
‘फिल्म खेल्छु, हिरोइन बन्छु भनेर सोचेकै थिइनँ । आज म जुन स्थानमा छु नि ! त्यो त मैलै १ प्रतिशत पनि नसोचेको कुरा हो,’ उनले भनिन् ।
उनी अर्थात् अभिनेत्री पूजा शर्मा, जसलाई फिल्म क्षेत्रमा आउँछु भन्ने कल्पना नै रहेनछ ।
‘भिजेसँगै एउटा राम्रो रिपोर्टर बन्ने जोश ममा थियो,’ केही दिनअघिको भेटमा पूजाले केही वर्ष अगाडिको कुरा सुनाइन्, ‘सोही सोचले हिमालय टेलिभिजनमा सक्रिय रूपमा काम गरिरहेकी थिएँ ।’
भिजे भएर काम गरिरहँदा केही म्युजिक भिडियोमा भने अभिनय गरेकी थिइन् । सोही बखत उनलाई फिल्मबाट अफर आयो अकस्मात । अभिनय कसरी गर्ने ? केही ज्ञान थिएन उनमा ।
‘राम्रो अवसर हो, गर ... गर ...’ भन्दै साथीहरूले उक्साए । पूजाले भनिन्, ‘त्यसपछि फिल्ममा अभिनय गरें ।’ त्यो फिल्म हो ‘थ्री लभर्स’ । पूजाको डेब्यू फिल्म राम्रो चलेन । यद्यपि आफ्ना कमीकमजोरीहरू नियाल्ने मौका भने पाइन् उनले । दोस्रो फिल्म खेलिन् ‘मधुमास’ । जुन फिल्ममा पूजा त्यसबेलाका चर्चित अभिनेता आर्यन सिग्देलसँग प्रस्तुत छिन् तर त्यो फिल्म पनि राम्रो चलेन तर उनलाई फिल्मप्रतिको मोह ह्वात्तै बढाउने काम भने ‘मधुमास’ले नै गर्यो । शुरूआती २ वटा फिल्म असफल हुँदा पूजाको अभिनयलाई लिएर टीकाटिप्पणी भए ।

‘नकारात्मक प्रतिक्रियाहरू आउँदा म राम्रो गरेर देखाउँछु भन्ने अठोट गरेकी थिएँ,’ उनी भन्छिन् । तेस्रो फिल्म खेलिन् अझै पनि । दुर्भाग्य ! त्यो फिल्म पनि असफल साबित भयो । त्यसपछि आफ्नै रियल क्यारेक्टर ‘भिजे’ भएर ‘चंखे शंखे पंखे’ फिल्ममा अभिनय गरिन् । देश प्रेमको भावनमा बनेको फिल्म पनि असफल रह्यो । त्यसपछि पूजालाई लाग्यो, त्यस खालका फिल्ममा दर्शकको त्यति रुचि नै रहेनछ । फिल्म भनेको इन्टरटेन्मेन्ट नै हुनुपर्ने रहेछ ।
‘प्रेमगीत’को त्यो ‘गीत’ पात्र
पूजाको फिल्मी करिअरको पहिलो र सर्वाधिक हिट फिल्म हो ‘प्रेम गीत’ । अहिलेका हिट अभिनेता प्रदीप खड्कालाई स्टार बनाउने फिल्म पनि यही हो । ‘प्रेमगीत’का गीतहरू पनि निकै हिट भए । फिल्म हेर्न हलमा दर्शक ओइरिए । व्यापार राम्रो गरेन मात्रै, प्रदीप र पूजाको जोडीलाई पनि दर्शकले निकै रुचाए । अभिनेत्री पूजा लेखक एवं निर्देशक सुदर्शन थापाले आफूलाई नै हेरेर ‘गीत’ क्यारेक्टर लेखेको बताउँछिन् । ‘कलेज पढ्दा म बाइक एकदमै चलाउने । जो–कोहीसँग नदब्ने । पहिल्यैदेखि चञ्चले स्वभावकी पूजाले भनिन्, ‘सुदर्शनजीले मेरो हाउभाउबाट त्यो क्यारेक्टर तयार पार्नुभएको हो ।’ त्यसयता पनि पूजाले थुप्रै फिल्ममा अभिनय गरेकी छन् ।
‘रामकहानी’, ‘म यस्तो गीत गाउँछु’, ‘पोइ पर्यो काले’, ‘म यस्तो गीत गाउँछु २’, ‘सम्झना बिर्सना’ केही फिल्मका उदाहरण हुन् । उनी अभिनित नयाँ फिल्म ‘सम्हालिन्छ कहिले मन’ शुक्रवारदेखि प्रदर्शनमा आएको छ ।
कस्तो छ ‘सम्हालिन्छ कहिले मन’ ?
