नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष सिर्जना राणा नेतृत्वको टोली र अर्थसचिव कृष्णहरि पुस्करबीच भेटवार्ता भएको छ । शुक्रवार अर्थमन्त्रालयमा भएको भेटमा नेपालमा भारतीय लगानी प्रबद्र्धन गर्नेलगायतका विषयमा कुराकानी भएको थियो ।
राणाले नवनियुक्त अर्थ सचिव पुष्करलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागि शुकामना दिएकी थिइन् । उनले भारत नेपालको अन्तर्राष्ट्रिय ब्यापारको दुई तिहाई हिस्सा ओगटेको ठूलो ब्यावसायिक साझेदार भएको उल्लेख गर्दै नेपालको आर्थिक विकासका लागि भारतीय सहयोग तथा लगानी आकर्षित गर्नसक्नु पर्नेमा जोड दिइन् । उनले पारबहन सम्बन्धी मामिलामा भारतसँगको निर्भरता १०० प्रतिशत, नेपालको अन्तर्राष्ट्रिय व्यापारमा पारबहन निर्भरता ९० प्रतिशत, विदेशी लगानीमध्ये ४० प्रतिशत साथै २० प्रतिशत पर्यटक भारतबाटै आउने गरेको जानकारी दिइन् ।
अध्यक्ष राणाले भारतीय पर्यटन प्रबद्र्धन गर्न संघले नेपाल–भारत संयुक्त पर्यटन कार्यदलको तेस्रो बैठकको आयोजना गराउन भारतीय दूतावासमार्फत पहल गरिरहेको जानकारी दिँदै धार्मिक पदमार्ग सम्बन्धी कफीटेबल बुक र वेबसाइट निर्माणको तयारी अन्तिम चरणमा भइरहेको बताइन् ।
नेपालमा भारतीय लगानी आकर्षित गर्दै लगानी भित्र्याउनको लागी संघले आफ्नो बृहत्तर कार्यक्रम नेपाल–भारत लगानी सम्मेलनको योजना गरेको र त्यसमा मन्त्रालयको सक्रिय सहभागिता तथा सहयोगको लागि अध्यक्ष राणाले अर्थसचिव पुस्करलाई आग्रह गरेकी थिइन् ।
छलफलमा अर्थसचिव पुस्करले संघले गरेका विगतका कार्यहरूबारे आफू जानकार रहेको भन्दै उक्त कार्यहरूको प्रशंसा गरेका थिए । उनले अहिले भारत सरकारले नेपालप्रति आफ्नो धारणामा परिवर्तन गरेको र नेपालको विकासमा सकारात्मक रूपले नै हेर्ने गरेको बताए । उनले भारतबाट नेपालले धेरै सिक्न सक्ने र भारतसँगको सम्बन्धबाट लिन सक्ने लाभहरूमा ध्यान दिनुपर्ने बताउँदै आगामी दिनहरूमा मन्त्रालयको तर्फबाट प्रत्यक्ष तथा परोक्ष हरेक प्रकारका सहयोग उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
भेटमा संघका उपाध्यक्षद्वय सुनिल केसी, हरकिरत सिंह बेदी, महासचिव रमेश शर्मा, कोषाध्यक्ष कुणाल केयाल, महानिदेशक केशवमान सिंह तथा उपनिर्देशक मार्शल राठौरलगायत सहभागी भएका थिए ।