
मोरङमा प्रेमीलाई नियन्त्रणमा लिएर प्रेमिकाको सामूहिक बलात्कार गरिएको घटना सार्वजनिक भएको छ । विराटनगर १४ जतुवास्थित नहरमा १८ वर्षीया एक किशोरीलाई पाँच जना युवाले सामूहिक बलात्कार गरेका हुन् ।
साथीको बर्थ डे मनाएर घर फर्किरहेकी किशोरी बिहीवार राति सामूहिक बलात्कारको शिकार बनेकी हुन् । बर्थ डे पार्टी सकिएपछि उनलाई आफ्नै प्रेमीले मोटरसाइकलमा घर पुर्याउन लगेका थिए । घर पुग्नुअघि विराटनगर १४ जतुवास्थित नहरमा मोटरसाइकल रोकेर गफिरहेका उनीहरूलाई पाँच जना युवाहरूले नियन्त्रणमा लिएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसार मादक पदार्थ सेवन गरेका युवाहरूले शुरूमा उनका प्रेमीलाई नियन्त्रणमा लिएका थिए । २ जना युवाहरूले प्रेमीलाई नियन्त्रणमा लिएपछि बाँकी ३ जनालाई किशोरीलाई पालैपालो बलात्कार गरेका थिए । उनका प्रेमी युवाहरूको नियन्त्रणबाट फुत्कन सफल भई चिच्याउन थालेपछि स्थानीयवासी जम्मा भएका थिए । स्थानीय जम्मा हुन थालेपछि युवाहरू घटनास्थलबाट फरार भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आरोपमा प्रहरील एक जनालाई नियन्त्रणमा लिएको छ भने अन्य ४ जना फरार रहेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले विराटनगर–४ इकराहीका २९ वर्षीय सन्तोष मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।
यस्तै, मोरङको जहदा गाउँपालिका ७ मा बिहीवार राति १० बजे ३७ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । प्रहरीले जहदा ७ का २८ वर्षीय सन्जय सोरेन र २५ वर्षीय राहुल साहलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका दुवै जनाविरुद्ध मोरङ अदालतमा जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।