच भएको समझदारीअनुसार पाउनुपर्ने रकम ५८ हजार रुपैयाँ पाउनुपर्ने भए पनि २ हजार रकम कम पाएको बताए ।
कृषकको हितका लागि नभई सस्तो लोकप्रियता कमाउन संरचना तयार पारिएको विजयपुर कृषि सहकारी रामपुरका अध्यक्ष ओमप्रकाश रेग्मीले बताए । ‘गत वर्ष राखिएको आलु अस्तव्यस्त बनेपछि मर्मतसम्भार तत्कालै गरेको भए यस वर्ष आलु भण्डारण कार्य हुन्थ्यो, कृषि बाली उत्पादनको समयलाई मध्यनजर गरेर संरचना व्यवस्थित बनाउनुपर्छ, अहिले आएर बल्ल मर्मतको काम भएको भन्ने सुनिएको छ, अर्कोतर्फ कृषकलाई केही सहुलियत पनि छैन, देखाउनकै लागि मात्रै संरचना बनेजस्तो भयो,’ उनले भने ।
नारायण ढकालले शीतभण्डारमा राखिएको आलु उम्रने र कुहिने भएपछि आफूले पाउनुपर्ने क्षतिपूर्ति बापतको २६ हजार रुपैयाँ रकम नपाएको गुनासो सुनाए । उनले राखेको १३ बोरा आलुको अहिलेसम्म पाउनुपर्ने रकम नपाएपछि सम्बन्धित निकाय, जनप्रतिनिधि, राजनीतिक दलका अगुवासमक्ष गुनासो राखेकोमा त्यसको सुनुवाइ नभएको बताए । शीतभण्डारणको पूर्वाधार तयार भए पनि राम्रोसँग सञ्चालन नभएको, यसको रेखदेख नगरपालिकाले गर्नुपर्ने हो र निर्माणमा ठेकेदारले लापरबाही गरेको बताउँछन् लुम्बिनी प्रदेशसभा सदस्य युवराज खनाल । जुन प्रयोजनका लागि बनाइएको हो त्यसको सही सदुपयोग हुनुपर्ने र तत्काल अनुगमन गरेर नियमितरूपमा सञ्चालन गर्न सम्बन्धित निकायलाई जानकारी गराउने प्रदेशसभा सदस्य खनालको भनाइ छ ।
कृषि शाखाको परिसरमा लुम्बिनी प्रदेश सरकारको सर्शत अनुदानमा रविना र अभिसा जेभी कन्ट्रक्सन प्रालिले संयुक्तरूपमा ३ करोड २६ लाख ७६ हजार ५६६ रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माण गरिएको हो यो संरचना । यसमा फरक–फरक क्षमताका ५ कोठा रहेका छन् । साथै २ तले १० कोठा सहितको प्रशासनिक भवन, अपाङ्गतामैत्री शौचालय छ ।
बीउका लागि १०० क्विन्टल आलु राखेकोमा व्यवस्थापन राम्रो नहँुदा लगानी र मेहनत सबै खेर गएको यमकान्ति गौतमको भनाइ छ । महंगो मूल्यमा उन्नत जातको बीउ खरिद गरेर उत्पादन गरिएको बीउ आलु सबै कुहिएपछि यस वर्ष खायन आलु मात्रै उत्पादन गरिएको छ ।
पहिलो वर्ष नगरपालिकाले शीतभण्डार सञ्चालनका लागि बोलपत्रमार्फत रम्भा गाउँपालिका–१ हुँगीका भगवती अधिकारी न्यौपानेलाई २ लाख ५ हजार रुपैयाँमा १ वर्षको लागि सम्झौता गरेको थियो । – सुशीला रेग्मी/रासस