सुदर्शन थापा निर्देशित ‘सम्हालिन्छ कहिले मन’ लभ स्टोरी जनरामा निर्माण भएको फिल्म हो । ‘फुल इन्टरटेन्मेन्ट फिल्म हो । एउटा कलर फुल फिल्म, जुन रियल लाइफमा हाम्रो साथी सर्कलको वातावरणदेखि लिएर पारिवारिक इमोसनलका कुराहरू समेत फिल्ममा देखाएका छौं,’ पूजा फिल्मबारे भन्छिन् ।
उनले आफूले निर्वाह गरिरहेकोभन्दा ‘सम्हालिन्छ कहिले मन’मा निर्वाह गरेको पात्र फरक खालको रहेको बताइन् । विदेशमा बस्ने ‘लभर गर्ल’को भूमिकामा पूजा प्रस्तुत छिन् । फिल्ममा पूजासँगै २ अभिनेता आकाश श्रेष्ठ र सोनम तोप्देन शीर्ष भूमिकामा छन् । ‘सम्हालिन्छ कहिले मन’ सोनमको भने डेब्यू फिल्म हो ।
उनीसँग काम गर्दा एकदमै सहज भएको र नयाँ कलाकार जस्तो महसूस नभएको पूजाको भनाई छ । उनले सोनमबारे भनिन्, ‘एकदमै राम्रो व्यक्तिलाई हामीले फिल्म उद्योगमा वेलकम गर्यौं । उसको फ्याङनेस सबैभन्दा राम्रो पक्ष हो ।’ पूजाले फिल्म उद्योगमा सोनमको सम्भावना एकदमै राम्रो रहेको समेत बताइन् ।
मन परेको आफ्नै फिल्म ‘रामकहानी’, पात्र ‘गीत’
पूजाले १ दर्जन हाराहारी फिल्ममा अभिनय गरेकी छन् । त्यसमध्ये उनलाई मन परेको फिल्म कुन होला ? धेरैको अनुमान हुनसक्छ प्रेम गीत तर यो अनुमान फेल रहेछ । मन परेको फिल्म र पात्रबारे जिज्ञासामा उनको जवाफ छ, ‘ब्यापारमा अलिकति तलमाथि भए पनि मलाई सबैभन्दा मन परेको आफ्नो फिल्म ‘रामकहानी’ हो । मन परेको पात्र चाहिँ ‘प्रेमगीत’को ‘गीत’ हो ।’
विवादित अभिनेत्री
पूजा शर्मा जति चर्चित छिन्, त्यस पछाडिका विविध कारणमध्ये एउटा मानिन्छ – कन्ट्रोभर्सी । उनी विभिन्न समयमा विविध कारणले कन्ट्रोभर्सीमा पर्दै आएकी छन् । कहिले जिल्ला, अञ्चलबारे दिएको जवाफका कारण कन्ट्रोभर्सीमा आइन् भने कहिले रोएर फिल्म चलाएको आरोप उनीमाथि लाग्यो । सोही कारण धेरैले उनलाई ‘कन्ट्रोभर्सी क्वीन’ समेत भन्दै आएका छन् । कतिपयले चर्चामा आउन र फिल्म चलाउन पूजा स्वयंले कन्ट्रोभर्सी सिर्जना गर्ने गरेको समेत टिप्पणी गर्दै आएका छन् । यसबारे उनले लोकान्तरमार्फत् प्रस्टीकरण दिइन्, ‘मैले आजसम्म चाहेर कुनै पनि कन्ट्रोभर्सी गरेकी छैन । सबै आफैं सिर्जना भएका कन्ट्रोभर्सी हुन् ।’
अनमोलसँग ‘ड्रीम प्रोजेक्ट’
अभिनेत्री पूजा होम प्रोडक्सनबाट फिल्म निर्माणको तयारीमा छिन्, जुन फिल्म उनको ‘ड्रीम प्रोजेक्ट’ पनि हो । फिल्ममा पूजा र अनमोलले पहिलोपटक स्क्रिन शेयर गर्दैछन् । नाम तय नभइसकेको फिल्मका लागि पूजाले अनमोललाई अनुबन्धित गरिसकेकी छन् । फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्नेछन् ।

‘अब ६ महिनाजति सोही फिल्मको स्क्रिप्टमा ध्यान दिन्छु । त्यस फिल्ममा मैले कुनै कुरामा कम्प्रमाइज नगरी निर्माण गर्नेछु,’ पूजाले भनिन्, ‘बेस्ट लेभलमा फिल्म बनाउने सोच हो ।’
अर्को एउटा फिल्मका लागि सम्झौता भइसकेको र त्यसको छायांकनबारे भने तय भइनसकेको पूजाले बताइन् ।